
काठमाडौं । देशमा सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले सबैभन्दा पहिला चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा बैंकले नाफा बढाएको छ ।
कोभिड प्रभावकै बीच बैंकले चालु आवको पहिलो त्रैमासमा ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४७.६६ प्रतिशत अर्थात १६ करोड ६४ लाख २२ हजार रुपैयाँ बढी हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ९२ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १३ करोड ८ लाख ४७ हजार रुपैयाँ बढेर ८३ करोड ९१ लाख ७२ हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा २४ करोड ३८ लाख ६२ हजार रुपैयाँ बढेर ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा ३ करोड ३८ लाख ५३ हजार रुपैयाँ रहेको इन्मेरिमेन्ट चार्ज चालु आवको सोही अवधिमा २ करोड ५१ लाख ५५ हजार रुपैयाँ रिभर्स रहेकोले बैंकको खुद नाफा बढाउन सहयोग मिलेको हो ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको छ । गत आवको असोज मसान्तसम्ममा १६ रुपैयाँ २० पैसा रहेको बैंकको यो आम्दानी चालु आवको सोही अवधिमा ६ रुपैयाँ ४९ पैसा बढेर २२ रुपैयाँ ६९ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात ९.४८ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ४० पैसा कायम भएको छ ।
असोज मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ९० करोड ५९ लाख रुपैयाँ र शेयर प्रिमियममा ९४ करोड ३७ लाख २३ हजार रुपैयाँ सञ्चित छ । सो अवधिसम्ममा बैंकले ९७ अर्ब ९४ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८२ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
गत आवको असोज मसान्तको तुलनामा बैंकको खराब कर्जाको अनुपात ०.९८ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ । कोभिडका कारण भाका नाघेका कर्जाको अनुपात बढ्न गएको हो । कष्ट अफ फण्ड ८.३० प्रतिशतबाट घटेर ६.७९ प्रतिशत पुगेको छ भने बैंकको स्प्रेड रेट ४.४० प्रतिशत रहेको छ । बैंकको सिसिडी रेसिया ७३.५० प्रतिशत, बेस रेट ८.८१ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस