aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
चलायमान अर्थतन्त्र

कर्जा प्रवाह बढ्यो, दैनिक पौने चार अर्ब लगानी गर्दै बैंकहरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०६ माघ २०७७
कर्जा प्रवाह बढ्यो, दैनिक पौने चार अर्ब लगानी गर्दै बैंकहरू

काठमाडौं । कोभिडका कारण शिथिल बनेको कर्जा प्रवाह पछिल्लो समय दिन प्रतिदिन बढ्न थालेको छ । वाणिज्य बैंकहरूमा पुस महिनामा दिनमै ३ अर्ब ७६ करोड लगानी गर्न थालेको छन् ।  अघिल्लो महिनाको तुलनामा पुस महिनामा कर्जा प्रवाह बढेको नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । कोभिडदेखि सुस्त बनेको बजार अहिले फस्टाउन थालेको छ,’ उनले भने ‘कर्जाको डिमाण्ड छ र बैंकहरू अहिले उत्साहित भएर लगानी गरिरहेका छन् ।  

संघको तथ्यांकले वाणिज्य बैंकहरूले १ महिनामा एक खर्ब १३ अर्ब रुपैयाँ लगानी गरेका छन् । सो अवधिमा गरिएको लगानीमध्ये अन्तिम साताको लगानी सबैभन्दा बढी देखिएको छ । वाणिज्य बैंकहरूले पुस २४ गतेदेखि २९ गतेसम्ममात्रै ५९ अर्ब रुपैयाँ लागनी गरेका छन् । गत पुस १७ गतेसम्म वाणिज्य बैंकहरुले ३१ खर्ब ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । जुन पुसको २९ गते ८२ अर्ब रुपैयाँले थप भई ३२ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।  

 पुस ३ गतेदेखि माघ २ गतेसम्ममा बैंकहरूले कुल ३२ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । पुस महिनामा लगातार बढेको कर्जा प्रवाह माघ लागेपछि भने ८ अर्बले घटेको छ । पुस लागेसँगै बैंकहरुमा ओभरड्राफ्ट र शेयर मार्जिन कर्जाको माग बढेकाले कर्जाको माग बढेको हो । शेयर बजार दिनहँु नयाँ उचाइमा पुगेको छ । बैंकमा ब्याज सस्तो भएकाले बैंकबाट ऋण लिएर शेयरमा लगानी गर्ने बढेका हुन् । मार्जिन ल्याण्डिङका साथै पुस महिनामा घरजग्गा कारोबार पनि फस्टाएको छ । यसले पनि कर्जाको डिमाण्ड बढाएको बैकरको भनाइ छ । यसका साथै कृषि कर्जा पनि केही बढेको देखिएको छ । 

कोभिडका कारण उच्च जोखिममा परेका ऋणीहरूले चालु पुँजीको आधारमा पाइने थप २० प्रतिशत कर्जा लिएर १० प्रतिशत ब्याज भुक्तानी गरेका छन् । होटल, यातायात तथा पर्यटन व्यवसायीहरुले कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण गर्न बैंकबाट थप कर्जा लिएका कारणले पनि कर्जाको आकार बढेको हो ।

माघ २ गतेसम्म बैंकहरुकोे निक्षेप संकलन बढेर ३७ खर्ब ७९ अर्ब रुपैयाँ छ । पुस महिनामात्रै बैंकहरूले ६२ अर्ब निक्षेप संकलन गरेका छन् । जुन पुस मसान्तको तुलनामा ३ अर्बले कम हो । पुस २९ गतेसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस