
काठमाडौं । पछिल्लो ५ वर्षमा बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप संकलन र कर्जा प्रवाह करिब दोब्बर बनाएका छन् । य२०७३ कार्तिकदेखि २०७७ कार्तिकसम्म बैंक तथा वित्तीय क्षेत्रको ९१ प्रतिशतभन्दा बढीले कर्जा प्रवाह गरेका छन् भने ८८.९३ प्रतिशतभन्दा बढीले निक्षेप संकलन भएको छ ।
। बैंक तथा वित्तीय संस्थाले सो आर्थिक वर्ष २०७३ सम्म २१ खर्ब ७९ अर्ब निक्षेप संकलन गरेका थिए । चालु आवको कार्तिकसम्म सो निक्षेप बढेर ४१ खर्ब १७ अर्ब पुगेको छ । त्यस्तै ५ वर्षअघि १८ खर्ब ३ अर्ब रहेको कर्जा प्रवाह बढेर ३४ खर्ब ४५ अर्ब पुगेको छ ।
गत आर्थिक वर्षको पहिलो ५ महिना तुलनामा यस आवको कार्तिकसम्म निक्षेप २० (१९.५०) प्रतिशतले बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । गत आवको कार्तिकदेखि यस वर्षको कार्तिकसम्म आइपुगर्दा कर्जा भने १२.७२ प्रतिशतलेमात्रै बढेको छ ।
निक्षेपको तुलनामा कर्जा बढ्न सकेको देखिदैन । त्यसैले गत आर्थिक वर्ष लगानी कढी हुने बेलामा भित्रिएको कोरोनाले करिब ४ महिनासम्म उद्योग व्यवसाय ठप्प हुँदा लगानी बढ्न नसकेको हो ।
क्रेडिट क्रन्चको अवस्थामा बचतकर्ता र बैंक दुबै मालामाल
त्यस्तै २०७४ कार्तिकदेखि २०७५ कार्तिकसम्म १८.८३ प्रतिशतले निक्षेप बढेको देखिएको छ भने सोही अवधिमा कर्जा प्रवाह २४.६४ प्रतिशतले बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढी गरेकाले त्यति बेला बित्तीय क्षेत्रमा लगानी योग्य पुँजी (क्रेडिट क्रन्च) को चरम अभाव थियो । निक्षेप र कर्जाको ब्याज उच्च थियो । साना लगानी कर्ताले कर्जा पाएपनि ठूला लगानीकर्ताले भने कहिले बैंकले ऋण दिन्छन् भनेर कुर्नुपर्ने अवस्था थियो ।
ऋण लिनकै लागि बैंक तथा वित्तीय संस्थामा पहुँच चाहिन्थ्यो र पनि उनीहरूले भनेको समयमा कर्जा दिन सकिरहेको अवस्था थिएन । उद्यमी व्यवसायीहरूले १८÷१९ प्रतिशतसम्म कर्जाको चर्कोे ब्याज तिर्नुपर्ने अवस्था थियो भने बचतकर्ताले पनि राम्रो ब्याज पाएका थिए ।
तर, अहिले समय परिवर्तन भएको छ । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ । प्रर्याप्त कर्जा प्रवाह हुन सकेको छैन । कोभिडका कारणले थलिएको अर्थतन्त्र केही सकारात्मक बन्दै गएपछि कर्जाको माग बढ्न थालेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आवको साउनदेखि मंसिरसम्म ५ महिनाको अवधिमा कर्जाको माग २० प्रतिशतले बढेको बताएका छन् ।
तर, अहिले कर्जाको माग बढेपनि ऋणीले बढी ब्याज तिर्नु नपर्ने अवस्था आएको छ । उनीहरूले अधितम १२÷१३ प्रतिशतसम्म सकजै कर्जा पाउने अवस्था आएको छ । यहि अवस्था रहि रह्यो भने सस्तो ब्याजले उत्पादन खर्च कम हुन गई उत्पादित मालवस्तुहरू सस्तोमा पाउने अपेक्षा राख्न सकिने अवस्था आएको छ ।
सस्तो ब्याजले बचतकर्ता मारमा
यति बेला ऋणी लाभान्वित भएपनि बचतकर्ता भने केही मारमा परेका छन् । बैंकमा पैसा राखेर ब्याजबाट आफ्नो गुजारा चलाउनेलाई केही अप्ठ्यारो परेको छ । उनीहरू अहिले बढी ब्याज कहाँ पाइन्छ भनेर चाहर्न थालेका छन् । कम ब्याजको मारमा परेका उपभोक्ता पछिल्लो समय सहकारीतिर मोडिन थालेका छन् भने कतिपय बचतकर्ता मिटर ब्याजमा पैसा लगाउन खोजिरहेका पनि पाइएको छ ।
यसरी लगानीकर्ता भौतारिरहने हो भने कतै उनीहरू ठगिने त होइनन् भन्ने डर पैदा भएको छ । पछिल्लो समय कर्जाको माग बढ्न थालेपछि बजारमा केही सकारात्मक सन्देशहरू जान थालेका छन् । बचतकर्ता र ऋणी र बैंकलाई समेत केही राहत दिने आशा गर्न सकिन्छ ।
आशा पलाउँदै वित्तीय क्षेत्र
कोभिडले थलिएको अर्थतन्त्रलाई उकास्न तथा आर्थिक गतिविधिलाई चलायमान गराउन सरकारले बन्द रहेका लगानीका क्षेत्रहरू खोल्दै गएपछि वित्तीय क्षेत्र थप आशावादी बनेको छ । अधिक तरलताको मारले थिचिएका वित्तीय क्षेत्रमा पछिल्लो समय बढ्दै गएको लगानीका कारण उनीहरू आशावादी बन्दै गएको हुन् ।
हुन त यस अघि नै बैकर्सहरूले कार्तिकपछि कर्जाको माग बढ्ने आकलन गरेका थिए । त्यसैले पनि उनीहरूले लागनी योग्य पुँजी जोह गर्न थाले र अधिक तरलता देखियो । भदौ÷असोजमा बैंकिङ च्यानलमा रहेका करिब चार सय अर्ब लगानी गर्न सकिने पुँजी थियो । तर, अहिले सो तरलता घट्दै गएको छ । अर्थतन्त्रमा गतिविधिहरू बढ्न थालेपछि कर्जाको माग पनि बढ्दै गएको छ ।
कर्जाको माग बढ्दै गएपछि निक्षेपको समेत ब्याज बढ्ने र बैंकिङ क्षेत्रले एथेष्ठ आम्दानी गर्न सक्ने देखिएका छ ।
प्रतिक्रिया दिनुहोस