aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

तीन महिनामै खर्बौंको डिजिटल कारोबार, दशैंलाई प्रयोग गर्दै डिजिटल प्रविधिको प्रचार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ कार्तिक २०७७
तीन महिनामै खर्बौंको डिजिटल कारोबार, दशैंलाई प्रयोग गर्दै डिजिटल प्रविधिको प्रचार

काठमाडौं । कोभिड महामारीका कारण विश्वको परम्परावादी अर्थतन्त्र तहसनहस भएको छ । दैनिक आर्थिक गतिविधि कम भइरहेको यो बेलामा नेपालमा पनि फरक तरिकाको बैंकिङ कारोबारमा आम ग्राहकको अभ्यास बढ्दै गएको छ । कोभिडको कारण सामाजिक दूरी कायम गर्न पर्ने बाध्यताका कारण बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा जोड दिन भनेको र स्वयम् राष्ट्र बैंकले समेत यस्तो कारोबारलाई प्रोत्साहन गरेकाले यसको कारोबार बढेको हो ।

आर्थिक रुपले ठूलो कारोबार हुने हिन्दुहरुको महान चाड दशैंमा धेरै जसो कारोबार डिजिटल नै भएका छन् । वित्तीय संस्थाहरुले विभिन्न सामानको भुक्तानीमा प्रविधिको प्रयोग गरुन भन्ने उद्देश्यले अनलाइन सपिंग कम्पनीहरुसँग विभिन्न छुटको सम्झौता गरेर डिजिटल प्रविधिमा आम मानिसलाई आकर्षित गराउन खोजेका छन् । 

दशैंको विजयादशमीका बेलामा मान्यजनहरुबाट आर्शिवादका साथमा दक्षिणा पनि पाउने गरेका छन् । उक्त दक्षिणा समेत डिजिल प्रविधिबाट होसभन्ने उद्देश्यले धेरै बाणिज्य बैंकहरुले डिजिटल प्रविधि प्रयोग गरेर बैंकिंग च्यानलबाट दक्षिणा दिएमा नगद छुटको व्यवस्था समेत गरेका छन् । 

एनएमबि बैंकले कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता सुविधा सहित उत्सवलाई लक्षित अफर ५० प्रतिशतसम्म छुट गरेको छ ।   ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा ५००० रुपैयाँतसम्म पैसा बचत गर्न सक्ने योजना ल्यायो ।  त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले”डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” मा ५०० रुपैयाँ बढी दक्षिणा पठाउँदा २५ प्रतिशत नगद फिर्ता योजना  सार्वजनिक गरेको छ ।

माछापुच्छ्रे बैकले विजयादशमीको उपलक्ष्यमा माछापुच्छ्रे मोवाइल मनि मार्फत डिजिटल दक्षिणामा अधिकतम एक सय रुपैयासम्म क्यासव्याक दिने योजना ल्यायो । बैंक अफ काठमाण्डूले डिजिटल दक्षिणा योजनामा “तिनमा तिन सय” नगद उपहार योजना सार्वजनिक गरेको थियो । मोबाईल बैंकिङ्ग प्रयोग गरी डिजिट दक्षिणा प्रदान गर्दा १००० रुपैयाँ वा सो भन्दा बढि भएमा ३०० रुपैयाँ नगद उपहार पाइने छ । 

त्यस्तै, एनआइसी एशिया बैंकले डिजिटल दक्षिणा  मोबाइल बैंकिङमार्फत रकम दिएमा थप १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने छ । 

बैंकको तर्फबाट एक जनाले अधिकतम  ५०० रुपैयाँसम्म दक्षिणा प्राप्त गर्न सक्नेछ । उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्र्न योजना ल्याएको छ । 

मेगा बैंक नेपालले दशैंमा डिजिटल दक्षिणा दिँदा  तीन सय रुपैयाँ पाउने योजना सार्वजनिक गर्यो । मेगा स्मार्ट बैंकिङ एप प्रयोग गरेर फोन पेमार्फत कुनै पनि बैंकको तीन वटा खातामा दक्षिणास्वरुप रकम पठाउनु पर्नेछ । 

त्यस्तै, सिटिजन्स बैंकले आफ्ना डिजिटल बैकिङ प्रयोगकर्तालाई पस, क्यूआर तथा फन्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डटकममा एक हजार रुपियाँभन्दा माथिको कारोबार गर्दा २५ प्रतिशतसम्म वा २५ सय रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नसक्ने योजना ल्यायो । 

यता सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पोइन्ट अफ सेल (पीओएस) सेवा शुरु गर्यो । बैंकले सम्पूर्ण शाखामार्फत विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने प्रयोजनका लागि पीओएस माध्यमबाट भुक्तानी सेवा सुरु गर्न थालेको हो । पीओएस माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा एक हजार रुपैयाँसम्म क्यासब्याक प्रदान गर्ने भएको छ ।

