
काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा १६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले गरेको नाफा अघिल्लो वर्षको सोही समयको नाफाकोे तुलनामा १६.५२ प्रतिशतले बढेर ९४ करोड १३ लाख रुपैयाँ पुगेको हो । सो नाफामध्ये ४६ करोड रुपैयाँ नाफा शेयरधनीलाई वितरण गर्न योग्य नाफा रहेको बैंकको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।
पुस मसान्तसम्ममा बैंकले ७० अर्ब ९करोड निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षभन्दा सामान्य वृद्धि हो ।
बैंकले यो अवधिमा १ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानी र ब्याज खर्च दुवै घट्दा खुद ब्याज आम्दानी करिब ११ करोडले गिरावट आएको हो । बैंकको गैरब्याज आम्दानीमा पनि ४ करोडको गिरावट आएर कुल गैरब्याज आम्दानी ४९ करोड कायम भएको छ ।
बैंकले पुससम्मको अवधिमा कर्मचारी व्यवस्थापनमा ५६ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ । यो अघिल्लो वर्षभन्दा ४ करोड रुपैयाँ बढी हो । अन्य सञ्चालन खर्चमा भने अघिल्लो वर्षभन्दा केही कमी आएको छ ।
नाफामा सुधार हुनुको मुख्य कारण व्यापारमूलक आम्दानी र अन्य सञ्चालन आम्दानीमा भएको वृद्धि हो । यो अवधिमा बैंकको व्यापारमूलक आम्दानी ६ करोड रुपैयाँले बढेर १६ करोड पुगेको छ । अन्य सञ्चालन आम्दानी २ करोडबाट बढेर पौने १२ करोड रुपैयाँ बढेको छ ।
हाल ८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो बैंकसँग १ अर्ब ९ करोड रुपैयाँ बराबरको नबाँडिएको नाफा र ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको जगेडा कोष छ । जगेडा कोषको आकार अघिल्लो वर्षभन्दा करिब ७१ करोड रुपैयाँ बढी हो
पुस मसान्तमा बैंकको पुँजीकोष अनुपात १४.१७ प्रतिशत रहेको छ । त्यस्तै, निष्क्रिय कर्जा अनुपात २.३७ प्रतिशत, सीसीडी अनुपात ७१.३२ प्रतिशत, कष्ट अफ फण्ड ५.८७ प्रतिशत, आधारदर ८ प्रतिशत तथा ब्याजको स्प्रेडदर ४.१९ प्रतिशत रहेको छ । निष्क्रिय कर्जा बढे पनि अरु परिसूचक भने सामान्य रहेको वित्तीय विवरणले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस