
काठमाडौं । लामो समयको विवादपछि अब बाणिज्य बैंकहरुले पनि धितोपत्र दलालको अनुमति पाउने बाटो खुलेको छ । धितोपत्र दलाल व्यवसायीको काम गर्न १० बाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले बाटो खोलि दिएको छ । ब्रोकर सेवा प्रदान गर्नका लागि वार्षिक साधारण सभा मार्फत पारित गरेको प्रबन्धपत्र नियमावली संशोधनको प्रस्तावलाई राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको हो ।
राष्ट्र बैंककका प्रबक्ता लक्ष्मी प्रपन्न निरौलाले एकैसाथ १० बैंकहरुको प्रबन्धपत्र नियमावलीमा उल्लेख ब्रोकर सुविधा प्रदान गर्न सक्ने बुदालाई स्वीकृति प्रदान गरेको जानकारी दिएका छन् । उनका अनुसार अन्य ९ बैंकहरुले पनि ब्रोकर सेवा प्रदान गर्ने सम्बन्धमा संशोधित प्रबन्धपत्र नियमावलीको बुदा स्वीकृतिको माग गर्दै आवेदन दिएका छन् ।
ब्रोकर लाइसेन्सको बाटो खुलेका बैंकहरुमा नेपाल इन्भेष्टमेण्ट , बैंक अफ काठमाडौं, एनआइसी एशिया, कुमारी , सिद्धार्थ, ग्लोबल आइएमई, जनता ,मेगा , सेञ्चुरी र सानीमा बैंक रहेका छन् । ब्रोकर लाइसेन्सका लागि यी वाहेक अन्य ९ बैंकहरुको आवेदन परेको राष्ट्र बैंकको भनाई छ । आवेदन दिनेमा सन्राइज , सिभिल, सिटिजन बैंक इन्टरनेशनल, लक्ष्मी, माछापुच्छ्रे, नेपाल बङ्गलादेश, हिमालयन बैंक, कृषि विकास बैंक र नबिल बैंक रहेका छन् ।
मुद्रा तथा पूँजीबजारमा देखिएका प्रबृत्तिहरुको समग्र मूल्याङ्कन गरी गत पुस ४ गते सरकारद्धारा गठित उच्चस्तरिय सुझाब समितिले तत्काल कार्यान्वयन गर्ने गरी तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनी मार्फत शेयर खरिद विक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिन सुझाब दिएको थियो । उक्त समितिले शेयर खरिद विक्री गर्न पाउने गरी खोलिएका वाणिज्य बैंकहरुका सहायक कम्पनी तथा धितोपत्र दलाल व्यवासायी (ब्रोकर कम्पनी) लाई प्राप्ती गर्ने र गाभ्ने गाभिने नीतिगत व्यवस्था गर्न समेत धितोपत्र बोर्डलाई भनेको थियो । यस विषयमा बोर्डले नियमावली संशोधन गरी अर्थमन्त्रालयमा स्वीकृतिको लागि पेश गरेको नेपाल धितोपत्र बोर्डका प्रबक्ता निरज गिरीले जानकारी दिए ।
राष्ट्र बैंकले नियमावली स्वीकृत गरेका कम्पनीहरुले सहायक कम्पनी दर्ता गरी लाईसेन्सका लागि प्रकृया अघि बढाउनुपर्ने प्रबक्ता गिरीको भनाई छ । धितोपत्र व्यवसायी नियमावली ,२०६४ मा भएको व्यवस्था अनुसार प्रचलित कानुन अनुसार स्थापना भएको बैंक वा वित्तीय संस्थाले आफ्नो शत प्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्फत धितोपत्र दलाल ,धितोपत्र व्यापारी तथा बजार निर्माताको रुपमा काम गर्न सक्नेछ । यो कारोबार गर्न चाहने कम्पनीको चुक्तापूँजी २ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था छ ।
ब्रोकर सेवाका लागि आवेदन दिएका र स्विकृति पाएका बैंक:
लाइसेन्सको स्वीकृति पाउने बैंक स्वीकृतिको पर्खाइमा रहेका बैंक
सानीमा बैंक लिमिटेड सिभिल बैंक लिमिटेड
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड लक्ष्मी बैंक लिमिटेड
मेगा बैंक लिमिटेड सनराइज बैंक लिमिटेड
जनता बैंक लिमिटेड सिटिजन बैंक इन्टरनेशनल लिमिटेड
ग्लोबल आइएमई बैंक लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेड नेपाल बङ्गलादेश बैंक लिमिटेड
कुमारी बैंक लिमिटेड हिमालयन बैंक लिमिटेड
बैंक अफ काठमाडौं लिमिटेड कृषि विकास बैंक लिमिटेड
नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड नबिल बैंक लिमिटेड
स्रोतः नेपाल राष्ट्र बैंक
प्रतिक्रिया दिनुहोस