
काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशी मुद्रा सटहीको सुविधा उपलब्ध गराउने भएको छ । अब वाणिज्य बैंकहरूले अनलाइनमार्फत विदेशबाट सेवा आयात वापतको भुक्तानी गर्ने प्रयोजनका लागि अमेरिकी डलर ५ सय वा सो बराबरको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउनेछन् ।
वाणिज्य बैंकहरुले कार्ड जारी गर्नेे दिनको विनिमयदरका आधारमा ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर ५ सय रुपैयाँसम्मको कार्ड जारी गर्न सक्नेछन् । त्यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरिदगर्दा लाग्ने कर अग्रिम रुपमा कट्टा गनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
प्रयोगकर्ताले यस्तो सुविधा एक वर्षमा एकपटक वा पटक पटक गरेर बढीमा अमेरिकी डलर ५ सय रुपैयाँ बराबरको विदेशी मुद्रा उपभोग गर्न पाउनेछन् । प्रयोगकर्ताले नेपालको कानुनले प्रतिबन्ध नलगाएका विदेशी सेवा नेपालमा बसी अनलाइन मार्फत खरिद गर्न सक्नेछन् ।
विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैंक खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कार्ड जारी गर्दा प्रयोगकर्ताको केवाईसी अद्यावधिक गरी प्यान नम्बर लिनुपर्नेछ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत केन्द्रीय बैंकले अनलाइन मार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस