
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा गत वर्षको सोहि अवधिको भन्दा मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफामा करिब २ प्रतिशतको बृद्धि देखिएको छ । कात्तिक २६ गते सार्वजनिक कम्पनीको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार यस वर्ष कम्पनीले रू. २ करोड १७ लाख ३७ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिमा रू. २ करोड १३ लाख ६८ हजार रहेको थियो ।
नागवेली लघुवित्तलाई प्राप्ती गरेको यस कम्पनीको चुक्तापूँजी रू. ४० करोड २३ लाख ५२ हजार पुगेको छ । कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा ३० दशमलव ७६ प्रतिशत बढी रू. १५ करोड २० लाख ८६ हजार कायम भएको छ ।
गत वर्ष रू. २६ लाख ५५ हजार खराब कर्जा उठाएको कम्पनीले यस वर्ष पहिलो त्रैमासमा खराब कर्जा उठाउन सकेको छैन् । जसले गर्दा कम्पनीको निष्क्रिय कर्जा बढेको छ । गत वर्ष शून्य दशमलव ९८ प्रतिशत रहेको खराब कर्जा यो वर्ष २ दशमलव ७२ प्रतिशत पुगेको छ ।
यस वर्ष गत वर्षभन्दा करिब ७४ प्रतिशत बढी रू. २ अर्ब ८३ करोड ३२ लाख ५२ हजार कर्जा सापटी लिएको कम्पनीले गत वर्षभन्दा ८९ प्रतिशत बढी रू. ४ अर्ब ६५ करोड ३० लाख ३८ हजार कर्जा प्रवाह गरेको छ । यस वर्ष गत वर्षभन्दा ८६ प्रतिशत बढी रू. १ अर्ब ५६ करोड ८ लाख १० हजार निक्षेप संकलन कम्पनीले गरेको छ । यस वर्षको पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. २१ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १३७ दशमलव ८० रहेको छ ।
प्रतिक्रिया दिनुहोस