aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

डिजिटल दक्षिणा उपहार योजना, कुन बैंकको के अफर ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०६ कार्तिक २०७७
डिजिटल दक्षिणा उपहार योजना, कुन बैंकको के अफर ?

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं घरदैलोमा भित्रिइसकेको छ । दशैंको मुख्य आकर्षण नयाँ नोट भए पनि यसपालि नयाँ नोट साट्ने र दक्षिणा दिने माहोल नबन्ने भएको छ । कोरोनाकै कारण नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको छ । 

नयाँ नोटको अभाव हुँदा ग्राहकलाई लक्षित गर्दै बैंक तथा वित्तिय संस्थाहरूले डिजिटल दक्षिणा, रेमिट्यान्स, मनी ट्रान्सफर योजना अगाडि सारिरहेका छन् । दशैंमा अर्थतन्त्र थप चलायमान हुने गरेकामा यस वर्ष कोरोनाका कारण अवस्था असामान्य छ तर पनि सर्वसाधारणको चाडबाड लक्षित मनोविज्ञानलाई ध्यानमा राख्दै बैंक तथा वित्तीय संस्थाले छुट, अफर र उपहार योजना ल्याएका छन् ।

दक्षिणा डिजिटली दिँदा बैंकहरुबाट यस्तो अफर पाइन्छ  

बैंक अफ काठमाण्डू 
बैंक अफ काठमाण्डूले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । बैंकले दशैंलाई लक्षित गर्दै मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएका हो । व्यक्तिगत दुरी कायम राख्न सहयोग पुग्ने हेतुले बैंक अफ काठमाण्डूले “तिनमा तिन सय” नगद उपहार योजना ल्याएको हो ।

 यस योजना अनुसार ग्राहकले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा १००० रुपैयाँ वा सो भन्दा बढि भएमा ३०० रुपैयाँ नगद उपहार लागि ग्राहक महानुभावहरु योग्य हुनेछन् । 

यस योजनामा सहभागी हुनको लागि ग्राहकले यस बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ, रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने व्यक्ति फरक फरक हुनुपर्नेछ, उक्त दक्षिणा प्रदान गर्दा ग्राहक महानुभावहरुले ३ कारोबार गर्दा १००० रुपैयाँ वा सो भन्दा बढी हुनुपर्नेछ । यसका साथै ग्राहकले दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङमा भएको फोनपे मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने, दक्षिणा कारोबारको विबरणमा दक्षिण राख्नुपर्नेछ ।

एनआईसी एशिया बैंक 
एनआइसी एशिया बैंकले डिजिटल दक्षिणा योजना ल्याएको छ । ‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको यस बैंकले दशैंमा ग्राहकले आफ्ना आफन्तजनलाई दिने दक्षिणा यस बैंकको मोबाइल बैंकिङमार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने बैंकले जनाएको छ । 

यो योजना यस बैंकमा आबद्ध ग्राहक महानुभावहरूलाई विजया दशमीको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ । भने यस योजना अवधिभर बैंकको तर्फबाट एक जनाले अधिकतम  ५०० रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्नेछ । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावको बैंक खातामा जम्मा गर्नेछ ।

 यस योजनाअन्तर्गत मोबाइल बैंक एप प्रयोग गरी दक्षिणा दिँदा बैंकका ग्राहकले मोबाइल बैंक एपमा रहेको ‘डिजिटल दक्षिणा’ मा ट्याप गरी आफुले दिन चाहेको रकम, एकाउन्ट नम्बर, खातावालाको नाम तथा रिमार्कमा दक्षिणा जस्ता विवरण अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

मेगा बैंक 
मेगा बैंक नेपालले दशैंमा दक्षिणा दिनका लागि नयाँ स्किम सार्वजनिक गरेको  छ । बैंकले कोरोना महामारीको संक्रमणलाई कम गर्नका लागि डिजिटल ‘तीनमा तीन सय’ नामक स्किम ल्याएको हो । कोरोनाको असहज परिस्थितिमा नोटविहीन बैंकिङ कोरोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले ल्याएको ‘डिजिटल दक्षिणा’ अफरमा दक्षिणा दिनेले पनि तीन सय रुपैयाँ पाउने बैंकले जनाएको छ । 

त्यसका लागि बैंकका ग्राहकले मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणास्वरुप रकम पठाउनु पर्नेछ । दक्षिणावापत रकम पठाउनेको खातामा मेगा बैंकबाट ३ सय रुपैयाँ क्यासब्याक’ को व्यबस्था गरिएको छ । तर, रकम पठाउँदा विवरण (रिमार्कस)  मा ‘दक्षिणा’ भनी पर्नेछ । 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले विजया दशमीको टिकादेखि पूर्णिमासम्म डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक प्रदान गर्ने योजना सार्वजनिक गरेको छ । माछापुच्छ्रे मोबाइल मनिमार्फत दुई सय रुपैयाँ भन्दा बढी डिजिटल दक्षिणा पठाउने ग्राहकलाई क्यासब्याक वापत एक सय रुपैयाँ ग्राहकको खातामा जम्मा हुने बैंकले जनाएको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकले आफ्ना डिजिटल बैकिङ प्रयोगकर्तालाई पस, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपियाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने योजना ल्याएको छ ।

नविल बैंक
नविल बैंकले दसैमा सपिङ र दक्षिणका लागि विद्युतीय कारोबार प्रोत्साहन गरौं भन्ने जनचेतनात्मक दृश्य सामग्रीमार्फत प्रचारप्रसार गरिरहेको छ । कोभिड–१९ को संक्रमणसँग जोडर बनाइएको भिडियो सामग्रीलाई सर्वसाधारणले धेरै नै रुचाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंक
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल (पीओएस) सेवा सुरु गरेको छ । बैंकले सम्पूर्ण शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनका लागि पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गर्न थालेको हो । पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने भएको छ ।

प्रभु मनी ट्रान्सफर
प्रभु मनी ट्रान्सफरले हरेक साता ३२ इन्चको टीभीसहित प्रभु सेटअप बक्स पाउनुका साथै प्रभु क्यापिटलमा प्रभु बैंकको डिम्याट तथा मेरो सेयरको खाता खोल्दा ५० प्रतिशत छुट, प्रभु पेमार्फत मोबाइल वालेटमा ३० रुपैयाँ बराबरको टपअप र प्रभु डिजिटलबाट नेट तथा टीभीको वार्षिक प्याकेज लिने ग्राहकले दुई महिनाको अतिरिक्त बोनसको आकर्षण थपेको छ । एनसीएचएलले कनेक्ट आईपीएसमार्फत आफ्ना आफन्तजनलाई डिजिटल दक्षिणा पठाई हरेक दिन १० भाग्यशाली बिजेताले एक हजारको गिफ्ट भौचर प्राप्त गर्नसक्ने जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस