
काठमाडौं । बैंकहरुले पछिल्लो समय दैनिक साढे दुई अर्ब रुपैयाँभन्दा धेरै कर्जा लगानी गर्न थालेका छन् । पुस महिनामा वाणिज्य बैंकहरूले कर्जा लगानी बढाएर दैनिक २ अर्ब ५३ करोड रुपैयाँ पुर्याएका हुन् । पुस ३ गतेबाट पुस १७ गतेसम्म बैंकहरूले ३८ अर्ब लगानी गरेका छन् ।
ब्याज दर घटेपछि राष्ट्र बैंकबाट निर्देशित अनिवार्य रूपमा दिनुपर्ने ऋणका कारण लगानी बढेको हो । व्यक्तिगत कर्जामा प्रवाह बढी भएको छ । अहिले आवासीय घर र गाडीका कर्जा गएको हो । कृषि क्षेत्रमा पनि बैंकहरुले लगानी बढाएका छन् ।
अहिले बैंकहरुले आधार दर हाराहारीमा ऋण लगानी गरिरहेका छन् । उपभोक्ता ऋणको ब्याज पनि आधार दरभन्दा धेरै माथि छैन । राष्ट्र बैंकले स्थिर ब्याज गरिदिएपछि घरजग्गा किन्नेहरु बढ्न थालेका छन् । त्यही कारण पनि अहिले ऋणको माग बढेको छ ।
नेपाल बैकर्स संघको तथ्यांकअनुसार पुस ३ गते ३१ खर्ब २३ अर्ब कर्जा लगानी भएकोमा अहिले बढेर ३१ खर्ब ६१ अर्ब पुगेको छ । पुस १० देखि १७ गतेसम्म बैकहरूले २१ अर्ब कर्जा प्रवाह गरेका छन् । अहिले बढेको कर्जा प्रवाह गत आवको भन्दा बढी हो ।
कर्जा जस्तै समीक्षा अवधिमा निक्षेप पनि दैनिक सोही अनुपातमा बढेको देखिएको छ । संघको तथ्यांकअनुसार बैकहरूले पुस ३ गतेदेखि १७ गतेसम्म ३९ अर्ब निक्षेप संकलन गरेका छन् । पुस १७ गतेसम्ममा बैंकहरुले ३१ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । लकडाउन पछि अर्थतन्त्र चलाएमान हुन थालेसँगै बैंकहरुको कर्जा लगानी पनि बढ्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस