
काठमाडौं । नाफा वृद्धिमा प्रभु बैंकले छलाङ मारेको छ । चालु आर्थिक वर्षको पुस महिनासम्म प्रभु बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ४० प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ८ करोड मात्रै थियो ।
पुस मसान्तमा बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा क्रमश ः ३४ अर्ब र २७ अर्ब रुपैंयाँले बढी हो ।
प्रभु बैंकले यो अवधिमा २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिका २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो वर्ष प्रभु बैंकको ब्याज आम्दानी र ब्याज खर्च दुवै बढेको छ ।
यो अवधिमा बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा दुवै बढेको छ । बैंकले कर्मचारी खर्चमा १ अर्ब २६ करोड र अन्य सञ्चालन खर्चमा ४७ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ ।
हाल ११ अर्ब ३४ करोड चुक्ता पुँजी भएको बैंकसँग १ अर्ब १७ करोड रुपैयाँको नबाँडिएको नाफा र ४ अर्ब १८ करोड रुपैयाँ बराबरको जगेडा कोष छ । सो बैंकको जगेडा कोषमा ३३ करोडले सुधार भएको हो ।
बैंकको पुँजीकोष अनुपात ११.४० प्रतिशत रहेको छ । निष्क्रिय कर्जा अनुपात घटेर २.०६ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा घटेकै कारण बैंकको इम्पेरिमेन्ट चार्ज १८ करोड २८ लाख रुपैंयाँ सकारात्मक छ । यसले पनि नाफामा बढाउन मद्दत गरेको छ ।
बैंकको पुँजीकोषको लागत ५.०१ प्रतिशत रहँदा सीसीडी अनुपात ६६.४३ प्रतिशत रहेको छ । बैंकको आधारदर ७.२१ प्रतिशत र ब्याजको स्प्रेडदर ३.६४ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस