aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

एनआईसी एशिया बैंकले थाल्यो वीच्याट–पे भुक्तानी सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ पुस २०७७
एनआईसी एशिया बैंकले थाल्यो वीच्याट–पे भुक्तानी सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गरिनेछ । 

उक्त सेवाका लागि फष्ट पे टेक्नोलोजी प्रालि र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र फष्ट पेका तर्फबाट निर्देशक विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट म्याजिक टाङले हस्ताक्षर गरेका हुन् ।  

यस सम्झौतापश्चात् वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरूले यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका क्यूआर कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले वीच्याट–पेबाट भुक्तानी प्राप्त गर्न चाहनुहुने मर्चेन्टहरूका लागि बैंकको वेबसाइट एनआईसी एसिया डटकम मार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ । 

‘डिजिटल फष्ट बैंक’ बन्ने आफ्नो दीर्घकालीन रणनीतिलाई हासिल गर्नका लागि यस बैंकले ग्राहक हरूमाझ सहज एवं सबल बैंकिङ्ग सुविधाको लागि हालसम्म देशभर १५ हजार भन्दा बढी क्यूआर मर्चेन्टहरू खडा गरिसकेको छ । देशभर यसरी सञ्जाल बिच्छाउन सफल भएपश्चात् वीच्याट–पेलाई आफ्नो भुक्तानी प्रणालीमा ल्याउनुले नेपालको डिजिटल भुक्तानीको इतिहासमा नयाँ मानक थप्ने बैंकले विश्वास लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस