
काठमाडौं । कुमारी बैंकले प्रस्ताव गरेको १४ प्रतिशत लाभांश पारित भएको छ । बैंकले मंसिर २९ गते २० औं वार्षिक साधारण सभा सम्पन्न गरी १० दशमलव ८५ प्रतिशत बोनस शेयर र कर समेत गरी ३ दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो ।
सभाले बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ती गर्नका लागि आवश्यक सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालन समितिलाई अख्तियारी समेत प्रदान गरेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १५ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।
हाल बैंकको चुक्तापूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको छ । १० दशमलव ८५ प्रतिशत बोनस शेयर पश्चात यो पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार रुपैयाँ पुग्नेछ । यस बैंकले चालू आवको पहिलो त्रैमासमा ६० करोड २५ लाख ४३ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासमा ४० करोड १९ लाख ८८ हजार रुपैयाँ थियो ।
यस वर्ष बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै नाफामा वृद्धि भएको हो । गत वर्ष ५६ करोड ६२ लाख ९४ हजार रुपैयाँ सञ्चालन नाफा गरेको यस बैंकले यो वर्ष ८६ करोड ५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । चालू आवको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा २५ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख ३८ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा १ अर्ब ६७ करोड ४ लाख २४ हजार रुपैयाँ छ । चालू आवको पहिलो त्रैमाससम्ममा बैंकले १ खर्ब १७ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब १० अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव २५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४२ दशमलव शून्य ५ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस