aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

पहिलो त्रैमासमा विजय लघुवित्तको नाफा गत वर्षभन्दा २१ प्रतिशत घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ कार्तिक २०७७
पहिलो त्रैमासमा विजय लघुवित्तको नाफा गत वर्षभन्दा २१ प्रतिशत घट्यो

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण कात्तिक २५ गते सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत वर्षको भन्दा यस वर्ष २१ दशमलव ५७ प्रतिशत कम भएको छ । गत वर्ष पहिलो त्रैमाससम्म  २ करोड २५ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष १ करोड ७६ लाख ४५ हजार रुपैयाँ नाफा गरेको हो । 

यस वर्ष कम्पनीले सम्भावित जोखिम बापतको ब्यवस्थामा धेरै रकम छुट्याएकाले सञ्चालन नाफा ऋणात्मक हुन गई नाफा घटेको देखिन्छ । कम्पनीले गत वर्ष सम्भावित जोखिम बापतको ब्यवस्थामा  १ करोड १४ लाख ९२ हजार रुपैयाँ छुट्याएकोमा यस वर्ष ३ करोड ७१ लाख ७४ हजार  रुपैयाँ छुट्याएको हो । गत वर्षभन्दा यस वर्ष कम्पनीको निष्क्रिय कर्जा पनि बढेको छ ।  गत वर्ष २ दशमलव २२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष ३ दशमलव ४४ प्रतिशत पुगेको छ ।

चुक्ता पूँजी २२ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीले जगेडा कोषमा  १२ करोड ४२ लाख रुपैयाँ सञ्चित गरेको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले  २ अर्ब ७८ करोड १३ लाख कर्जा सापटि लिएर  ३ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । पहिलो त्रैमासमा कम्पनीले ८३ करोड ८५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी  ३१ दशमलव ५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १५५ दशमलव ४७ रुपैयाँ रहेको छ ।

 यस अवधिसम्म कम्पनीले ७ दशमलव २७ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।  कम्पनीले ३५ जिल्लामा ५७ वटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस