काठमाडौं । पछिल्लो समय शेयर र घरजग्गामा लगानीकर्ता आकर्षित भएका छन् । शेयर बजारले गति लिन थालेसँगै आम लगानीकर्ता शेयर कर्जा लिएर लगानी गरिरहेका छन् । कोभिड महामारीकैबीच घरजग्गा कारोबार पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूले मंसिर महिनामामात्रै ६ अर्ब ५४ करोड रुपैयाँ गरेका छन् भने घरजग्गामा ३ अर्ब ६४ करोडभन्दा बढी लगानी गरेको राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांकमा उल्लेख गरिएको छ ।
लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट दैनिक करिब २२ करोड रूपैयाँ शेयर धितोमा कर्जा लिइरहेका छन् भने घरजग्गामा देनिक १२ करोडभन्दा बढी लगानी गरिरहेका छन । यो लगानी वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले गरेका हुन् ।
कार्तिक अन्तिमसम्ममा ६१ अर्ब ३१ करोड रहेको शेयर धितो कर्जा (मार्जिन कर्जा ) लगानी मंसिर अन्तिम सम्ममा बढेर ६७ अर्ब ८५ करोड शेयर धितो कर्जा पुगेको छ । मंसिरसम्म घरजग्गामा बैंक तथा वित्तीय संस्थाले एक खर्ब ६७ अर्ब ५५ करोड लगानी गरेका छन् भने शेयर धितोकर्जामा ६७ अर्ब ८५ करोड लगानी भएको छ ।
बैंकको ब्याज घटेसँगै बैंकबाट कर्जा लिएर लगानी गर्नेहरू बढेका छन् । बैंकमा तिर्नुपर्ने ब्याज भन्दा शेयर बजारबाट बढी आम्दानी हुने भएकोले लगानीकर्ताहरूले कर्जा लिएर लगानी गर्न थालेका हुन् । चालु आर्थिक वर्षमा शेयर बजार लगातार बढ्दो क्रममा छ । नेप्सेले दैनिक नयाँ रेकर्ड बनाउदै २२०० को विन्दुमा पुगिसकेको छ ।
शेयर बजार बढ्दै जाँदा बैंकबाट कर्जा लिएर लगानी गर्नेहरु पनि बढेका छन् । विगतका वर्षहरूमा पनि ब्याजदर सस्तो भएका बेला मार्जिन कर्जा लिने यसरी नै बढ्ने गरेका थिए । यस वर्ष पनि बैंक तथा वित्तीय संस्थाले मार्जिन कर्जामा ह्वातै लगानी बढाएका छन् ।
मंसिरमा शेयर कर्जा बढ्नुको प्रमुख कारण लगानीकर्ताको आकर्षण र सस्तो ब्याजदर भएको नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए। ‘पछिल्लो समय शेयर लगानीमा आम लगानीकर्ताको आकर्षण बढेको छ,’ उनले भने ‘पुसमा त्यहि अनुपातमा लगानी नहुन पनि सक्छ ।’ तर घरजग्गामा भएको कारोबार भने सामान्य हो । नेपालभर साढे ३ अर्बभन्दा बढी लागानी हुनु भनेको त्यति ठूलो मानिदैन,’ उनले थपे ।
यसका साथै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन कर्जाको सिमा बढाएर ७० प्रतिशत पुर्याएको छ भने १२० दिनको औसत मूल्यको आधारमा कर्जा दिन सक्ने व्यवस्था गरेको छ ।
अहिले अधिकांश बैंकबाट ८ प्रतिशत ब्याजकै हाराहारीमा शेयर धितो कर्जा पाइन्छ । अहिलेको ब्याजदरमा कर्जा लिएर शेयर बजारमा लगानी गर्दा बैंकको ब्याज तिरेर पनि फाइदा हुने भएकोले लगानीकर्ताको आकर्षण शेयर कर्जामा बढेको हो ।
पछिल्लो समय शेयर कारोबारमा सूचीकृत कम्पनीबाट लगानीकर्ताले १० प्रतिशतभन्दा बढी लाभांश पाइरहेका छन् ।
गत कार्तिक अन्तिम सम्ममा ६१ अर्ब रुपैयाँ मार्जिन कर्जा लगानी गरेका बैंकहरूले मंसिर महिनामा ६ अर्ब भन्दा धेरै मार्जिन कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षको अन्तिमसम्मा ४१ अर्ब रुपैयाँ मात्रै लगानी गरेका बैंकहरूले चालु आर्थिक वर्षमा मात्रै १५ अर्ब रुपैयाँभन्दा धेरैले मार्जिन कर्जा लगानी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस