
काठमाडौं । कात्तिक मसान्तमा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुबै योजनाको नाफा बढेको छ । एनएमबि हाइब्रिड फण्ड एल—१ र एनएमबि फिप्टीको नाफामा असोज महिनाको तुलनामा कात्तिक महिनामा वृद्धि भएको हो । एनएमबि हाइब्रिड एल–१ ले असोज मसान्तमा रू. ६ करोड ६६ लाख ६६ हजार नाफा गरेकोमा कात्तिक मसान्तमा रू. १२ करोड ७३ लाख ८२ हजार नाफा गरेको छ । त्यस्तै एनएमबि फिप्टीले कात्तिक मसान्त सम्ममा रू. १६ करोड ५३ लाख ७३ हजार नाफा कमाएको छ । यस योजनाले असोज मसान्तमा रू. ७ करोड १६ लाख नाफा कमाएको थियो ।
नाफामा वृद्धि भएसँगै दुवै योजनको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा पनि वृद्धि भएको छ । एनएमबि फिप्टीको असोज मसान्तमा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १० दशमलव ९८ रहेकोमा कात्तिक मसान्तमा रू. ११ दशमलव ७३ पुगेको हो । एनएमबि फिप्टीले सुचिकृत तथा सुचिकृत नभएको शेयर तथा डिबेञ्चरमा गरेको लगानीको धितोपत्र दलाल कमिसन सहित लागत मूल्य रू. १ अर्ब ५ करोड ४३ लाख रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब ३९ करोड ३३ लाख पुगेको छ ।
एनएमबि हाइब्रिड फण्ड एल–१ ले कात्तिक मसान्तमा सुचिकृत तथा सुचिकृत नभएका शेयर तथा डिबेञ्चरमा गरेको लगानीको लागत मूल्य रू. ८२ करोड ८८ लाख ३६ हजार रहेकोमा यसको बजार मूल्य रू. १ अर्ब ३ करोड ९० लाख भन्दा बढी रहेको छ । कात्तिक मसान्तमा यी दुबैयोजनाले लगानी गरेका कम्पनीहरुके शेयर मूल्यमा वृद्धि भएकाले नाफा सँगै प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस