aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

नेपाल इन्भेष्टमेण्ट बैंकले पारित गर्‍यो सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ असोज २०७७
नेपाल इन्भेष्टमेण्ट बैंकले पारित गर्‍यो सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको बुधवार सम्पन्न विशेष साधारण सभाले सिटी एक्सप्रेस फाइनान्सलाई १००ः३० अनुपातमा प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । नेपाल इन्भेष्टमेण्ट बैंकले रजिष्टर्डको कार्यालय दरबारमार्ग, काठमाडौंमा भिडियो कन्फ्रेन्स मार्फत विशेष साधारण सभा आयोजना गरेको हो । सभामा शेयरधनीहरुलाई जुम मार्फत सहभागी गराईएको थियो ।

सिटी एक्सप्रेसको १०० कित्ता शेयर बराबर आफ्नो ३० कित्ता शेयर आदानप्रदान गर्ने गरी गत भदौ १७ गते यी दुई कम्पनीविच सम्झौता भएको थियो । उक्त सम्झौतालाई समेत सभाले अनुमोदन गरेको छ । प्राप्ती पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकको जारी तथा चुक्तापूँजी बृद्धि हुने तथा शेयर स्वामित्व पनि फेरबदल हुने हुदाँ सोहि बमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्ताव पनि सभाले पारित गरेको छ ।

सिटि एक्सप्रेसले पनि बुधवारनै विशेष साधारण सम्पन्न गरी नेपाल इन्भेष्टमेण्ट बैंकले प्राप्ती गर्ने प्रस्ताव पारित गरेको छ । प्राप्ती प्रयोजनका लागि सिटी एक्सप्रेसको शेयर कारोबार गत पुस २८ गतेदेखि रोक्का रहेको छ । अब एकिकृत कारोबार सुरु गरेपश्चात नेपाल इन्भेष्टमेण्ट बैंकको नामबाट सिटी एक्सप्रेसका लगानीकर्ताहरुको शेयर कारोबार हुनेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरपूँजी रू. १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रहेको छ भने सिटी एक्सप्रेसको रू. ४० करोड रहेको छ । विशेष साधारण सभामार्फत प्रस्ताव पारित गरेपश्चात अब नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले एकिकृत कारोबारका लागि स्वीकृति दिएपछि मात्र यी दुई कम्पनी एक भएर अघि बढ्नेछन् ।

प्रतिक्रिया दिनुहोस