aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

सेवाग्राहीले बैंक खाता नखोल्दा भत्ता वितरणमा समस्या

  • रासस
    रासस
  • सोमबार, २७ पुस २०७७
सेवाग्राहीले बैंक खाता नखोल्दा भत्ता वितरणमा समस्या

हुम्ला । हुम्लाका सातवटै स्थानीय तहले चालु आर्थिक वर्ष २०७७/०७८ को सामाजिक सुरक्षा भत्ता हालसम्म वितरण गर्न सकेका छैनन् । हरेक आवको मङ्सिरमा पहिलो चौमासिक रकम भुक्तानी गर्नुपर्ने प्रावधानरहि आएको छ ।  दोस्रो चौमासिक रकम भुक्तानी गर्ने समयमा पनि भत्ता वितरण नभएपछि यहाँका नागरिकले गुनासो गर्न थालेका छन् ।
    
चालु आवमा कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले नै सामाजिक सुरक्षा भत्ताको रकम निकासा नदिँदा वितरण हुन नसकेको बताइएको छ । ताँजाकोट गाउँपालिका– २ का वडाध्यक्ष अजमल बुढाले भत्ता वितरणमा किन ढिलाई भन्ने आफूलाई जानकारी नभएको बताए ।   
    
सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले आफ्नो गाउँपालिमा  ५४ लाख मात्र आएको र कोलेनिकाले नै निकासा नदिँदा वितरण गर्न नसकिएको बताए ।  
     
कोलेनिका हुम्लाका पूर्व प्रमुख नरेशराज भट्टले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जिल्लाभरी रकम कम पठाएको, चालुआवमा बैंक खातामार्फत सेवाग्राहीलाई रकम वितरण गर्ने परिपत्र भएको र  अहिलेसम्म खाताको विवरण नआएकाले रोकिएको जानकारी दिए । 
  
यस्तै सिमकोट गाउँपालिकाले वडा नम्बर ५ र ६ मा रहेका सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ ।  पहिलो र दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता आगामी फागुनमा एकैपटक वितरण गरिने वडा  नम्बर २ का वडाध्यक्ष नरबहादुर भण्डारीले बताउनुभयो । अधिकांश सेवाग्राहीले बैंकमा खाता सञ्चालन गरेका छैनन् । पहिला घरघरमा पुगेर हातहातमै पाएका नागरिकले यस पटक बैंकमामार्फत वितरण गरिने भएपछि झन्झटिलो भएको उनीहरुको गुनासो छ । 
     
चालु आवमा बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिले आ–आफ्नो भत्ता लिनका लागि अनिवार्य बैंक खाता खोल्नुपर्ने  प्रावधान राखिएको छ ।  हरेक गाउँपालिकाले पटकपटक खाता सञ्चालन गर्ने सूचना प्रकाशन गरे तापनि सेवाग्राहीले भने यसप्रति ध्यान दिएका छैनन् ।  

प्रतिक्रिया दिनुहोस