
काठमाडौं । चालु आर्थिक वर्षको पुस १० गतेसम्म वाणिज्य बैंकहरूले २ खर्ब ७३ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ६७ अर्ब कर्जा प्रवाह गरेका छन् । साउन र भदौ महिनामा खासै बढ्न नसकेको बैंकहरूको निक्षेप तथा कर्जा संकलन असोजदेखि दुबै बढ्न थालेको छ ।
गत एक सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी १७ अर्ब रुपैयाँ बढेको छ भने १२ अर्बले बढेको छ । पुस तीन गतेदेखि १० गतेसम्म वािणज्य बैंकहरूले ३१ खर्ब ४० अर्ब कर्जा प्रवाह गरेका छन् भने ३७ खर्ब २९ अर्ब निक्षेप संकलन गरेका छन् ।
मंसिर महिनभरी ५१ अर्बले कर्जा बढेको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ । सो अवधिमा ४७ अर्बले निक्षेप संकलन भएको छ । कोभिडका कारण हुन नसकेको लगानी अहिले बढ्न थालेको हो ।
कोभिडकै बीच लगानीको माग गत आवको ५ महिनाको तुलनामा २० प्रतिशतले बढेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिएका छन् ।
बैंकहरूको बढ्दो कर्जा प्रवाहले विस्तारै लगानीका क्षेत्रबाट डिमाण्ड आउन थालेको बुझिएको छ । कोभिड–१९ को प्रभाव कम हुँदै जाँदा र धेरैजसो आर्थिक क्षेत्रहरू खुला हुँदै जाँदा कर्जाको मागमा वृद्धि भएको बैंकरहरूले बताएका छन् ।
पछिल्लो समय बढेको लगानी विशेष गरी घर–जग्गा खरिदमा बढेको हो । राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको कर्जा लगानी प्रवृत्तिले पनि यस्तै देखाएको छ । असार यता कात्तिकमा जग्गा खरिद र प्लटिङका लागि भएको कर्जा लगानी ७ प्रतिशतले बढेको छ । असारमा यस्तो कर्जा २२ खर्ब ४ अर्ब रहेकोमा कात्तिकमा २३ खर्ब ७५ अर्ब पुगेको हो ।
घर जग्गाको क्षेत्रमा कुल लगानी सामान्य बढेको र जग्गा खरिद तथा प्लटिङका लागि कर्जा प्रवाह बढेको छ भने व्यक्तिगत आवासीय घर निमार्णका लागि जाने कर्जा भने १.५ प्रतिशतले घटेको छ ।
कात्तिक लागेसँगै बैंकहरूले स्थिर ब्याजमा व्यक्तिगत आवधिक कर्जा जारी गर्न थालेका छन् । समग्रमा आवधिक कर्जा असारको तुलनामा कात्तिकमा करिब ६ प्रतिशतले बढेर ७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । संस्थागतबाहेकको आवधिक कर्जा १० प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ ।
राष्ट्र बैंकले कोभिडका कारण व्यवसायीहरूले माग गरेको वर्किङ क्यापिटल लोन (चालू पुँजी कर्जा) २० प्रतिशतसम्म वृद्धि गर्न सकिने व्यवस्था गरेको थियो । असारदेखि कात्तिकसम्ममा यस्तो माग तथा चालू पुँजी कर्जा ७ दशमलव ६ प्रतिशतले बढेर ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । असारपछि निक्षेप भने २ खर्ब ४२ अर्बले बढेर ३७ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकहरूबाट हुने कर्जाको रेसियो बढ्दै गएपनि अझै बैंकहरूसँग डेढ खर्ब लगानी योग्य पुँजी रहेको छ ।
प्रतिक्रिया दिनुहोस