aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 
कोभिड प्रभावित

‘७६ अर्ब पुनरकर्जा उपलब्ध गराउन फेरि अर्को आवेदन माग गर्छौ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ कार्तिक २०७७
‘७६ अर्ब पुनरकर्जा उपलब्ध गराउन फेरि अर्को आवेदन माग गर्छौ’
देवकुमार ढकाल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक

कुनै ऋणीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा उपयोग गरिरहेका छन् भने त्यो कर्जा उपयोग गरेवापत पाउने कर्जा हो पुनरकर्जा । केही ऋणीहरूले मैले अहिलेसम्म पुनरकर्जा पाइन, बैंकले मलाई ऋण दिएन भनेर बुझिरहनु भएको छ । हामीले ग्राहक(ऋणी)लाई  सिधै पैसा दिने होइन, ग्राहकलाई  बैंकले पैसा दिँदैन । पुनरकर्जा यसअघि नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले ब्याजदरमा पाउने सहुलियत हो ।

पुरनकर्जाको लागि राष्ट्र बैंकबाट जति रकम प्राप्त गरेको हो त्यति रकम र त्यति नै अवधिको लागि कर्जा पाइरहेका ऋणीले ब्याजदरमा सहुलियत पाउने हो । ग्राहकलाई बैंकले पैसा दिँदैन । जति पुनरकर्जा राष्ट्र बैंकबाट प्राप्त गरेको हो, त्यति रकम र अवधिको लागि पाइरहेको कर्जाको ब्याजदरमा सहुलियत बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने हुन् । 

साधारण पुनरकर्जा ५ प्रतिशत  र विशेष पुरकर्जाको हकमा ३ प्रतिशतमात्र ब्याज तिरे पुग्छ, तर थप पैसा पाउने होइन । यो कुरा आम ऋणीले बुझ्नु पर्यो । राष्ट्र बैंकले प्रवाह गर्ने पुनरकर्जा भनेको ऋण लिएका ग्राहकको व्यापार व्यवसायको पुरनउत्थान गर्नको लागि ब्याजदरमा दिने सहुलियत हो । थप पैसा पाउने होइन । आम ऋणीको थप पैसा नै पाउने बुझाइ छ यो होइन, त्यो कुरा राम्ररी ऋणीले बुझ्नु पर्छ । 

पुरनकर्जा काय विधिले तीन प्रकारको पुनरकर्जाको व्यवस्था गरेको छ । लघु, घरेलु, साना उद्यम, विशेष र साधारण पुनरकर्जा छ । कोभिड प्रभावित उद्यमी व्यवसायीलाई मध्येनजर गर्दै पुनरकर्जाको आकार भने नयाँ कार्यविधिले गरेको व्यवस्थाअनुसार अहिले राष्ट्र बैंकमा भएको फण्टको पाँच गुणासम्म प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ । अहिले राष्ट्र बैंकसँग साढे ४२ अर्ब रुपैयाँको  फन्ट छ । त्यसको पाँच गुणा अर्थात २१२.५० अर्बसम्म कर्जा प्रवाह गर्न सकिन्छ । 

पुनरकर्जा  कार्यविधि, २०७७ ले गरेको व्यवस्था अनुसार राष्ट्र बैंकले कुल पुनरकर्जा रकमको बढीमा ७० प्रतिशत बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट राष्ट्र बैंकले कर्जा प्रवाह गर्छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आवेदन माग गर्छ एकमुष्ठ पुनरकर्जाको लागि ५ करोडसम्म कर्जा उपयोग गरेका ऋणीले पुनरकर्जाको लागि आवेदन दिन सक्छन् । 