महामारीको प्रकोप शुरु भएदेखिको छोटो समयमा नै नेपालमा भुक्तानीका विभिन्न माध्यमबाट अनलाइन कारोबारको रकममा धेरै वृद्धि भएका देखिएको छ । यो अवधिमा सबैभन्दा बढी राष्ट्र बैंकले डिजिटल कारोबार प्रणाली आरटीजीएसको कारोबार भएको छ । असारदेखि भदौसम्म कुल कारोबारमा आरटीजीएसको हिस्सा ३५८ खर्ब ७३ अर्ब ५५ करोड रहेको छ ।

गत वैशाखदेखि भदौंसम्मको चार महिनाको अवधिमा आरटिजिएस ३५८ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँको डिजिटल कारोबार भएको छ । वैशाख महिनामा मात्रै ७३ खर्ब २२ अर्ब ९७ करोड रुपैयाँको विभिन्न कार्ड तथा आरटीजीएस, आइपीएस,कनेक्ट आइपीएस, मोबाइल÷इन्टरनेटलगायतका बैकिङ कारोबार भएको थियो भने यो कारोबार जेठमा सो कारोबार अझ बढेको छ । जेठ महिनामात्र १०९ खर्ब २ अर्ब ८३ करोड रुपैयाँको डिजिटल कारोबार भएको थियो । असारमा अझ त्यो कारोबार बढेर १२६ खर्ब ५९ अर्ब ६० करोड पुगेको छ ।

त्यस्तै, साउनमा यो कारोबार २१८ खर्ब ९३ अर्ब ९९ करोड करोबार भएको छ त्यस्तै भदौमा आएर १५५ खर्ब ५१ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ । २ करोड ४५ लाख ५७  ९९६ कारोबारबाट भदौमा १५५ खर्ब ५५ अर्ब १२ करोड रुपैयाँ बराबरको भएको हो । त्यस्तै भदौसम्ममा आरटिजिएस बाहेका ७ करोड ९६ लाख ३० हजार ८२८ कारोबारबाट ६५ खर्ब १० अर्ब १७ करोड १० लाख बराबरको डिजिटलमाध्यमबाट कारोबार भएको छ । 

यो अवधिमा सबैभन्दा बढी डिजिटल कारोबार आरटीजीएसमार्फत भएको छ । आरटीजीएसमार्फत साउनमा १२ खर्ब २१ अर्ब ३८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ भने भदौमा ८ खर्ब ३५ अर्ब ५ करोड  २६ लाख रुपैयाँको कारोबार भएको छ । आरटीजीएसमार्फत असारमा ३७ हजार २ सय ९७, जेठमा २० हजार ८ सय १७ र वैशाखमाअ १४ हजार ९ सय ६८ पटक कारोबार भएको छ । त्यस्तै साउनमा  ३४ हजार ६ सय १६ र भदौमा २८ हजार १ सय ३७ तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

असारदेखि साउनसम्म कारोबारका हिसाबले भने सबैभन्दा बढी वालेटको प्रयोग भएको छ । बजारमा चलनचल्तीमा रहेका विभिन्न वालेटको माध्यमबाट रकमको कारोबार कम भएपनि कारोबार भदौमा भने यो संख्या कम भएको छ । यो अवधिमा वालेटबाट वैशाखमा ९६ लाख ३९ हजार २२८ पटक कारोबार भएको छ भने जेठमा एक करोड २ लाख ७५ हजार २९० पटक र असारमा एक करोड १ लाख ७९ हजार ५५७ पटक कारोबार भएको छ । साउनमा एक करोड १७ लाख ७८ हजार ८९ सय कारोबार भएको छ । त्यस्तै भदौमा ९४ लाख १५ हजार ४४७ कारोबार भएका छन् । 

यो अवधिमा इन्टरनेट र मोबाइल प्रयोगकर्ता पनि बढेका छन् । मोबाइलबाट कारोबार गर्ने असारमा ५८ लाख १७ हजार ६८१, साउनमा ५९ लाख २३ हजार ४११ त्यस्तै  भदौमा ५९ लाख ६१ हजार ३३९ डेबिड कार्डको प्रयोग र कारोबार अन्य कार्डको तुलनामा केही बढेको देखिएको छ भने क्रेडिट कार्ड र प्रिपेड कार्डको कारोबार भने खासै धेरै छैन ।
 
त्यस्तै सरकारको समेत लगानी रहेको नेपाल क्लियरिंग हाउसको कनेन्ट आइपीएसको कारोबार भने हरेक महिना वृद्धि भइरहेको छ । कनेन्ट आइपीएसको कारोबार असार महिनामा ६ लाख ९६ हजार४४७ कारोबार रहेको थियो भने साउनमा यो संख्या ६ लाख ३३ हजार १३४ रहेको छ । त्यस्तै भदौमा यो सख्या  ८ लाख ९५ हजार ५८५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस