aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बैंक तथा वित्तीय संस्थाहरूले मंसिरसम्म पौने २७ अर्ब रुपैयाँ नाफा कमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २७ पुस २०७७
बैंक तथा वित्तीय संस्थाहरूले मंसिरसम्म पौने २७ अर्ब रुपैयाँ नाफा कमाए

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ५ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब  ६३ करोड रुपैयाँ नाफा कमाएका छन् । गत कार्तिकसम्म बैंक तथा वत्तीय संस्थाहरूले कुल २० अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेका थिए । बैंक तथा वित्तीय संस्थाले मंंसिरसम्म कमाएको नाफामध्ये २४ अर्ब २६ करोड २७ वटा वाणिज्य बैंकको हो भने २ अर्ब १८ करोड विकास बैंकको नाफा हो । ‘ग’ वर्गका वित्तीय संस्थाले भने चालु आवको मंसिरसम्म १८ करोड रुपैयाँ नाफा कमाएका छन ।  गत कार्तिकसम्म वाणिज्य बैंकको नाफा १८ अर्ब ८२ करोड, विकास बैंकको १ अर्ब ६९ करोड र फाइनान्स कम्पनीले १३ करोड रुपैयाँ नाफा कमाएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ । 

राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले एक महिनाको अवधिमा ६ अर्बभन्दा बढी नाफा गरेका छन् । पछिल्लो समय कर्जा लगानी बढ्दै जाँदा बैंकहरूको नाफा बढ्दै गएको हो । गत आर्थिक वर्षको दोस्रो चौमासपछि कोरोना भाइरस शुरु भएसँगै वित्तीय क्षेत्रले त्यति लगानी गर्न सकेका थिएनन् । र पनि चालु आर्थिक वर्षसँगै खुलेको बजारले अर्थतन्त्रलाई बढव दिँदा कर्जा प्रवाह बढ्न थालेको छ । सोही कारण बैंकहरूले बढी नाफा कमाएका हुन् । 

कोरोना शुरु भएपछि आर्थिक गतिविधि सुस्ताएको थियो । तर, अहिले यो बढ्दो क्रममा छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गत आर्थिक वर्षको मंसिर महिनाको तुलनामा यस आर्थिक वर्षमा २० प्रतिशतले कर्जा बढेको बताएका छन् । 

कोरोनाकै बीच बढेको यो बजारलाई निरन्तरता दिन सके बैंक तथा वित्तीय क्षेत्रमा थुप्रिएर बसेको रकम समेत परिचालन भइ अर्थतन्त्र निर्माणमा टेवा पुग्ने अर्थशास्त्रहरूको भनाइ छ । त्रिभुवन विश्व विद्यालयका केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिभराज अधिकारीले बढ्दो लगानीले अर्थतन्त्र चलायमान बनाउने बताए । ‘बैंकहरूको कर्जा लगानी बढ्दा पुँजीनिर्माणमा सहयोग पुग्छ,’ उनले भने ‘यसले अर्थतन्त्रलाई उकास्छ ।’ 

यद्यपि दिनप्रतिदिन कर्जा लगानी बढ्दै गएपनि अहिले पनि बैंकहरूसँग दुई खर्बभन्दा बढी लागनी योग्य पुँजी रहेको छ । लगानीको वातावरण बन्दै गएकोले कर्जाको माग अझ बढ्ने नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । 

कोरोनाको कारण भएको लकडाउनले बैकिङ क्षेत्रले दिनुपर्ने सेवा दिएपनि कर्जाको माग हुन सकेको थिएन र बैकिङ च्यानलमा पैसा थुप्रिएको थियो । सोही कारण अहिले बैंकहरूको सीसीडी रेसियो तल छ र बैंक तथा वित्तीय संस्थाहरू ऋणी ग्राहकको पखाइमा बसेका छन् । मंसिरमा बैंक तथा वित्तीय संस्थाको औसत सीसीडी रेसियो ७३.४९ प्रतिशत छ । जवकि कुल निक्षेपमको ८५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाइने अवस्था राष्ट्र बैंकले गरेको छ । 

कोभिडका कारण कतिपय ऋणीहरु कर्जा तिर्न सकेका छैनन् । केन्द्रिय बैंकले कर्जालाई अति प्रभावित, मध्यम प्रभावित र न्यून प्रभावित वर्गमा वर्गीकरण गरी कर्जा तिर्ने अवधि थप गरिदिएको थियो । सोहि कारण मंसिरसम्मको तथ्यांकले औसतमा खराब कर्जा १.७३ प्रतिशत रहेको देखाएको छ । 

सो खराब कर्जामध्ये वाणिज्य बैंकको १.६३ प्रतिशत हो भने विकास बैंकको १.६७ प्रतिशत खराब कर्जा रहेको छ । खराब कर्जाको रेसियो फाइनान्स कम्पनीमा बढी देखिएको छ । मंसिरसम्मको अवधिमा फाइनान्स कम्पनीको खराब कर्जा सबैभन्दा बढी ६.२१ प्रतिशत रहेको छ । तथ्यांकअनुसार फाइनान्स कम्पनीले गरेको लगानी बढी जोखिममा देखिएको राष्ट्र बैंकको तथ्यांकले दखाएको हो । 
हाल नेपालमा २७ वटा वाणिज्य बैंक, १९ वटा विकास बैंक र २१ वटा फाइनान्स कम्पनी सञ्चालनमा छन् । 


 

प्रतिक्रिया दिनुहोस