ऋणीको निवेदन आएपछि बैंकहरूको लिष्ट हेरेर हामीले पुनरकर्जा दिने हो । त्यो भनेको कुल पुनरकर्जाको १४८ अर्ब हुन्छ । असोजसमान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब पुनरकर्जाको आवेदन परेको छ । अहिले हामी निवेदनको विश्लेषण गरिरहेका छौ । कार्तिकसम्म यी सबै कार्य सकेर योग्य ठहरिएका निवेदनलाई हेरेर मंसिर १ गतेबाट हामी कर्जा दिन थाल्छौ । 
हामी एकै पटक ७२ अर्ब नै दिदैनौ । बजारको तरलताको अवस्था हेरेर हामीले विस्तारै पुनरकर्जा प्रवाह गछौं । बजारमा हुने तरलताको अवस्था हेरेर हामी पुनरकर्जा दिन्छौ । 

साधारण पुनरकर्जाको प्रति ग्राहक २० करोडको सीमा छ । त्यो पुनरकर्जा हामी बैंक तथा वित्तीय संस्थाबाट ग्राहक ऋणी जसले ऋण उपयोग गरिरहनु भएको छ उहाँहरूले बैंक तथा वित्तीय संस्थामा निवदेन दिनुहुन्छ । त्यो निवेदन बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा फरवार्ड गर्छ । र हामीले त्यो पैसा पनि बैंक तथा वित्तीय संस्थालाई नै दिन्छौं । त्यो पैसाको पनि ग्राहकले ब्याजदरमा सहुलियत पाउनु हुन्छ । 

यसको सीमा भनेको २० प्रतिशत भन्यौ भने हामीले ४२ अर्ब हुन्छ । त्यो पैसा हामी बैंकलाई दिन्छौ । अर्को १० प्रतिशत पुनरकर्जा ‘घ’ वर्गका वित्तीय संस्थालाई दिने हो । उनीहरूलाई पनि हामीले एकमुष्ठ रुपमा उपलब्ध गराउने हो । ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई कर्जा उपलब्ध गराउने प्रक्रिया पनि अघि बढी सकेको छ । 

निकट भविष्यमै लघुवित्त वित्तीय संस्थालाई पनि पुनरकर्जा दिने तयारी राष्ट्र बैंकले गरिरहेको छ । कर्जामा ग्राहकले ३ देखि ५ प्रतिशत मात्र ब्याज भुक्तानी गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले प्रतिव्यक्ति बढीमा ५ करोड रुपैयाँ मात्र पुनरकर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । यस्तो सहुलियत १ वर्षको लागिमात्र हुने कार्यविधिमा उल्लेख गरिएको छ । 

एकमुष्ठ रुपमा ग्राहकअनुसार पुनरकर्जाको माग जम्मा ७२ अर्बको मात्रै माग आएको छ । यसमा १४८ अर्ब माग आउने राष्ट्र बैंकको अपेक्षा थियो । पहिलो समय सीमाभित्र त्यो आइसकेको अवस्था छैन । अहिले निवेदन परेका कर्जा प्रवाह गर्ने प्रक्रिया सकिएपछि फेरि पुरनकार्जको लागि आवेदन आव्हान गछौं । फेरि पनि एक मुष्ठ रुपमा हामीले वाँकी ७६ अर्ब रुपैयाँ पुनरकर्जा प्रवाह गछौ । 

नेपाल राष्ट्र बैंकले कोभिड–१९ बाट अर्थतन्त्र र उद्यमी व्यवसायीमा परेको नकारात्मक तथा ऋण तिर्न सक्ने क्षमतामा परेको प्रभावको विश्लेषण गरेर खर्च कटौती गर्नुपर्ने अहिलेको अवस्थालाई मध्येनजर गर्दै उहाँहरूलाई भरथेग होस् भनी पुनरकर्जाको सीमा बढाएको हो । यो कर्जा सबै क्षेत्रका ऋणीहरूले उपयोग गर्नुपर्ने अवस्था छ । 

अहिले पुनरकर्जा राज्यको गाउँपालिकासम्म पुग्ने गरी प्रवाह गर्नुपर्ने व्यवस्था गरेका राष्ट्र बैंकले गरेको छ ।  बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाले न्यूनतम ५ वटा पुनरकर्जा प्रवाह गर्नुपर्छ । कोभिड –१९ बाट परेको प्रभावलाई न्यूनीकरण गर्न धेरै भन्दा धेरै ग्राहकमाझ पुग्ने राष्ट्र बैंक उद्देश्य हो । 

पुरनकर्जा आफैमा भिन्नता हुँदैन । बैंक वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको धितोमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रवाह गर्ने कर्जा हो । त्यसैले यसको नाम नै पुनरकर्जा भएको हो ।  एक पटक कर्जा दिइसकेको र फेरि उसैलाई कर्जा दिइने भएकोले यसको नाम पुनरकर्जा राखिएको हो । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई दिएको कर्जा वापत राष्ट्र बैंकले दिने कर्जा नै पुनरकर्जा हो । 

हामीले कोभिडबाट अतिप्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित क्षेत्रलाई पहिलो प्राथमिकत राखेर कर्जा सीमालाई ४२ अर्बबाट बढाएर २१२.५० अर्ब पुर्याएका हौं । 

यो बढाइएको सीमा कोभिड प्रभावितलाई दृष्टिगत गरी ल्याइएको राष्ट्र बैंकको नयाँ प्रडक्ट हो । यो भन्दा अगाडी ग्राहक ऋणीले मात्रै पुनरकर्जा  पाउने व्यवस्था थियो । अहिले बैंक तथा वित्तीय संस्थालाई एकमुष्ठ पुनरकर्जा उपलब्ध गराउने व्यवस्था थप गरिएको छ । ‘घ’ वर्गका वित्तीय संस्थाले पनि २१ अर्ब पुरनकर्जा पाउने व्यवस्था नयाँ व्यवस्था छ । यी व्यवस्थाहरू कोभिड–१९ बाट प्रभाव परेका उद्यमी व्यवसायीलाई सहयोग गर्न, हौसला अभिवृद्धि तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न प्रवाह गरेको पुनरकर्जा हो । 

कसले पाउँदैन पुनरकर्जा ?

पुनरकर्जाले लिनको लागि कार्यविधिले तोके बमोजिमको आवेदन तथा डकुमेण्टहरू पेश गर्नुपर्ने छ । यो कर्जाका लागि राष्ट्र बैंकले मापदण्ड तोकिदिएको छ । कार्यविधिले तोकेको सीमाभित्र रहेर योग्यता पुगेका ऋणीले पुनरकर्जा सुविधा उपयोग गर्न सक्ने छन् । 

कार्यविधिअनुसार वार्षिक औसत २० प्रतिशतभन्दा बढी सेयरधनीको प्रतिफल (आरओई) आर्जन गर्ने उद्योगले पुनरकर्जा सुविधा नपाउने व्यवस्था छ । उद्योगको सञ्चालन अवस्था राम्रो रहेको, विगत तीन वर्षको मुनाफा हेर्दा औसत प्रतिवर्ष पुँजीमा प्रतिफल २० प्रतिशतभन्दा बढी रहेको उद्योग व्यवसायमा पुनरकर्जा सुविधा नपाउने व्यवस्था छ ।

चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य उद्योग व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग व्यवसायलाई प्रवाह भएका कर्जामा पनि पुनरकर्जा सुविधा उपलब्ध हुने छैन । ‘कुनै उद्यमका लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घरजग्गा कर्जा, सवारी कर्जा लिएका उद्यमी व्यवसायीले यो कर्जा उपयोग गर्न पाउँदैनन् । 

घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाले पुनरकर्जा सुविधा नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । ब्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जालगायतका अन्य अनुदान प्राप्त कर्जा लिएक ऋणीले पनि यो सुविधा पाउँदैनन् ।’ 


 

प्रतिक्रिया दिनुहोस