aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

चेक बाउन्स मुद्दाका ३ अभियुक्त पक्राउ, ३ करोड जरिवानासहित कैद सजाय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०४ माघ २०७७
चेक बाउन्स मुद्दाका ३ अभियुक्त पक्राउ, ३ करोड जरिवानासहित कैद सजाय

काठमाडौं । नविल बैंक, सनराइज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका चेक बाउन्स गराउने तीन जनालाई बैकिङ कसुर मुद्दामा केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) ले पक्राउ गरी चितवन जिल्ला अदालतमा पेश गरेको छ । अभियुक्तहरूलाई सीआईबीले लुकिछिपी बसेको अवस्थामा चितवनका विभिन्न स्थानबाट पक्राउ गरेको हो । चेक बाउन्स मुद्दामा उच्च अदालत पाटनबाट  कसूरदार ठहरिएका अभियुक्तहरूलाई विभिन्न समयावधिको कैद सजायसँगै २ करोड ९२ लाख रुपैयाँ जरिवाना तोकिएको छ । अदालतको फैसलापछि उनीहरू फरार थिए ।  

अदालतले भरतपुर नगरपालिका वडा नं. १४ हनुमाननगर घर भई जिल्ला काठमाडौं कामनपा २६ स्थित रानीबारी अटो प्रा.लि.का संचालक वर्ष ५१ का राम बहादुर अधिकारीलाई ५१ दिन  कैद तथा २ करोड ३२ लाख ६४ हजार जरिवाना हुने ठहर गरेको थियो । अदालतको फैसलापछि फरार रहेका अधिकारीलाई लुकिछिपी बसिरहेको अवस्थामा सीआईबी  कार्यालयबाट खटिएको टोलिले २०७७ माघ ४ गते खैरेनी–८, चितवनबाट पक्राउ गरी आइतबार आज चितवन जिल्ला अदालतमा पेश गरेको छ । प्रमोद ढुङ्गेल, दण्डराज ढकाल र ब्रम्हनारायण चौधरीको जाहेरीले बैकिङ कसूरसम्बन्धि तीन थान मुद्दाहरूमा उच्च अदालत पाटनले २०७६ पुस २५ गते अधिकारीलाई दण्ड र सजाय तोकेको थियो ।  

त्यसरी नै वुना महत र गितादेवी अधिकारीको जाहेरीमा चन्द्रागिरी नगरपालिका वडा नं. २, चिसापानी बस्ने वर्ष ३१ का सुवास थापालाई पनि सीआईबी ब्यूरोले पुल्चोक, चितवनबाट लुकिछिपी बसिरहेको अवस्थामा २०७७ माघ ३ गते फेला पारी पक्राउ गरेको छ । ब्यूरोले उनका पक्षमा भएको फैसला कार्यान्वयनको लागि आज आइतबार चितवन जिल्ला अदालतमा पेश गरेको हो । थापालाई १७ दिनको कैद सजायसँगै ५९ लाख ७९ हजार जरिवाना गर्ने निर्णय उच्च अदालत पाटनले गरेको थियो । अदालतले थापालाई सो सजायको २०७७ जेठ ३२ गते र २०७६ साल फागून १० गते तोकेको थियो । 

मिना कुमारी अंगाईको जाहेरीले राष्ट्रिय वाणिज्य बैंकको चेक बाउन्स गर्ने विष्णु अंगाईलाई  बैकिङ कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनले एक महिना कैद सहित १० लाख रुपैयाँ जरिवाना तोकेको थियो । २९ वर्षीय अंगाईले उच्च अदालत पाटनले २०७५ असार २४ गते उक्त सजाय र जरिवाना तोकेको हो । सीआईबी ब्यूरोले अंगाईलाई लुकिछिपी बसेको अवस्थामा भरतपुर चितवनबाट २०७७ माघ १ गते पक्राउ गरेको हो । अंगाईलाई पनि चितवन जिल्ला अदालतमा पेश गरिएको छ । 

प्रतिक्रिया दिनुहोस