aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

ब्याजदर घट्दा बचतकर्ता मारमा, सहकारीतिर बढ्दो आकर्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०६ पुस २०७७
ब्याजदर घट्दा बचतकर्ता मारमा, सहकारीतिर बढ्दो आकर्षण

काठमाडौं । सोमबार बिहान चिनजानको मान्छेबाट एउटा फोन आयो र उहाँले भन्नु भयो ‘बैंकमा पैसा राख्दा ब्याज थोरै आउँदो रहेछ । बढी ब्याज दिने बैंक कुन हो ? त्यहि बैंकमा पैसा राखिदिनु पर्यो । मैले जवाफ दिँदै भने सबै बैंकहरूमा अहिले पैसा धेरै भएकोले कम ब्याज छ । पहिलाको जस्तो बढी ब्याज बैंकहरूले दिँदैनन् । 

एउटा  सहकारीले १२/१३ प्रतिशतसम्म ब्याज दिन्छु भनेको छ, उसोभए त्यहाँ लगेर राख्दा हुन्छ त भनेर उहाँले सोध्नु भयो ? मैल चिनजानको सहकारी भए राख्दा फरक पर्दैन भने ।  बैंकहरूको मुद्दती खाता मै सवा आठ प्रतिशतभन्दा बढी ब्याज छैन भने । अहिलेको अवस्थामा पनि १२÷१३ प्रतिशत ब्याज पाउनु भनेको त राम्रो हो, पैसा लिएर नभाग्ने सहकारी भए राख्दा राम्रै हुन्छ मैले जवाफ दिए । 
  
वाणिज्य बैंकमा बचत र मुद्दती दुबै खाताको ब्याजदर घटेपछि उहाँहरू जस्तै आम बचतकर्ता बढी ब्याज दिने विश्वासिलो सहकारीको खोजी गर्न थालेका छन् । उहाँहरूमात्रै होइन अन्य बचतकर्ताले पनि बढी ब्याज पाउन सहकारी तिर बचत गर्नेतर्फ लाग्ने देखिएको छ । 

२ वर्ष अघि यति बेला वित्तीय बजारमा तरलताको ठूलो अभाव थियो । बचतकर्ताले बार्गेनिङ गरि गरि ब्याज लिन्थे । लगानी योग्य पुँजी अभावका कारण निक्षेप तान्न बैंकहरूको प्रतिस्पर्धा नै थियो । बैंकहरूले तीन महिने, ६ महिने मुद्दती खातामा पनि आम नागरिकले सोचेभन्दा बढी ब्याज दिने गर्थे, लाजिम्पार्टका अरुण अधिकारीले भने ‘मुद्दती खातामा पैसा राख्न त बैंकको तानातानै हुन्थ्यो । तर, अहिले अवस्था त्यो रहेन । अहिले त मुद्दती निक्षेपमा समेत ब्याज घटेको छ । 

अब पैसा बैंकमा राख्नुको कुनै अर्थ नै भएन । डेढ दुई प्रतिशत ब्याज पाउनु भनेको त नपाएको सरह नै,’ उनले भने ‘ हामीजस्ता बैंकमा पैसा राखेर गुजारा चलाउने त ठूलो मारमा परियो ।’ विकास बैंक र फाइनान्स कम्पनीमा पनि कुरा गरे । तर, सन्तुष्ट हुन सकिएन । अब बैंकको पैसा झिकेर सहकारीमा राख्नुपर्ने भयो । 

तर, अहिले समय त्यस्तो रहेन । कोभिडका कारण अर्थतन्त्र शिथिल बनेको छ । लगानी कर्तामा उत्साह छैन । कतिपय उद्योग व्यवसाय बन्द भइसके भने कति बन्द हुने अवस्थामा पुगेका छन् । सञ्चालनमा रहेका उद्योग पनि क्षमताभन्दा कममा सञ्चालमा रहेका छन् । उद्योग व्यवसाय पूर्ण क्षमतामा सञ्चालन नहुँदा बैंक तथा वित्तीय क्षेत्रमा कर्जाको माग आएन अर्थात आएका माग पनि थोरै मात्रमा आए । 

कोरोनाका कारण बैकमा ठूला  परियोजनाको लागि कर्जाको माग त्यति आएको छैन भने नयाँ उद्यम व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । जसले बैंकहरू तरलता बढी भयो र लगानी गर्न नसक्दा ब्याजको भार थेग्न नसकेर ब्याजदर घटाउनेतर्फ लागेका छन् ।   

कोभिडका कारण पर्याप्त आर्थिक गतिविधि हुन नसकेपछि बैंकहरूले निक्षेपकर्तालाई दिने ब्याजदर घटाएका छन् । बैंकहरूले पुस १ गतेदेखि लागू हुनेगरी बैंक तथा वित्तीय संस्थाले बचत तथा मुद्दती खाताको ब्याजदर घटाएका हुन् । २७ वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा अधिकांशको ब्याजदर घटेको छ ।  

नेपाल राष्ट्र बैंकले महिना सुरु हुनुअघि नै सो महिनामा लागू हुने ब्याजदर सार्वजनिक गर्नुपर्ने नियम ल्याएसँगै पुस महिनाका लागि बैंकहरुले बचत खातामा साढे एक प्रतिशत देखि साढे ६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । एकवर्षे मुद्दती खाता ५ प्रतिशतदेखि ८.२५ प्रतिशतसम्म तोकिएको छ ।

अर्थशास्त्रको सिद्धान्त मान्यताअनुसार मूल्य वृद्धिभन्दा बैंकको ब्याजदर केही बढी अर्थात नभएपनि बराबर हुनुपर्ने हो । नेपाल राष्ट्र बैंकको असोज महिनासम्मको तथ्यांक अनुसार मूल्य वृद्धि ३.३९ प्रतिशत छ तर बैंकहरूले दिने ब्याज साढे एक प्रतिशतदेखि भएकाले उपभोक्तालाई मह्गी धान्न गाह्रो पर्ने देखिएको छ ।   

बचत खातामा सबैभन्दा कम ब्याजदर दिने बैंक एनआईसी एशिया बैंक र नबिल बैंक रहेका छन् । सबैभन्दा बढी ब्याजदर दिने बैंक भने काठमाडौंले तोकेको छ ।  मुद्दती खातातर्फ भने अधिकांश बैंकको न्यूनतम ब्याजदर दिने स्ट्यान्डर्ड चार्टर्ड बैंक बनेको छ । सबैभन्दा बढी ब्याज दिने सिटिजन्स बैंक बनेको छ ।

बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार १७ वाणिज्य बैंकले बचत खातामा दिँदै आएको ब्याजदर घटाएका छन् । बाँकी १० बैंकमध्ये ९ बैंकको बचत खाताको ब्याजदर स्थिर रहँदा एनएमबि बैंकले मात्रै बचत खाताको ब्याजदर बढाएको छ ।  यसरी मुद्दती निक्षेपमा समेत ब्याजदर घटाउने बैंकको संख्या १६ रहेको छ ।  बाँकी ११ बैंकमध्ये ५ वटा बैंकको ब्याजदर बढेको छ भने ६ वटा बैंकको ब्याजदर भने स्थिर रहेको छ । 

बचत खातामा नेपाल बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक, नेपाल बंगलादेश बैंक, एभरेष्ट बैंक, सनराइज बैंक, सेञ्चुरी कमर्शियल बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक, सिटिजन बैंक, सानिमा बैंक माछापुच्छ्रे बैंक, प्रभु बैंक, एनसीसी बैंक, राष्ट्रिय वाणिज्य बैंक र मेगा बैंक छन् ।

विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्शियल बैंक, एनआईशी एशिया बैंक, ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको ब्याजदर स्थिर रहेको छ । ब्याजदर बढ्ने एकमात्र बैंक एनएमबि बैंक हो । 

मुद्दती खातामा हाल कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन बैंक, प्राइम कमर्शियल बैंक र एनएमबि बैंकको ब्याजदर बढेको छ ।  कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे र एनआईशी एशिया बैंकको ब्याजदर स्थिर रहेको छ । बाँकी बैंकको ब्याजदर भने घटेको छ । 

प्रतिक्रिया दिनुहोस