
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओमा आवेदन दिने माघ ६ गते (आज) अन्तिम दिन रहेको छ । ढिलो अवधि छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्री अवधि तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागेको हो ।
सोमवार सम्म कम्पनीको आईपीओ खरिदका लागि १ दशमलव ८७ गुणा बढी आवेदन परिसकेको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटललका अनुसार ११ लाख ७७ हजार ९२० जना आवेदकबाट १४ करोड १९ लाख ९६ हजार ४२० कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।
कम्पनीले रू. ८ अर्ब बराबरको ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर माघ २ गतेदेखि सार्वजनिक निष्कासन गरेको हो । कम्पनीले कुल कित्तामध्य ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ ।
खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ । अधिकत पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ ।
प्रतिक्रिया दिनुहोस