
काठमाडौं । कुमारी बैंकले चालू आर्थिक वर्षकोे पहिलो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको नाफा गत वर्षभन्दा यस वर्ष ४९ दशमलव ८९ प्रतिशत बढी भएको छ । यस वर्ष पहिलो त्रैमासमा बैंकले रू. ६० करोड २५ लाख ४३ हजार नाफा कमाएको छ ।
यो नाफा गत आवको पहिलो त्रैमासमा रू. ४० करोड १९ लाख ८८ हजार थियो । यस वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा वृद्धि भएको हो । गत वर्ष रू. ५६ करोड ६२ लाख ९४ हजार सञ्चालन नाफा गरेको यस बैंकले यो वर्ष रू. ८६ करोड ५ लाख सञ्चालन नाफा गरेको छ । त्यस्तै गत वर्ष रू. ९१ करोड ८५ लाख ४९ हजार खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष रू. १ अर्ब ३१ करोड ५६ लाख ९६ हजार खुद ब्याज आम्दानी गरेको हो ।
चालू आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. २५ करोड ९१ लाख रहेको छ । हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५२ करोड ४९ हजार रहेको छ । यस वर्ष बैंकले १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको जगेडा कोषमा रू. ३ अर्ब ५९ करोड ४३ लाख ३८ हजार र रिटेन्ड अर्निङमा रू. १ अर्ब ६७ करोड ४ लाख २४ हजार छ । चालू आवको पहिलो त्रैमाससम्ममा बैंकले रू. १ खर्ब १७ अर्ब २ करोड निक्षेप संकलन गरेर रू. १ खर्ब १० अर्ब ३२ करोड कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी रू. १९ दशमलव २५ र प्रतिशेयर नेटवर्थ रू. १४२ दशमलव शून्य ५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस