
काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा जाने तयारी शुरु गरेका छन् । दुबै बैंकहरूले बैंकहरूको प्रारम्भिक ड्यू डेलिजेन्स अडिट (डीडीए रिपोर्ट) चित्त बुझाएमा मर्जरमा जाने तयारी गरेका हुन् । अहिले दुबै बैंकहरूले डीडीए गरिरहेका छन्, यसमा चित्त बुझे हामी मर्जर जान तयार छौं,’ नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीवहादुर पाँडेले भने ‘मर्जरमा गएपछि अन्य कुरा विस्तारै मिल्दै जान्छ ।’
मर्जरमा जाने तयारी गरिरहेका बैंकमध्ये हिमालय बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ भने यसको मंगलबारको अन्तिम शेयर मूल्य प्रतिकित्ता ६५६ रुपैयाँ रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५ सय रुपैयाँ रहेको छ । एनआईबीएलको अन्तिम शेयर मूल्य प्रतिकित्ता ५३१ रुपैयाँ रहेको छ ।
यी दुबै बैंक मर्ज भएपछि २३ अर्ब ६२ करोड १२ लाख ३६ हजारको नेपाल कै ठूलो बैंक बन्ने भएको छ । यस अघि मर्जरमा गएका जनता बैंक र ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजारमात्रै रहेको छ । दुबै बैंकहरूको पारिवारिक सम्बन्ध भएकाले बैंकहरूबीच मतभेद नहुने भएकाले बैंकका अन्य विषय मर्जर प्रक्रियासँगै विस्तारै मिलाउँदै लैजाने तयारीमा दुबै पक्षका बैंक रहेका छन् ।
अहिले दुबै बैंकको प्रारम्भिक डीडीए गर्न थालिएको छ । कर्मचारी व्यवस्थापन तथा शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) लाई बैंकहरूले अहिले प्राथमिकतामा राखेका छैनौ । मर्जरमा जाने निर्णय भएसँगै यसको तय हुनेछ । ‘मर्जरमा जाँदा बैंक सञ्चालन खर्च घट्नुका साथै राष्ट्र बैंकले लिएको नीतिलाई समेत सहयोग पुग्ने अध्यक्ष पाँडेको भनाइ छ ।
विशेषत बैंकहरू मर्जरमा जाँदा कर्मचारी व्यवस्थापन सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको छ । यसमा भने त्यति असर नपर्ने देखिदैन । किनकी हिमालय बैंकका अध्यक्ष तुलसी प्रसाद गौतम व्यक्तिगत शेयर धनी नभइ उनले संस्थागत प्रतिनिधित्व गरेका हुन् । बैंक मर्जर हुँदा अध्यक्षमा विवाद रहँदैन । त्यस्तै दुबै बैंकबीच पारिवारिक सम्बन्धका कारण सीईओका लागि पनि त्यति अप्ठ्यारो पर्दैन । बाँकी कर्मचारी र अन्य विषय भने मिल्न सक्ने अवस्था देखिएकाले दुबै बैंक मर्जरका लागि अगाडि बढेका हुन् ।
प्रतिक्रिया दिनुहोस