aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

इन्फिनिटी लघुवित्तको नाफा २ करोडभन्दा बढी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ कार्तिक २०७७
इन्फिनिटी लघुवित्तको नाफा २ करोडभन्दा बढी

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले रू. २ करोड १८ लाख ३ हजार खुद नाफा कमाएको हो । कात्तिक २४ गते सार्वजनिक गरेको कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष ३५ प्रतिशत बढी नाफा गर्न कम्पनी सफल भएको हो । गत वर्ष कम्पनीले रू. १ करोड ६१ लाख ५ हजार खुद नाफा गरेको थियो । 

यो वर्ष कम्पनीको खराब कर्जा संकलन बढेसँगै नाफा बढेको हो । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. १ करोड ४२ लाख खराब कर्जा संकलन गरेको छ । खराब कर्जा संकलन गरेपनि कम्पनीको निष्क्रिय कर्जा गत वर्षभन्दा यो वर्ष बढेको छ । गत वर्ष १ दशमलव १३ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष १ दशमलव ३७ प्रतिशत पुगेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. २२ करोड ८१ लाख ४० हजार रहेको छ । कम्पनीको जगेडा कोषमा रू. १२ करोड २४ लाख ६६ हजार छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब १६ करोड ६ लाख २ हजार कर्जा सापटि लिएको छ । पहिलो त्रैमासमा रू. ७२ करोड ४५ लाख २१ हजार निक्षेप संकलन गरेको कम्पनीले रू. २ अर्ब ७२ करोड ४३ लाख कर्जा प्रवाह गरेको छ । 

गत वर्ष रू. ३ करोड ९२ लाख ३९ हजार खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३ करोड ३० लाख ४४ हजार यो आम्दानी गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ३८ दशमलव २३ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव ६८ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस