
बैकिङ क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव हासिल गरेका सेन्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम आफैमा बैंकिङ क्षेत्रका एक खम्बा हुन् । नेपाल बैंकबाट बैकिङ क्षेत्रमा प्रवेश गरेका उनी अहिले विभिन्न बैंक हुँदै सेन्चुरी बैंकमा करिब ३ वर्षदेखि सीईओको भूमिकामा कार्य सम्पादन गरिरहेका छन् । उनै गौतमसँग बैकिङ क्षेत्रमा उठेका सवाल र चुनौतीका विषयमा गरिएको आर्थिक वहसको सम्पादित अंशः
कोरोना कहरमै पहिलो त्रैमासको रिपोर्टमा सार्वजनिक भयो । जुन रिपोर्टमा सबै बैंकहरूको आम्दानी घटेको देखियो छ ?
यसमा मिश्रित कुरा छ । पहिलो कुरा त कर्जाको ब्याजमा दिइएको छुट नै हो । ठूला खालका छुट हुन् । त्यो मैले भन्न पर्दैन । ऋणीहरूलाई बैंकहरूले दिएको छुटहरूका कारणले पनि असर परेको छ । ऋणीहरू चलिरहेका भएपनि वा चल्न नसक्ने भएका भएपनि २ प्रतिशत ब्याज छुट दिनु भनिएको थियो । मैले बुझे अनुसार समग्रमा २ अर्ब त छुट नै भयो ।
सेञ्चुरी बैंकबाट ३० करोड जति छुट भएको छ । यसबाट करिब १५ देखि १६ करोड खुद नाफामा असर पर्यो । अर्को भनेको राष्ट्र बैंकले नै असर परेका क्षेत्रलाई क्षेत्रगत रुपमा छुट्याएको थियो । जसमा बढी, मध्यम खालको असर परेको र कम असर भनेर छुट्याइएको थियो । यसमा पनि पैसा माग्न पनि समय तोकिएको थियो । राष्ट्र बैंकले तोकेको समयसम्म पनि हामीले कुर्नै पर्यो ।
कोरोना महामारीमा हामीले सेवा दिएपनि निरन्तर बैंकहरू खोल्न सकेनौं । हाम्रा २ सयभन्दा बढी कर्मचारीलाई कोरोना पोजेटिभ भयो त्यसबेला पनि बैंक बन्द गर्नु पर्यो । अहिले पनि राष्ट्र बैंकले ५० प्रतिशत कर्मचारीको सहभागितामा काम गर्नु भनेको छ, त्यसको पालना भइरहेको छ । हामीले सावा उठाउन नसकेको भन्दा पनि ऋणीहरूकोे क्षमतामा कम भएको हो । ऋण तिर्न सक्ने क्षमता नै छैन भने हामीले सावा कसरी माग्ने ? यी सबै कुराले गर्दा बैंकको आम्दानी घटेको हो ।
कोभिडका कारणले दिइएको छुट र अन्य कारणले बैंक तथा वित्तीय संस्थालाई परेको क्षतिले भविष्यमा पर्ने असरको अनुमान गर्नु भएको छ ?
कोभिड १९ कारणले भइसकेको क्षति भइनै सक्यो । त्यो हिसाव गरेर केहि हुदैन । अब कोभिडबाट बाहिर निस्कन भ्याक्सिन आइसकेको सुखद खबरहरू आउन थालेका छन् । यसको शुभ संकेतले पनि अब विश्वभरीको आर्थिक गतिविधिमा सकारात्मक संकेतहरू देखा पर्न थालेका छन् । करिब १ वर्षमा नेपालमा देखिएको कोभिडको असरका कारणले नाफामा असर पर्नेजति परिसक्यो । अब आउँदो केहि महिनाबाट सबै क्षेत्र राम्रोसँग सुचारु हुने हो भने पुनः आर्थिक गतिविधि पहिलाकोभन्दा तिव्र रुपमा बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।
लामो समयसम्म धेरै मानिसहरू घरबाहिर निस्कन नपाएर गुम्सिएका छन् । कोभिडको भ्याक्सिन आइसकेकाले अब सबै क्षेत्रको मुभमेन्टले चाडो गति लिन थाल्छ र आर्थिक गतिविधिले राम्रो लय समात्न सक्छ । अहिले भएको क्षतिलाई समेत पूर्ति गर्ने गरि केहि वर्षमा नै नेपालका बैंक तथा वित्तीय संस्थाले प्रगति गर्ने सम्भावना देख्छु ।
फेरि बैंकहरू ठूला कर्पोरेट हाउसहरूको पैसा र ऋणमात्र चलेका हुँदैनन । बैंकहरूले यो घाटा सबै शेयर होल्डरहरूको हिस्सामा पर्छ । सेञ्चुरीका कुरा गर्ने हो भने २ लाख २० हजार जना शेयर होल्डरहरूमा बाँडिने भएकाले ठूला जस्तो लाग्दैन । एक दुई वर्ष नाफा कम हुँदैमा नाफामा ठूलो असर पनि पदैन जस्तो लाग्छ ।
अहिले बैंकहरूमा धेरै नै तरलता छ, लगानी हुन सकिरहेको छैन यसको व्यवस्थापन बैंकहरूले कसरी गर्दैछन् ?
धेरै तरलता भयो भन्दा पनि निक्षेपको तुलनामा ऋण बढ्न नसकेकोमात्रै हो । निक्षेप बढी हुनु एक हिसाबले राम्रै हो । तर, त्यहि हिसाबले ऋण बढ्न सकेन भने यसले लागत बढाउँछ । यो अवस्थामा निक्षेप बढ्नुलाई नराम्रो मान्नुपर्छ । पहिला डिपोजिट कम अनि लोन धेरै थियो । तर, अहिले यसको ठिक उल्टो डिपोजिट बढी लोन कम भैदियो ।
अहिले ठूला उद्योग कलखाना खोल्न सक्ने वातावरण भैसकेको छैन । ठूला लगानीमा उद्योग कलकारखाना खुल्ने सक्ने वातावरण भयो भने लोनको माग बढ्छ । भोलिका दिनमा राम्रो हुन्छ भनेर नै अहिले हामीले अगाडि बढिरहेका छौं । अहिले धेरै क्षेत्रमा लगानी बढाउन नसकेका कारणले लगानीकर्ताको रकम बैंकमा जम्मा भएर बसेको छ ।
गएका वर्षहरूमा यसको ठिक विपरित हुन्थ्यो । ऋण माग्न आउनेहरूलाई ऋण दिन नसक्ने अवस्था थियोे भने अहिले भने ऋण लिने व्यापारी खोज्न पर्ने अवस्था आएको छ । अहिले होटलहरूमा केहि लगानी बढिरहेको देखिन्छ नत्र अन्य क्षेत्रले लगानी विस्तार गर्ने आँट गरिहेका छैनन् । भोलि राम्रो हुन्छ भन्ने आशमा हामी अहिले बाँचिरहेका छौं ।
जीडीपी ग्रोथ, मुद्रास्फीति र ब्याजदरबीच तालमेल भइरहेको छैन । अनि कर्जा प्रवाहमा पनि त्यसको प्रभाव छ भन्ने टिप्पणी गरिन्छ । यसबारे के भन्नुहुन्छ ?
ऋणको वृद्धि र कुल गार्हस्थ्य उत्पादन(जीडीपी) बीचमा केहि त्यस्तो देखिएको छ । जीडीपीको ग्रोथ र ऋणको वृद्धिसँगसँगै हुनपर्छ भन्ने छ । सामान्यतय २० प्रतिशत ऋणको वृद्धि हुँदा जीडीपी ८ प्रतिशतले वृद्धि हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यता छ । अहिले विश्वकै जीडीपी एक प्रतिशतले मात्रै बढ्ने प्रक्षेपण गरिएको छ । त्यसो हुँदा अब ऋण कतिले बढ्छ भन्ने कुराले यसको प्रभाव हेर्नुपर्ने हुन्छ ।
अहिले प्रायः सबै बैंकको ऋण सिंगल डिजिटमा आइसकेको छ । दुबै हातमा लड्डु हुँदैन । जस्तै डिपोजिटको ब्याजदर पनि धेरै होस र ऋणको ब्याजदर घटोस भन्ने विषयले मेल खादैन । अब नेपालको मुद्रास्फीतिका आधारमा बैंकले दिने ब्याज धेरै फरक पर्यो भने अब केहि निक्षेपहरू राख्नेको संख्या कम हुने सम्भावना चाहिँ छ ।
राष्ट्र बैंकले पहिले नै ऋण लिइसकेकाहरूको हकमा ब्याजदर नबढाउनु भनेको छ यसमा के भन्नु हुन्छ ?
यसमा दुई खालको रेट हुन्छ । एउटा घटबढ हुने हुन्छ । अर्को फिक्स रेट हुन्छ । हामीले वेश रेट प्लस २ प्रतिशत भनेर कुनै ऋणीलाई भनेका छौं भने बेस रेट १० प्रतिशत भयो भने ऋणको ब्याज १२ प्रतिशत हुने भयो । यो चाहिँ हटेको नै छैन । तर, बीचमा फिक्स रेट पनि अफर गर भनेर आएको मात्र हो । त्यसैले दीर्घकालीन कर्जामा बैंकहरू हिच्कियका हुन् । यसमा किन हिच्किय भने आज पो डिपोजिट सस्तोमा आएको छ, भाेिलका दिनमा के होला ? डिपोजिट नै १२ प्रतिशतमा लिनुपर्ने भयो भने अहिले १० प्रतिशतमा दिएको लोन त फस्न सक्छ । नेपालको बजार म्याचुअर नभइ सकेकाले पनि अन्तर्राष्टिय बजार जस्तो फिक्स ब्याजदर कायम गर्न हामीले सकेका छैनौं ।
पुनरकर्जाका लागि बैंकमा कतिको चाप छ ?
नाफाका हिसावले नभइ सेवाको भावले अर्थात राष्ट्र बैंकको निर्देशन हिसाबले मात्रै बैंकहरू रि फाइनान्स गर्ने हो । एक पटक फाइनान्स गरिसकेको आधारमा अर्को फाइनान्स तिर्ने भन्ने हो । यो भनेको रेगुलर पैसा पाउने भन्ने होइन । जस्तै कुनै एउटा उद्योगले हामीसँग १० अर्बको लोन लिएको छ भने त्यो लोनको खातापाता राष्ट्र बैंकमा देखाएर अनि त्यो अनुसार राष्ट्र बैंकले हामीलाई अर्को १० करोड दिने हो । लोन दिने फण्ड चाहिँ हाम्रो पैसा हो । बैंकले लोनको खातापाता देखाएको पैसा जाने होइन । जुन पुरनकर्जाको लागि देखाइएको छ त्यसको ५÷६ प्रतिशत घटाएर दिने हो । यसमा बैंकले सस्तोदरमा फण्ड पाउने मात्र हो ।
बैंकको ९ खर्ब भन्दा बढी हाइड्रोमा लगानी छ । यसमा सेञ्चुरी बैंकले रिक्स कति पर्छ ?
बिजुलीको कुरामा एउटा लोकल कन्जप्सन भयो । यो हेर्दा तत्काललाई पुग्ला जस्तो देखिन्छ । हामीलाई के लाग्छ भने भोलिका दिनमा स्थानीय खपत बढाउँदा बिजुली खपत हुनुपर्यो । जहाँ बिजुली उत्पादन गरिएको छ त्यसकै आसपासमा बेच्ने हो । जति उत्पादन भएका बिजुली छन् त्यसको पुरापूर खपत हुनुपर्छ । हामीले उत्पादन गरेका बिजुली अन्य देशमा पनि सप्लाइ गर्न सक्छौं ।
ढिलो चाँडो त्यसको व्यवस्थापन पनि होला तर, बैंकको लगानी अहिले नै डुब्यो भन्न मिल्दैन । हामीले भोलिका दिनलाई हेरेर यसमा लगानी गरेका हौँ । हाइड्रोमा सरकारको स्वामित्व पनि छ । त्यसै पनि यसको लगानी अहिलेसम्म सुरक्षित छ । अब नेपालमा हालसम्म उत्पादन भएको विद्युत नेपालभित्र नै खपत हुनसक्ने अवस्था पनि देखिएको छ भने नेपाल नजिकका छिमेकी राष्ट्रहरूलाई धेरै विद्युत आवश्यक पर्ने देखिएको छ ।
त्यसैले नेपालमा जसरी विद्युतमा लगानी भइरहेको छ । यसको मार्केट अथाह भएकाले लगानी पनि सुरक्षित नै छ । विद्युतको उत्पादन र वितरणको प्रणाली सरकारी भएकाले पनि निजी क्षेत्रले गरेको लगानी नढुब्नेमा हामी निश्चित छौं ।
सिमेन्ट र रडमा गरेको लगानीको अवस्था कस्तो छ ?
सिमेन्टको खपत धेरै भइरहेको छ । अहिले विकासका पूर्वाधारहरू धेरै बनिरहेका छन् । ठूला ठूला परियाजनमा नेपालमै उत्पादन भएका सिमेन्टका प्रयोग भइरहेका छन् । सिमेन्ट र रडको लगानी पनि सुरक्षित नै छ । नेपालका ठूला ठूला सडक पनि अब सिमेन्टबाट नै बनाउने भन्ने अवधारण आइसक्यो । सडक बनाउन आवश्यक पर्ने अलकत्रा विदेशबाट ल्यारहेका छौं । अब ढलान गरेर सडक बनाउने हो भने नेपालमा उत्पादन भएकोे सिमेन्ट नेपालभित्र नै खपत हुन्छ ।
कोरोना महामारीले अरु क्षेत्रलाई गरेको असर जस्तो बैंकिङ क्षेत्रमा खासै देखिएन । यसलाई कसरी हेर्नुभएको छ ?
कोरोना महामारीमा हामीले अनलाइन सिस्टमलाई प्रमोशन गर्यौ । पहिलेको अवस्थामा भन्दा महामारीले अनलाइन सिस्टममा जान सिकायो । तर, हामीले जति गर्नु पर्ने थियो त्यति गर्न सकेनौं । कोरोना महामारीको सबैभन्दा जोखिममा वृद्धवृद्धा छन् । जो बढी जोखिममा छन् उनीहरू नै भत्ता लिन बैंकमै जानुपर्ने बाध्यता छ । यो बाध्यता हुनुमा बैंकले त्यो लेबलसम्मको सेवा दिन नसक्नु नै हो ।
त्यस्तै अर्को भनेको क्युआर कोड भयो । क्यूआर कोड अन्य देशहरूमा धेरै पहिला देखि नै चलिरहेको छ । हाम्रोमा भर्खर सुरु भएको छ । अबको एक वर्षसम्म बैंकिङ प्रणालीलाई फुलफेजलमा क्यासलेस बनाउँछौ जस्तो लागेको छ । पहिल्ला शाखा विस्तारमा जोड दिने बैंकहरू अहिले सकभर ग्राहकलाई घरमै सेवा लिन सक्ने वातावरण बनाउन लागि परेका छन् । प्रायःजसो सबै बैंकहरूका खाता अनलाइन सिस्टमबाट खोल्न सकिन्छ ।
वायरलेस टेक्नोलोजीमा ट्रान्जेसन गरिरहँदा सेक्युरिटीको पनि कुरा आउँला । यसका लागि के तयारी गरिरहनु भएको छ ?
यसलाई हामीले सरल तरिकाले हेर्नु पर्छ । यो एक्ट्रा सेक्युरिटी थ्रेड होइन । यो एउटा टेक्नोलोजी हो । कुनै पनि टेक्नोलोजीमा जोखिम जोडिएर आएको हुन्छ । जोखिम छ भनेर भाग्न खोज्ने भन्दा पनि त्यसको निराकरण गर्न तिर लाग्नु पर्छ । हिजो पनि चोरी हुन्थ्यो आज पनि भइरहन्छ । ठ्याक्कै बन्द त भएको छैन नि ? यसमा मेन भनेको डिपोजिटको पैसा हिनामिना हुन्छ की हुँदैन भनेर हेर्ने हो । यसमा आत्तिनु पर्ने स्थिति छैन ।
सेञ्चुरी बैंकले राम्रो इनभेष्ट दिन सकेनन् भन्ने गुनासो पनि छ ? यसमा के भन्नुहुन्छ ?
कतिपय कारण हामी सुरुवाती दिनमा पछि पर्यौ । म आउँदा बैंकका धेरै आन्तरिक कुराहरू मिलाउनु पर्ने अवस्था थियो । यी कुराहरू विस्तारै मिलाउँदै गएको छु । यसमा मेरो मात्रै हात होइन सबैजनाको साथ र सहयोगले राम्रो सेटप बनाइसकेका छौं । विस्तारै सबैकुरा मिलिसकेको छ अब राम्रो गतिमा अगाडी बढ्छ ।
प्रतिक्रिया दिनुहोस