aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

घटाउनु पर्ने मागबीच अझै बढ्यो बैंकका सीईओको तलब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २१ पुस २०७७
घटाउनु पर्ने मागबीच अझै बढ्यो बैंकका सीईओको तलब

काठमाडौं । वाणिज्य बैंकका सीईओहरूको तलब बढी भएको भन्दै अघिल्लो वर्ष संसदीय समितिमा निकै चर्चा भयो ।  यसवारे संसद्को अर्थ समितिले राष्ट्र बैंकका पदाधिकारी एवम् बैंकर्स संघका प्रतिनिधिसँग छलफल समेत गर्यो । यो वर्ष कोरोना महामारीका कारण अन्य क्षेत्रको आम्दानी समेत व्यापक रुपमा कमी आएको छ । तर, अपवाद बाहेक बैंकका सीईओहरूको तलब भने यो वर्ष पनि उच्च रुपमा बढेको छ ।

वित्तीय विवरण सार्वजनिक गरेका ११ वटामध्ये तीन वटा बैंकले सीईओको तलब घटाएका छन् भने अन्य बैंकले सीईओको बबढाएका छन् । 
गत आवको वित्तीय विवरण सार्वजनिक गरेको नबिल बैंक, एनआईशी एशिया बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, नेपाल एसबीआई बैंक, सनराइज बंैक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, बैंक अफ काठमाण्डू, नेपाल बंगलादेश बैंक र एभरेष्ट बैैंकले आफ्नो वार्षिक विवरण प्रकाशन गरेका छन् । 
आर्थिक वर्ष २०७६÷७७ को बैंकहरूले प्रकाशित गरेको वार्षिक प्रतिवेदन अनुसार हाल विवरण प्रकाशित गरेका बैंकहरूमध्ये बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तको तलव तथा भक्ता सबैभन्दा बढी देखिएको छ ।  

उक्त विवरणका बैैकहरुले आफ्ना सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकीय तहका कर्मचारीलाई अघिल्लो वर्ष दिएको तलव तथा अन्य सुविधा उल्लेख गरेका छन् । ९ बैंकका कार्यकारी प्रमुखले गत वर्ष १७ करोड ८३ लाख रुपैयाँ बराबरको तलब तथा अन्य सुविधाहरु बुझेका छन् । त्यसमध्ये यो वर्ष ३ बैंकको सुविधा घटेको छ भने ६बैंकको सुविधा बढेको छ । 

गत वर्ष सबैभन्दा धेरै तलब सुविधा बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तलाई पाएका छन् । उनले गत वर्षमा २ करोड ८१ लाख रुपैंया बुझेका छन् । यो अघिल्लो वर्षको सुविधाको तुलनामा करिब २०.८९ प्रतिशत बढी हो । अघिल्लो वर्ष उनले २ करोड ३२ लाख रुपैंया पाएका थिए ।

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले गतवर्ष तलव तथा भत्ता स्वरुप २ करोड ५० लाख रुपैयाँ बुझेका छन् । उनले पाएको यो तलब र सुविधा अघिल्लो वर्षको तुलनामा करिब १७.२७ प्रतिशत बढी हो । अघिल्लो वर्ष न्यौपानेले २ करोड १३ लाख रुपैंया पाएका थिए । 

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले गत वर्ष २ करोड ३८ लाख रुपैयाँ बराबरको तलब र सुविधा लिएका छन् । उक्त तलब तथा भत्ता अघिल्लो वर्ष उनले पाएको रकम भन्दा ११.०३ प्रतिशत बढी हो । अघिल्लो वर्ष उनले २ करोड १४ लाख रुपैंया पाएका थिए ।
माछापुच्छ्रे बैंकले अघिल्लो वर्ष प्रमुख कार्यकारी अधिकृतका लागि २ करोड १३ लाख रुपैयाँ खर्च गरेको छ । गत वर्ष बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि १ करोड १८ लाख मात्रै खर्च गरेको हो ।

बैंकले दिएको उक्त तलवभत्ता यसअघिका सीईओ सुमन शर्मा तथा वहालवाला सीईओ सन्तोष कोइरालासममको हो । कोइरालाले गत आवको वैशाख १ गतेदेखि  पूर्णकालीन सीईओको जिम्मेवारी  सम्हालेका हुन् । गत आवमा तलव तथा भत्ता घटेका नबिल बैंकका सीईओ अनिलकेशरी शाहले बैंकबाट १ करोड ६२ लाख रुपैयाँ मात्रै बुझेका छन् । उनले बुझेको तलब तथा भत्ता अघिल्लो वर्षको भन्दा १८.०७ प्रतिशत कम हो । अघिल्लो वर्ष शाहले बैंकबाट १ करोड ९८ लाख रुपैयाँ तलब तथा भत्ता वापत बुझेका थिए । 

सानिमा बैंकका सीईओ भुवन दाहालले गत आर्थिक वर्षमा बैंकबाट १ करोड ४६ लाख रुपैयाँ मात्रै पाएका छन् । अघिल्लो वर्ष उनको यस्तो आम्दानी २ करोड ८ लाख रुपैयाँ थियो । गत आवमा दाहालको आम्दानी करिब ३० प्रतिशतले घटेको छ । सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनकराज शर्मा पौड्यालले गत वर्ष बैंकबाट १ करोड ३१ लाख रुपैंया बुझेका छन् । यो सुविधा अघिल्लो वर्षको भन्दा करिब ६ प्रतिशतले बढी हो । २०७६ वैशाखमा रत्नराज बज्राचार्यको कार्यकाल सकिएपछि पौड्याल सोही वर्षको साउनदेखि सो बैंकको कार्यकारी प्रमुखको जिम्मेवारीमा छन् ।

हालसम्म विवरण प्रकाशन गरेकामध्ये सबैभन्दा कम तलब सुविधा सिटिजन्स बैंकका सीईओ गणेश पोखरेलले पाएका छन् । उनले बैंक एक वर्षमा १ करोड ३१ लाख रुपैयाँ बुझेका छन् । बैंकले प्रमुख कार्यकारी अधिकृतका लागि १ करोड ७९ लाख रुपैंया खर्चेको थियो । यो रकम तत्कालिन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारी र पोखरेलले संयुक्त रुपमा बुझेको रकम हो ।  

नेपाल बंगलादेश बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले १ करोड ४१ लाख तलब बुझेका छन् । यसमा भत्ता तथा अन्य सुविधा जोडिएको छैन । एभरेष्ट बैंकले सीईओलाई दिएको भुक्तानी उल्लेख गरेको छैन । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षमा आफ्नो कार्यकारी प्रमुखलाई १ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । यो तलब बाहेकको रकम हो । बैंकका प्रमुख कार्यकारी अधिकृतलाई भारतको स्टेट बैंक अफ इण्डियाले तलब दिने गरेको छ । यस अघि प्रमुख कार्यकारी अधिकृत रहेका अनुकूल भटनाकरले  यो सुविधा लिएका हुन् । अहिले भने बैंकमा नयाँ सीईओ नियुक्त भइसकेका छन् । 

यसरी तलब बढ्नुको कारण भने अर्कै छ । बैंकका सीईओहरूले आफ्नो नियुक्ति हुँदा नै आफ्नो कार्यकालभरको तलब भत्ताबारे अग्रिम रुपमा सम्झौता गरेका हुन्छन् । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगड भन्छन् ‘सीईओको तलब सम्झौता अनुसार बढेको हो । हामीले तलब बढाएका होइनौ । यो उहाँको नियुक्तिकै क्रममा निर्धारण भएको हुन्छ ।’

प्रतिक्रिया दिनुहोस