
काठमाडौं । मंगलबार गत आर्थिक वर्षको लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेको एनआईसी एशिया बैंकको बुधवार सर्वाधिक कारोबार भैरहेको छ । कारोबारको केहि घण्टामै यस बैंकको १७ करोड ३७ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिसम्म यस बैंकको शेयरमूल्य पनि ४ दशमलव ४८ प्रतिशत अर्थात प्रतिकित्ता २६ रुपैयाँले बढेको छ ।
बैंकको असोज ४ गते सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हालसम्म पाँच वाणिज्य बैंकहरुले मात्र लाभांश प्रस्ताव गरेका छन् । यी मध्य सबैभन्दा बढी लाभांश यो बैंकले प्रस्ताव गरेको हो । यस बैंकको चुक्तापूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार रुपैयाँ रहेको छ । सोहि पूँजीको आधारमा बैंकले २० प्रतिशत लाभांश दिन लागेको हो ।
गत वर्ष १० प्रतिशत बोनस शेयर कर प्रयोजन समेत ११ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश दिएको यस बैंकले यो वर्ष बोनस शेयरमा जोड दिएको छ । गत वर्षभन्दा यस वर्ष बैंकको लाभांश १ दशमलव शून्य ५३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म यस बैंकले ३ अर्ब १२ करोड १४ लाख ८७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
त्यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७ लाख ३४ हजार रुपैयाँ थियो । बैंकले कुल १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको लाभांश यो वर्ष वितरण गर्न लागेको जानकारी दिएको छ ।
यस बैंकले मुकुभर ३२७ शाखा कार्यालयहरु, ४७० एटिएम, १०२ वटा एक्सटेन्सन काउण्टर र ७० वटा शाखा रहित बैंकिङ्मार्फत सेवा प्रदान गरिरहेको छ । यो बैंक मुलुककै सबैभन्दा ठुलो शाखा सञ्जाल भएको बैंक ह । २२ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिइरहेको यस बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको विकट जिल्लाहरुमा र कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानिय निकायहरुमा शाखा विस्तार गरी सेवा प्रदान गर्दे आएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा यस बैंकको प्रतिशेयर आम्दानी ३१ दशमलव ८९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस