
काठमाडौं । कोभिडका कारण आर्थिक गतिविधि ठप्प भएपछि चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन, भदौ र असोज) मा बैंक वित्तीय संस्थाको नाफामा संकुचन आउने देखिएको छ । असोज मसान्तसम्म पनि आर्थिक गतिविधिले गति लिन नसक्दा आम ऋणीले कर्जाको साँवा र ब्याज तिर्न नसकेका कारण बैंक तथा वित्तीय संस्थाको नाफा घट्ने देखिएको हो । यसले खराब कर्जा बढाउने अनुमान बैंकर्सहरूले गर्न थालेका छन् ।
कोभिडका कारण साना तथा मझौला उद्यमी व्यवसायीदेखि अधिकांश ठूला ऋणीले समेत असोज मसान्तसम्म साँवा र ब्याज तिर्न सकेका छैनन् । यसको अर्थ साँवा र ब्याज नउठेपछि बैंकहरूले उठन बाँकी कर्जा बराबरको प्रोभिजन १ प्रतिशतबाट बढाएर ५ प्रतिशतका दरले गर्नुपर्ने हुँदा बैंकहरूको नाफामा संकुचन आउने नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । अहिले ती कर्जा निस्क्रियमात्रै भएका हुन्, बैंकहरूको सुक्ष्म निगरानीमा ती कर्जाहरू रहने भएकाले हामीले अहिले ५ प्रतिशतमात्र प्रोभिजन गरे पुग्छ । तर, यसले बैंकहरूले गर्ने नाफामा पनि अझ वितरण योग्य नाफा खुम्चने उनले बताए ।
‘कुनै कर्जा उठिरहेको छ, कुनै उठन बाँकी छ, कतिले असोजमसान्तमा तिरौला भनेका छन् । अहिले नै त्यति उठ्यो त्यति उठन बाँकी छ भन्ने सक्ने अवस्थामा हामी छैनौं ।’ अब आइतबारबाट यस विषयमा छलफल हुन्छ । दशैंका कारण अहिले बैंकिङ बजारमा त्यति चलहपहल नभएको उनले बताए ।
प्रवाह भएको कर्जाको साँवा र ब्याज उठ्न नसक्दा १ प्रतिशतको प्रोभिजन बढेर ५ प्रतिशत गर्नुपर्ने भएपछि बैंकहरूको नाफा घट्ने देखिएको छ,’ उनले भने ‘यसले वितरण योग्य नाफामा समेत असर पार्छ ।’ सोही अनुरुप बैंकहरूले सो कर्जाको प्रोभिजिङ बढाउनु पर्ने देखिएको छ ।
कर्जाको प्रोभिजिङका कराण चालु आवको असोजमसान्तमा बैंकहरूको नाफा घट्ने देखिएपनि सिटिजन इन्टरनेशनल बैंकको भने नाफा ४७.६६ प्रतिशतले बढेको हो । कोभिड प्रभावकै बीच बैंकले चालु आवको पहिलो त्रैमासमा ५१ करोड ५५ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो गत आवको सोही अवधिभन्दा १६ करोड ६४ लाख २२ रुपैयाँ बढी हो ।
यो अवधिमा बैंकको नाफा बढी देखिएपनि वितरण योग्य मुनाफा भने करोड पनि पुग्न सेकेको छैन । पहिलो त्रैमासमा बैंकको वितरण योग्य मुनाफा ९२ लाख ७४ हजार रुपैयाँमात्रै रहेको छ । नाफा बढी देखिएपनि वितरण योग्य नाफा कममात्र भएको बैंकका अध्यक्ष राजनसिंह भण्डारीले बताए । ‘बैंकबाट प्रवाह भएको कर्जाको ब्याज उठ्न नसक्दा वितरण योग्य नाफा कम भएको हो,’ उनले भने ‘नाफामात्र देखिएर हुँदैन, वितरण योग्य नाफा त अत्यन्त कम छ । ऋणीले कर्जाको ब्याजसमेत तिर्न नसक्दा यस्तो देखिएको हो ।
गत फागुन देखि मुलुकमा कोभिडको असर देखिन सुरु गरेको हो । उक्त अवधि देखिनै व्यापार व्यवसाय प्रभावित बन्दै गए । र अहिले कतिपय व्यवसाय उठ्नै नसक्ने गरी थला परेका छन् । व्यापार व्यवसायमा प्रभाव परेकाहरूको ऋणमा बैक वित्तीय संस्थाले ऋणी माथि केही लचकता अपनाएका थिए । कोडिका कारण ऋणीहरूले लिएको ऋणको साँवा ब्याज तिर्ने समय केही पर धकेलिँदै आएको थियो ।
मौद्रिक नीतिले गरेको व्यवस्था अनुसार पहिलो त्रैमास असोज मसान्तसम्म बैंकको किस्ता तिर्ने म्याद तोकिएको थियो । उक्त अवधिमा समेत धेरै कर्जा नउठेपछि त्यसको असर नाफामा देखिने भएको छ ।
कस्तो छ प्रोभिजनको व्यवस्था
नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी गरिएको निर्देशनमा संशोधन÷परिमार्जन थप व्यवस्था सम्बन्धमा, कर्जा वर्गीकरण न्यूनतम कर्जा नोक्सानी व्यवस्था यस प्रकार गर्नु पर्ने छ ।
राष्ट्र बैंकले (क) असल १ प्रतिशत, (ख) सूक्ष्म निगरानी ५ प्रतिशत, (ग) कमसल २५ प्रतिशत, (घ) शंकास्पद ५० प्रतिशत र (ङ) खराब १०० प्रतिशत कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्ने नीति लागू गरेको छ । जस अनुसार यस अघि बैक वित्तीय संस्थाले १ प्रतिशत प्रोभिजनिङ गर्दै आएको ऋणलाई असोज मसान्तसम्म पनि नतिरेको अवस्थामा ५ प्रतिशत प्रोभिजनिङ गर्नु पर्ने अध्यक्ष दाहालले बताए ।
पुस मसान्त सम्ममा पनि ऋणीले सावा व्याज तिर्न नसके पहिलो त्रैमासमा बढाएको प्रभिजनिङ पुस मसान्तमा थप बढ्ने छ । यसैगरी क्रमिक रुपमा बढ्दै गए ऋणको प्रोभिजन शत प्रतिशत हुने छ ।
प्रतिक्रिया दिनुहोस