aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
डिवेञ्चर

साढे ८ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्था

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० कार्तिक २०७७
साढे ८ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्था

काठमाडौं । राष्ट्र बैंकले बाणिज्य बैंकहरूलाई पुँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य रुपमा जारी गर्नुपर्ने व्यवस्था गरेसँगै विभिन्न वाणिज्य बैंकहरूले नेपाल धितोपत्र बोर्डमा  ८ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न आवेदन दिएका छन् । वाणिज्य बैंकहरूले राष्ट्र बैंकको सो नीतिगत व्यवस्थाका कारण गत वर्षकोभन्दा ब्याजदर घटाएर र ऋण पत्र बढाएर जारी गरेका हुन् । त्यसो त वाणिज्य बैंकहरूले जारी गरेको ऋण पत्रमा विकास बैंकको भन्दा कम ब्याज रहेको छ । 

ऋणपत्र जारी गर्ने तयारी गरेका बैंकहरूले यस आवमा ब्याजदर घटेसँगै ऋणपत्रको ब्याजदर पनि घटाएर साढे ८ प्रतिशत सीमित गरेका छन् । यस अघि वाणिज्य बैंकहरूले साढे १० प्रतिशतसम्मको ब्याजदरमा ऋणपत्र बिक्री गर्दै थिए ।

ग्लोबल आईएमई बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ । बैंकले १० लाख युनिटको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले प्रति युनिट एक हजारका दरले सो ऋणपत्र जारी गर्ने तयारीका साथ सेबोनमा आवेदन दिएको हो । बैंकले सो ऋणपत्र जारी गर्न भदौ २९ गते सेबोनमा आवेदन दिएको छ । 

नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँ बराबरको ४० लाख युनिट ऋणपत्र जारी गर्न लागेको छ । सो ऋणपत्र जारी गर्न बैंकले असोज ५ गने आवेदन दिएको हो । 

त्यसरी नै सेन्चुरी कमर्शियल बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख युनिट ऋणपत्र जारी गर्न लागेको छ । प्राइम कमर्शियल बैंकले पनि कार्तिक १४ गते मात्र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डमा आवेदन दिएको छ । बैंकले बिक्री गर्न लागेको ८ वर्ष अवधिको उक्त ऋणपत्रको ब्याजदर ८.७५ प्रतिशत रहेको छ ।

सानिमा बैंक, क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंक तथा बैंक अफ काठमाण्डूले दिएको ऋणपत्र जारी गर्ने सम्बन्धमा दिएको आवेदनमा बोर्डले अध्ययन गरिरहेको छ । 

सानिमा बैंकले ४ अर्ब रुपैयाँ  बराबरको ४० लाख युनिट ऋणपत्र जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले दिएको ऋणपत्र जारी गर्नको लागि पेश गरेको डकुमेन्ट सेबोनले अध्ययन गरेर बैंकलाई कमेन्ट पठाएको छ । 
त्यसरी नै नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले ३ अर्ब, बैंक अफ काठमाण्डूले १ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र जारी गर्न लागेको हो । 

त्यसरी नै बोर्डले सिद्धार्थ बैंकले दिएको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट ऋणपत्र निष्काशन गर्न स्वीकृत पनि दिएको छ । बोर्डले गत असोज १ गते उक्त स्वीकृत दिएको हो । 

ग्राहकलाई आकर्षण गर्दै विकास बैंक

विकास बैंकहरूले पनि आफ्नो पुँजीकोषलाई थप बलियो बनाउन ऋणपत्र बिक्री गर्न थालेका हुन् । एक अर्ब रुपैयाँको ऋण पत्र जारी गर्न लागेको कामना सेवा विकास बैंकले ९.५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ऋणपत्र बिक्री गर्न धितो पत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ ।

बैंकले निष्कासन गर्न लागेको कुल १ अर्बको ऋणपत्रमध्ये ४० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणमा बिक्री गर्न लागेको हो भने ६० करोड रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बैंकले बिक्री गर्ने तयारी गरेको छ । 

त्यसरी नै मञ्जुश्री फाइनान्सले ५० करोड रुपैयाँ बराबरको ५ लाख युनिट ऋणपत्र जारी गर्न बोर्डमा आवेदन दिएको हो । 


 

प्रतिक्रिया दिनुहोस