
काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइसीएफसी फाइनान्सको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीले प्रस्ताव गरेको १० दशमलव ५० प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको छ ।
कम्पनीको गत बिहीवार कायम अन्तिम मूल्य २९० रुपैयाँको आधारमा मूल्य समायोजन गरी नेप्सेले २६२ रुपैयाँ मूल्य कायम गरेको हो । यस कम्पनीले बोनस सहित यो वर्ष कर प्रयोजन समेत गरी ४ दशमलव ५० प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्न पुस २९ गते १७ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि पुस १९ गते कम्पनीले बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा नेप्सेले बोनसपछिको मूल्य तोकिदिएको हो ।
बुक क्लोजभन्दा अघिल्लो कारोबार दिन पुस १६ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन योग्य भएका छन् । हाल कम्पनीको चुक्तापूँजी ९२ करोड ६५ लाख २ हजार रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट १३ करोड ८९ लाख ७५ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस