aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बैंकको नाफाको खबर चुहिएपछि नेप्सेमा लगातार वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ बैशाख २०७६

काठमाडौं । शेयर बजारमा बैंक तथा वित्तीय संस्थाको नाफा सम्बन्धि सूचना चुहिन थालेपछि नेप्से परिसूचक लगातार बढ्दो क्रममा देखिएको छ । तेस्रो त्रैमासिक वितरण सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको बैंक तथा वित्तीय संस्थाले के कति नाफा गरे भन्ने कुरा सम्बधित बैंकका कर्मचारी र सञ्चालकले बाहिर ल्याउन थालेपछि शेयर बजार उकालो लाग्न पुगेको हो ।

साताको सुरुवातदेखि नै वाणिज्य बैंकको नाफाको खबर चुहिन थालेको थियो । यसै कारण शेयर कारोबार पनि वाणिज्य बैंकको अत्याधिक भएको छ र नेप्से पनि चार कार्य दिनमा ४३.५५ विन्दुले बढेको हो । 

नयाँ वर्षको सुरुवातसँगै नेप्से निरन्तर उकालो लागेको छ । वैशाख २ गते सोमबारको कारोबार हुनुभन्दा अघि ११८८.७१ विन्दुमा रहेको नेप्से बिहीबारसम्ममा १२३२.२६ विन्दुमा आइपुगेको छ । 

यो चार कार्यदिनमा एनएमबी बैंक, कुमारी बैंक, एनआइसी एशिया, प्रभु बैंक, नेपाल बैंक र एनसीसी बैंकको शेयर बढी कारोबार भएको छ । चार कार्यदिनमा एनएमबी बैंकको प्रतिकित्ता २४ रुपैयाँ भन्दा बढीले बढेको छ । नयाँ वर्षको सुरुको कारोबारको दिन सोमबार प्रतिकित्ता ३६१ मा कारोबार भएको एनएमबी बैंक साताको अन्तिम दिन बिहीबार ३८५ मा कारोबार हुन पुगेको छ । 

यसैगरी, प्रभु बैंकको प्रतिकित्ता १८ रुपैयाँले बढ्न पुगेको छ । साताको शुरुको दिन २५० रुपैयाँमा कारोबार हुँदै आएको प्रभु बैंकको सेयर अन्तिम दिन २७८ रुपैयाँमा कारोबार हुन पुगेको छ । यसैगरी एनआइसी एशिया बैंक उक्त अवधिमा १२ रुपैयाँ र नेपाल बैंक ७ रुपैयाँले बढेको छ । 

कुमारी बैंकको शेयर पनि ६ रुपैयाँले बढेर साताको अन्तिम दिन २६९ मा कारोबार हुन पुगेको छ । अघिल्ला दुई आर्थिक वर्षको लाभांश २१.२५ प्रतिशत एक पटक यही वैशाख २६ गत् हुने वार्षिक साधारणसभाबाट पारित गर्ने तयारी रहेकाले पनि सेयरको भाउ बढेको हो । 

तेस्रो त्रैमासमा उक्त पाँच बैंकको नाफा बढने सुइको पाएपछि सेयरको भाउ बढेको र कारोबार पनि यी वैंकको अत्याधिक भएको हो ।यो साताभरी उत्कृष्ट कारोबार हुने कम्पनीमा एनएमबी बैंक, कुमारी बैंक, एनआइसी एशिया बैंक, प्रभु बैंक र नेपाल बैंक छन् । नाफा बढने भएकाले यी कम्पनीको सेयर खरिद गर्न लगानीकर्ता इच्छुक देखिएका हुन् । बजारमा केही बैंकको नाफा चुहिए पनि बढी नाफा गर्ने बैंकको सेयर भाउ मात्र बढेको छ । 

बजारमा नाफा घाटाको प्रक्षेपण हुुनु नौलो विषय होइन तर नेपाली बजारमा भने सूचना नै चुहिने गरेको छ । यसपटक बजार निकै घटेकोले अहिले बैंकहरुले कमाएको नाफा दरले सेयर किन्दा फरक नपर्ने भन्दै मूल्य बढेर पनि सेयर किन्ने क्रम गत साताबाट शुरु भएको हो ।

बैंकहरु सञ्चालक समितिमा शेयरधनीहरु रहने, बैंकका कर्मचारीहरु पनि सेयर कारोबारमा आबद्ध हुने गरेको कारण बजारमा यस्ता सूचना चुहिने गरेको छ । तर, नियामक निकायले यसमा सुक्ष्म निगरानी गर्न सकेको छैन । 
 

प्रतिक्रिया दिनुहोस