
काठमाडौं । वाणिज्य बैंकहरूको ५० अर्ब रुपैयाँबराबरको ऋणपत्र (डिबेन्चर) बजारमा आएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हालसम्म कुल २८ वटा वाणिज्य बैंकहरूमध्ये १४ वटा वाणिज्य बैंकहरूले ऋणपत्र निष्कासन गरेका छन् ।
यी बैंकहरूले कुल ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए । ‘बैंकहरूले थप पुँजी जुटाउन डिबेन्चर निष्कासन गरिरहेका छन्,’ प्रवक्ता निरौलाले भने ।
लामो समयदेखि बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) को अभाव भएकाले बैंकहरूले थप पुँजी जुटाउन ऋणपत्र निष्कासन गर्न लागेका हुन् । पछिल्लो समय बैंकहरूले गत साउनदेखि २०७६ जेठको तेस्रो सातासम्म वाणिज्य बैंकहरूले २ खर्ब ७३ अर्ब रुपैयाँले बढाएर कुल २७ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
सोही अवधिमा बैंकहरूको कर्जा ३ खर्ब ४८ अर्ब रुपैयाँले बढेको छ । त्यस अवधिमा बैंकहरूले कुल २४ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी गरिएको देखिएको छ । बैंकहरू निक्षेप संकलनभन्दा कर्जा लगानीमा आक्रमक भएकाले तरलताको समस्या आएको हो । सोही समस्या हल गर्ने उद्देश्यले थप लगानीका रूपमा ऋणपत्र निष्कासन गरिरहेका हुन् ।
ऋणपत्र निष्कासन गर्ने बैंकहरूमध्ये एनआईसी एसिया बैंकले सबैभन्दा बढी रकमबराबरको ऋणपत्र निष्कासन गरेको छ । यस बैंकले चारपटकमा १२ अर्ब ७५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । एनआईसी एसियाले न्यूनतम सात र अधिकतम १० वर्षका लागि सो ऋणपत्र निष्कासन गरेको हो ।
यस बैंकको ऋणपत्र किन्ने ग्राहकले न्यूनतम ८ प्रतिशतदेखि अधिकतम ११ प्रतिशतसम्म ब्याजदर पाउनेछन् । त्यसैगरी, दोस्रो बढी ऋणपत्र निष्कासन गर्ने बैंक हो सिदार्थ बैंक । यस बैंकले दुईपटक गरी ४ अर्ब ७५ करोड ऋणपत्र निष्कासन गरेको छ । यस बैंकले सात वर्ष समयावधिका लागि १० दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो ।
त्यसैगरी, हिमालयन बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । आगामी असारमै निकाल्ने गरी तयारी भइसकेको छ । बैंकले १० प्रतिशत ब्याजदरमा ‘हिमालय बैंक २०८३’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस