
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ८१ लाख २७ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत वर्ष यसै अवधिमा कम्पनीको नाफा २ करोड २८ लाख १५ हजार रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा २३ प्रतिशत बढी भएको छ । यस वर्ष सञ्चालन नाफा कम भएपनि खराब कर्जा संकलन बढेकाले कम्पनीको नाफा बढ्न सहयोग मिलेको हो ।
कम्पनीले कात्तिक २५ गते चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष ३ करोड ५६ लाख १३ हजार रुपैयाँ सञ्चालन नाफा गरेको यो कम्पनीले यस वर्ष ३ करोड ३२ लाख ६७ हजार रुपैयाँ मात्र यो नाफा गरेको हो । यस वर्ष कम्पनीले १ करोड १३ लाख ८० हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । गत वर्ष यो अवधिमा ४ लाख २० हजार रुपैयाँ मात्र खराब कर्जा कम्पनीले उठाएको थियो । साथै सम्भावित जोखिम शिर्षकमा गत वर्षभन्दा कम रकम छुट्याएकोले पनि नाफा बढेको हो ।
गत वर्ष पहिलो त्रैमाससम्म ४५ लाख ५५ हजार रुपैयाँ सम्भावित जोखिमका लागि रकम छुट्याएको कम्पनीले यस वर्ष ३६ लाख ६२ हजार रुपैयाँ छुट्याएको छ । गत वर्ष शून्य दशमलव १९ प्रतिशत रहेको निष्क्रिय कर्जा यो वर्ष शून्य दशमलव ३५ प्रतिशत पुगेको छ ।
६ प्रतिशत बोनस शेयर वितरणपश्चात कम्पनीको चुक्तापूँजी ६७ करोड १५ लाख २३ हजार रुपैयाँ पुगेको छ । यस वर्ष कम्पनीले यहि पूँजीको आधारमा ९ प्रतिशत रुपैयाँ बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
पहिलो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम १७ करोड ५३ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यो अवधिमा जगेडा कोषमा रू. ९ करोड ५ लाख ८ हजार रहेको थियो । गत वर्षको भन्दा यस वर्ष जगेडा कोष रकम ९३ दशमलव ७६ प्रतिशत बढी कायम भएको हो ।
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट रू. २ अर्ब ६८ करोड ४८ लाखभन्दा बढी कर्जा सापटी लिएको यस कम्पनीले रू. २ अर्ब ६७ करोड ९५ लाख ७४ हजार कर्जा प्रवाह गरेको छ । यस वर्षको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ७५ र प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव १२ रहेको छ । कम्पनीले पहिलो त्रैमाससम्म २२ दशमलव २५ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस