
काठमाडौं । नेपाल बैंकले प्रस्ताव गरेको लाभांशप्रति लगानीकर्ताहरुको असन्तुष्टि देखिएको छ । लाभांश सार्वजनिक भएको दिनको बैंकको शेयर कारोबारलाई हेर्दा असन्तुष्टि देखिएको हो । लाभांश सार्वजनिक भएकै दिन बैंकको शेयरमूल्य ६ दशमलव २५ प्रतिशत घटेको छ ।
प्रतिकित्ता रू. २६ ले घटेर बिहीवार नेपाल बैंकको अन्तिम शेयर मूल्य रू. ३९० मा झरेको हो । यो दिन बैंकको न्यूनतम रू. ३८७ देखि अधिकतम रू. ४१० सम्ममा शेयर खरिद विक्री भएको छ । बिहीवार सर्वाधिक कारोबार गर्ने कम्पनीमध्य तेस्रो नम्बरमा रहेको यस कम्पनीको रू. ३७ करोड ८७ लाख ६५ हजार बराबरको शेयर कारोबार भएको छ ।
गत वर्षभन्दा यस वर्ष बैंकले ९ प्रतिशत कम लाभांश बिहीवार सार्वजनिक गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को लागि हाल कायम चुक्तापूँजीको आधारमा १२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल बैंकको चुक्तापूँजी रू. ११ अर्ब २८ करोड २८ लाख २० हजार रहेको छ । गत वर्ष बैंकले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस