aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 
पुँजी वृद्धि

६ बैंकको चुक्ता पुँजी यसै वर्ष १० अर्ब नाघ्यो, पुँजी वृद्धिमा कुन बैंक कति उदार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० पुस २०७७
६ बैंकको चुक्ता पुँजी यसै वर्ष १० अर्ब नाघ्यो,  पुँजी वृद्धिमा कुन बैंक कति उदार ?

काठमाडौं । न्युनतम ८ अर्ब चुक्ता पुँजी हुनुपर्ने नेपाल राष्ट्र बैंकले दिएको लक्ष्य पूरा भएपछि बैंकहरुको पुँजी वृद्धिमा ‘सन्नटा’ आउने धेरैको विश्लेषण थियो । पुँजी वृद्धिको लक्ष्य पूरा भएपछि बैंकहरुले दिने प्रतिफल नगदमा मात्रै सीमित हुने र यसले लगानीको चक्रीय प्रतिफल आउने सम्भावना कम रहेको धेरैको आकलन थियो । तर, बैंकहरुले पुँजी वृद्धिको कार्यलाई धमाधम अघि बढाएका छन् । 

यो आर्थिक वर्षको लाभांश घोषणापछि १५ वटा वाणिज्य बैंकहरुको चुक्ता पुँजी १० अर्ब नाघिसकेको छ । लाभांश घोषणा गर्न बाँकी रहेको राष्ट्रिय वाणिज्य बैंकको पुँजी पनि सोभन्दा माथि पुग्नसक्ने सम्भावना कायमै छ । बाँकी ११ बैंकमध्ये ९ बैंकको चुक्ता पुँजी ९ अर्बको श्रेणीमा छन् भने बाँकी ४ वटा बैंकको चुक्ता पुँजी ८ अर्बकै श्रेणीमा छन् ।

चालु आर्थिक वर्षको बोनस शेयरपछि ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड पुगेको छ । यो २० अर्बभन्दा बढी चुक्तापुँजी भएको हालसम्मकै एकमात्र बैंक समेत हो । त्यस्तै, एनएमबि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र प्राइम कमर्शियल बैंकको चुक्ता पुँजी १६ अर्ब भन्दा माथि पुगेको छ । 

त्यस्तै, मेगा बैंकको १४ अर्ब ४५ करोड, कुमारी बैंकको १३ अर्ब ८७ करोड, नबिल बैंकको १३ अर्ब ४८ करोड तथा नेपाल बैंकको १२ अर्ब ६३ करोड रुपैयाँ चुक्ता पुँजी पुगेको छ । एनआईशी एशिया र प्रभु बैंकको पुँजी पनि ११ अर्बभन्दा माथि पुगेको छ । एनआईशी एशियाको ११ अर्ब ५६ करोड र प्रभु बैंकको ११ अर्ब ३४ करोड चुक्ता पुँजी रहेको छ । यसबाहेक १० अर्ब पुँजी पुग्नेहरुमा सिद्धार्थ बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, कृषि विकास बैंक र एनसीसी बैंक रहेका छन् । 

१० अर्बभन्दा कमका १२ बैंक

सिटिजन्स बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, नेपाल एसबीआई बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक र राष्ट्रिय वाणिज्य बैंकको चुक्ता पुँजी अहिले ९ अर्बको श्रेणीमा छ । राष्ट्रिय वाणिज्य बैंकले लाभांश घोषणा गरेपछि यो पुँजी बढ्नेछ । १० अर्ब पुँजी कम्तीमा पनि ११.११ प्रतिशत बोनस शेयर घोषणा गर्नुपर्नेछ । 

त्यस्तै, एभरेष्ट बैंक, सेञ्चुरी कमर्शियल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सिभिल बैंकको चुक्ता पुँजी भने अझै ८ अर्बकै श्रेणीमा छ । सिभिल बैंकको लाभांश घोषणा गर्न बाँकी रहे पनि हाल ८ अर्ब मात्रै पुँजी भएकोले यस बैंकको पुँजी यही श्रेणीमा रहने निश्चित छ । 

पुँजी वृद्धिमा अनुदार बैंकहरु

यो वर्ष एभरेष्ट बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक पुँजी वृद्धिमा अनुदार देखिएका छन् । उच्च लाभांश क्षमता हुँदाहुँदै कम लाभांश घोषणा गरेको र घोषित लाभांशमा पनि बोनस शेयरको मात्रा निकै कम भएका कारण यी बैंकहरु पुँजी वृद्धिमा पछि परेका हुन् । विदेशी लगानी भएका यी बैंकहरुले विदेशी साझेदारहरुको नगद लाभांश लिने जोडबलका कारण अनुदार बन्न बाध्य भएका हुन् ।

गत आर्थिक वर्षको लेखापरीक्षण नगरिएको विवरणमा २० प्रतिशतको हाराहारीमा लाभांश क्षमता देखाएका दुवै बैंकले लाभांश वितरणमा उदारता देखाएनन् । स्ट्यान्डर्ड चार्टर्डले ११.८४ प्रतिशत र एभरेष्ट बैंकले १०.५३ प्रतिशत मात्रै लाभांश दिने घोषणा गरेका छन् । यसमध्ये बोनस शेयरको हिस्सा क्रमशः ७ प्रतिशत र ५ प्रतिशत मात्रै छ । 

सिभिल र सेञ्चुरी बैंकको पुँजी पनि कम भए पनि यी बैंकहरुको लाभांश क्षमता नै कमजोर भएका कारण पछि परेका हुन् । यो वर्ष अधिकतम ३३.५ प्रतिशतदेखि न्यूनतम ५ प्रतिशतसम्म बोनस शेयर प्र्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस