
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक २१ गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत वर्षको भन्दा ३ दशमलव ४ गुणाले बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ४६ लाख २ हजार रुपैयाँ नाफा गरेकोमा चालूआवको सोही अवधिमा १ करोड ५७ लाख ६३ लाख रुपैयाँ नाफा गरेको हो ।
यस वर्ष कम्पनीले ३१ लाख ८८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भई खुद ब्याज आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । यस वर्ष कम्पनीले २ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम गत वर्ष सोहि अवधिमा १ करोड ८८ लाख ५ हजार रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफामा पनि बृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीले ७१ लाख ८४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष २ करोड १५ लाख ८२ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ ।
हाल १२ करोड १७ लाख ४० हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ८ करोड ४५ लाख रुपैयाँ रहेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले ९१ करोड ४१ लाख ९१ हजार रुपैयाँ सापटि लिएर, ४१ करोड १६ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ अर्ब ४५ करोड ५८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो ।
खराब कर्जा संकलनमा वृद्धि भएसँगै कम्पनीको निष्क्रिय कर्जा घटेको छ । गत आवको पहिलो त्रैमासमा २ दशमलव ५२ प्रतिशत रहेकोमा चाल ूआवको सोही अवधिमा १ दशमलव ३८ प्रतिशतमा झरेको छ । प्रतिशेयर आम्दानी ५१ दशमलव ७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १४ दशमलव ३३ रुपैयाँ, तरलता अनुपात ७ दशमलव ८७ प्रतिशत र प्रतिशेयर नेटवर्थ १६९ दशमलव ४७ रुपैयाँ पुगेको हो । हालसम्ममा कम्पनीले ३८ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस