aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

डिप्रोक्स लघुवित्तको निष्क्रिय कर्जा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ कार्तिक २०७७
डिप्रोक्स लघुवित्तको निष्क्रिय कर्जा घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १ अर्ब ४२ करोड ९१ लाख ५६ हजार रुपैयाँ खराब कर्जा उठाएको छ । गत वर्ष यो अवधिमा कम्पनीले  ४ करोड ८ लाख ७१ हजार रुपैयाँ यो कर्जा उठाएको थियो । गत वर्षभन्दा यस वर्ष करिब ३५ गुणा बढी खराब कर्जा उठाउन कम्पनी सफल भएको हो । खराब कर्जा संकलन बढेसँगै कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ । 

गत वर्ष २३ करोड ९३ लाख ९४ हजार खुद ब्याज आम्दानी गरेको यस कम्पनीले यस वर्ष ३६ करोड ३५ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । खराब कर्जा संकलन उल्लेख्य मात्रामा बृद्धि भएको यो वर्ष कम्पनीको निष्क्रिय कर्जामा कमि आएको छ । गत वर्ष १ दशमलव २५ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष शून्य दशमलव ४७ प्रतिशतमा झरेको छ ।

कात्तिक २६ गते सार्वजनिक भएको कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीले १९ करोड ८० लाख ९३ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिमा ९ करोड ५८ लाख ८१ हजार रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा १०६ दशमलव ६० प्रतिशत बढी भएको हो । ३० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर १ अर्ब ५४ लाख ३३ हजार रुपैयाँ पुगेको कम्पनीको जगेडा कोष रकम १ अर्ब ८ करोड ३७ लाख १७ हजार रुपैयाँ छ । 

गत वर्षभन्दा १८ प्रतिशत कम यो वर्ष कम्पनीले ५ अर्ब ९८ करोड ३ लाख ११ हजार रुपैयाँ कर्जा सापटी लिएको छ । गत वर्षभन्दा २४ प्रतिशत बढी ५ अर्ब २५ करोड ३६ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ६ प्रतिशत बढी १२ अर्ब ८४ करोड ४० लाख ८४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७८ दशमलव ८१ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०७ दशमलव ७९ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस