aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
प्रतिफल

२५ वाणिज्य बैंकको ३९ अर्ब लाभांश घोषणा, १० बैंकले बनाए लगानीकर्तालाई उत्साहित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ पुस २०७७
२५ वाणिज्य बैंकको ३९ अर्ब लाभांश घोषणा, १० बैंकले बनाए लगानीकर्तालाई उत्साहित

काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये हालसम्म २५ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक र सिभिल बैंकबाहेक अरु सबै बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट यो वर्ष शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेका हुन् । त्यसमध्ये केहीले राष्ट्र बैंकबाट स्वीकृति लिएर साधारणसभाबाट समेत यो लाभांशलाई पास गराइसकेका छन् । अधिकांश बैंकहरु भने यो प्रक्रियामै छन् ।

हालसम्म लाभांश घोषणा भएका वाणिज्य बैंकहरुले ३९ अर्ब ४ करोड बराबर लाभांश घोषणा गरेका छन् । यो बैंकहरुको चुक्ता पुँजीको औसत १४.५५ प्रतिशत हो । योमध्ये ११.८१ प्रतिशत बोनस शेयर रहेको छ भने २.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ । ३९ अर्ब ४ करोडको कुल लाभांशमध्ये बोनस शेयरका लागि ३१ अर्ब ६८ करोड ७१ लाख तथा नगद लाभांशका लागि ७ अर्ब ३६ करोड ९ लाख छुट्याइएको छ ।

कुन बैंकको लाभांश कति ?

यो वर्ष सबैभन्दा बढी लाभांश नबिल बैंकले दिएको छ । बैंकले ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । यसमध्ये ३३.५ प्रतिशत बोनस शेयर तथा १.७६ प्रतिशत नगद लाभांश दिने घोषणा गरिएको छ । यो लाभांश अघिल्लो वर्षको तुलनामा १.२६ प्रतिशत विन्दुले बढी हो । अघिल्लो वर्ष बैंकले ३४ प्रतिशत लाभांश दिएको थियो ।

नबिल बैंकले ३५ प्रतिशत भन्दा धेरै लाभांश दिए पनि दोस्रो हुने बैंकले भने योभन्दा निकै कम लाभांश दिएका छन् । हिमालयन बैंक र एनआईसी एशिया बैंकले २०/२० प्रतिशत लाभांश दिने घोषणा गरेका हुन् । एनआईशी एशिया बैंकले १९ प्रतिशत बोनस सेयर तथा १ प्रतिशत नगद लाभांश तथा हिमालयन बैंकले १४ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् । यसमध्ये एनआईसी एशियाको लाभांश साधारणसभाबाट पास समेत भइसकेको छ ।

यी दुई बैंकपछि सबैभन्दा बढी लाभांश दिने चौथो बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक आएको छ । सो बैंकले १८.५ प्रतिशत लाभांश दिएको छ । यो लाभांशमध्ये १३ प्रतिशत बोनस शेयर तथा ५.५ प्रतिशत नगद लाभांश रहेको छ ।

त्यस्तै, एनएमबि बैंकले १६.२ प्रतिशत लाभांश घोषणा गरेकोमा १३ प्रतिशत बोनस शेयर तथा ३.२ प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ ।

नेपाल बैंक, बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंकले समान १६ प्रतिशत लाभांश घोषणा गरेका छन् । त्यसमध्ये ग्लोबल आईएमईले १४ प्रतिशत बोनस र २ प्रतिशत नगद, बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद तथा नेपाल बैंकले १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका हुन् । यसमध्ये बैंक अफ काठमाण्डूको लाभांश वितरण भइसकेको छ ।

त्यस्तै, कृषि विकास बैंक १५.७८९५ प्रतिशत लाभांश सहित लाभांशको नवौं सूचीमा रहेको छ । बैंकले १५ प्रतिशत बोनस शेयर र यसमा लाग्ने करका लागि नगद लाभांश दिने प्रस्ताव गरेको हो । प्राइम कमर्शियल बैंकसिद्धार्थ बैंकले समान १५/१५ प्रतिशत लाभांश दिने निर्णय गरेकोमा प्राइमको १५ प्रतिशत नै बोनस शेयर र सिद्धार्थ बैंकको १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ ।

अघिल्लो वर्ष लाभांशमा निकै तल रहेको कुमारी बैंक यो वर्ष निकै माथि उक्लिएको छ । कुमारी बैंकले यो वर्ष १४ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा १०.८५ प्रतिशत बोनस र बाँकी ३.१५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । प्रस्तावित लाभांश अघिल्लो वर्षको भन्दा बढी हो ।
सानिमा बैंक यो वर्ष धेरै लाभांश दिने बैंकको सूचीको १३ औं नम्बरमा परेको छ । यो बैंकले यो वर्ष १० प्रतिशत बोनस र बाँकी ३.६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

त्यस्तै मेगा बैंकले १० प्रतिशत नगद लाभांश र ३.०५ प्रतिशत नगदसहित १३.०५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत नगद लाभांश र ४.८४ प्रतिशत नगदसहित ११.८४ प्रतिशत, लक्ष्मी बैंकले ९.५ प्रतिशत नगद लाभांश र २ प्रतिशत नगदसहित ११.५ प्रतिशत तथा सिटिजन्स बैंकले ८ प्रतिशत नगद लाभांश र ३ प्रतिशत नगदसहित ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् । यीमध्ये मेगा बैंकको लाभांश अघिल्लो वर्षको भन्दा बढी हो भने अरु बैंकको लाभांश अघिल्लो वर्षभन्दा कम हो ।

त्यसबाहेक एनसीसी बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र माछापुच्छ्रे बैंककमे लाभांश पनि दोहोरो अंकमै छ । एनसीसी बैंकले १०.२६९५ प्रतिशत बोनस शेयर र ०.५४०५ प्रतिशत नगदसहित १०.८१ प्रतिशत, एभरेष्ट बैंकले ५ प्रतिशत बोनस शेयर र ५.५ प्रतिशत नगदसहित १०.५ प्रतिशत, प्रभु बैंकले १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगदसहित १०.५२६३ प्रतिशत तथा माछापुच्छ्रे बैंकले ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगदसहित १०.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माछापुच्छ्रे बैंकले यसअघि अग्रिम लाभांश दिएको कारणले यो वर्ष लाभांश कम देखिएको हो ।

हालसम्म घोषणा गरेकामध्ये नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक र सेञ्चुरी बैंकको लाभांश भने एकल अंकमा सीमित रहेको छ । एसबीआई बैंकले ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगदसहित ९.४७ प्रतिशत, नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगदसहित ८.४२ प्रतिशत, सनराइज बैंकले ५.८ प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगदसहित ८.२८ प्रतिशत तथा सेञ्चुरी कमर्शियल बैंकले ५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगदसहित ७.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेका छन् ।

कुन बैंकले शेयरधनीलाई बनायो उत्साहित ?

लाभांश घोषणापछिको दोस्रो बजारको मनोविज्ञानलाई नियाल्दा हिमालयन बैंक, एनआईशी एशिया बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल, बैंक कुमारी बैंक तथा मेगा बैंकका शेयरधनीहरु उत्साहित रहेको पाइएको छ । लाभांश घोषणापछि खुलेको शेयर बजारमा वृद्धि देखिएको थियो भने बिक्री भन्दा खरिदको चाप बढी देखिन्थ्यो । नबिल बैंकको लाभांशको बजार प्रतिक्रिया आउन बाँकी रहे पनि यो लाभांशप्रति पनि लगानीकर्ताहरु उत्साहित हुने सम्भावना छ ।

यसबाहेकका बैंकहरुदेखि भने लगानीकर्ता निराश देखिएका छन् । सबैभन्दा बढी निराश स्ट्यान्डर्ड चार्टर्ड बैंक तथा एभरेष्ट बैंकदेखि भएका छन् । त्यस्तै, प्रभु बैंक, नेपाल एसबीआई बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक लगायतका बैंकको लाभांशदेखि पनि लगानीकर्ताहरु सन्तुष्ट छैनन् । नेपाल बैंकको लाभांश अपेक्षित नै भए पनि बोनस शेयर कम हुँदा लगानीकर्ता त्यति उत्साहित देखिएनन् ।

प्रतिक्रिया दिनुहोस