aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
वित्तीय विवरण

नाफा बढाउँदै बैंक, ६ महिनामा आठ बैंकले गरे ९ अर्ब नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
नाफा बढाउँदै बैंक, ६ महिनामा आठ बैंकले गरे ९ अर्ब नाफा

काठमाडौं । वाणिज्य तथा विकास बैंकहरूले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासकोे वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका आठ वाणिज्य बैंकको नाफा साढे ९ अर्ब नाघेको छ । पुस १४ सम्म वित्तीय विवरण प्रकाशित गरेका बैंकहरूले गएको आवमा ७ अर्ब ६७ करोड ७६ लाख नाफा कमाएका थिए । चालु आर्थिक वर्षको यो अवधिमा यी बैंकहरूले गरेको नाफा २२.३१ प्रतिशतले बढी हो । 

प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, सिसटजन बैंक र सनराइज बैंकले गत आर्थिक वर्षको भन्दा बढी नाफा कमाएका छन् भने सानिमा बैंक, नेपाल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा घटाएका छन् । कुमारीले उल्लेख्य प्रगति गर्दै अर्बपति क्लबमा उक्लिएको छ ।  दोस्रो त्रैमासको प्रतिवेदन प्रकाशित गरेको नेपाल इन्भेस्टमेन्ट बैंकको खुदा नाफा घटेको छ । उसका अधिकांश सूचक ओरालो लागेका देखिन्छन् । 

कुन बैंकको कस्तो छ वित्तीय विवरण

सानिमा बैंक
सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सो अवधिसम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेपछि बैंकको नाफा पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा ९ अर्ब ६८ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ६८ लाख रुपैयाँ र शेयरधनी कोषमा ८९ करोड २६ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड हुँदा जगेडा कोषमा २ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १९ करोड रुपैयाँ सञ्चित थियो।


यो ६ महिनामा बैंकको निक्षेप २.७९ प्रतिशत बढेर १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । कर्जा लगानीसँगै बैंकको निष्क्रिय कर्जा पनि सामान्य बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.४१ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ०.५८ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको बेस रेट ९.२९ प्रतिशतबाट ६.८३ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.०४ बाट ४.२१ प्रतिशतमा झरेको छ । 
खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसाबाट घटेर २१ रुपैयाँ ९६ पैसामा सीमित भएको छ। त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २८ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १६.७६ गुणा रहेको छ ।

नेपाल बैंक
नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेको छ भने खुद नाफा घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ लाख ७३ हजार रुपैयाँ कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपनि कर खर्च बढेपछि बैंकको नाफा सामान्य घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ६७ करोड ८२ लाख रुपैयाँ रहेको छ ।


समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.२ प्रतिशत बढेर २ अर्ब ९७ करोड १३ लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन मुनाफा १७.९६ प्रतिशत बढेर २ अर्ब ४ करोड ६२ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी सामान्य बढेपनि ४ करोड ५१ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।

खुद नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २७ रुपैयाँ ५७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २१ रुपैयाँ ३७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २५३ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.१२ गुणा रहेको छ ।

१२ अर्ब ६३ करोड ६७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ बैंकको जगेडा कोषमा १५ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३ अर्ब ३२ करोड रुपैयाँ र शेयर प्रिमियममा ४३ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । पछिल्लो ६ महिनामा बैंकको निक्षेप १ खर्ब ४१ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ४८ अर्ब पुगेको छ भने कर्जा लगानी १ खर्ब ३ अर्बबाट बढेर १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।  समीक्षा अवधिमा बैंकको आधार दर ७.८२ प्रतिशतबाट ६.१९ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.४४ प्रतिशतबाट ४.३९ प्रतिशतमा झरेको छ ।

नेपाल बंगलादेश बैंक

 नेपाल बंगलादेश बैंकको नाफा १६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म बैंकले गरेको नाफा अघिल्लो वर्षको सोही समयको नाफाकोे तुलनामा १६.५२ प्रतिशतले बढेर ९४ करोड १३ लाख रुपैयाँ पुगेको हो । सो नाफामध्ये ४६ करोड रुपैयाँ नाफा शेयरधनीलाई वितरण गर्न योग्य नाफा रहेको बैंकको वित्तीय विवरणमा उल्लेख गरिएको छ ।

पुस मसान्तसम्ममा बैंकले ७० अर्ब ९करोड निक्षेप संकलन गरी ६० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षभन्दा सामान्य वृद्धि हो । बैंकले यो अवधिमा १ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानी र ब्याज खर्च दुवै घट्दा खुद ब्याज आम्दानी करिब ११ करोडले गिरावट आएको हो । बैंकको गैरब्याज आम्दानीमा पनि ४ करोडको गिरावट आएर कुल गैरब्याज आम्दानी ४९ करोड कायम भएको छ ।

बैंकले पुससम्मको अवधिमा कर्मचारी व्यवस्थापनमा ५६ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ । यो अघिल्लो वर्षभन्दा ४ करोड रुपैयाँ बढी हो । अन्य सञ्चालन खर्चमा भने अघिल्लो वर्षभन्दा केही कमी आएको छ ।

नाफामा सुधार हुनुको मुख्य कारण व्यापारमूलक आम्दानी र अन्य सञ्चालन आम्दानीमा भएको वृद्धि हो । यो अवधिमा बैंकको व्यापारमूलक आम्दानी ६ करोड रुपैयाँले बढेर १६ करोड पुगेको छ । अन्य सञ्चालन आम्दानी २ करोडबाट बढेर पौने १२ करोड रुपैयाँ बढेको छ ।

हाल ८ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पुँजी भएको यो बैंकसँग १ अर्ब ९ करोड रुपैयाँ बराबरको नबाँडिएको नाफा र ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको जगेडा कोष छ । जगेडा कोषको आकार अघिल्लो वर्षभन्दा करिब ७१ करोड रुपैयाँ बढी हो 

प्रभु बैंक 

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म डेढ अर्ब नाफा कमाएको छ । सो अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफामा वृद्धि भएको हो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.७२ प्रतिशत बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ४२.७३ प्रतिशत बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको १८ करोड ८२ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा वृद्धिदर धेरै देखिएको हो ।

११ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब १८ करोड ६१ लाख रुपैयाँ र शेयरधनी कोषमा १ अर्ब १७ करोड रुपैयाँ सञ्चित  छ । चालु आवको यो अवधिमा ६ महिनामा बैंकको निक्षेप २५.८५ प्रतिशत बढेर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुगेको छ भने कर्जा २६.८२ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।

कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने घटेको  छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३.१२ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर २.०६ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको बेस रेट ९.४५ प्रतिशतबाट ७.२४ प्रतिशतमा झरेको छ भने स्प्रेड ४.८३ बाट ३.६४ प्रतिशतमा झरेको छ ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५ पैसाबाट बढेर २६ रुपैयाँ ७७ पैसा पुगेको छ । त्यसैगरी, बैंकको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ २९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १५.३२ गुणा मात्र रहेको छ ।

सनराइज बैंक
सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको खुद नाफामा सामान्य सुधार गरेको छ । सो अवधिसम्ममा बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा गरेको छ । खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि बैंकको नाफामा सामान्य सुधार देखिएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । सो अवधिसम्ममा बैंकको ९ करोड ४९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि सञ्चालन मुनाफा सामान्य बढ्न पुगेको हो ।
पुस मसान्तसम्ममा ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ र शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ८ अर्ब ९६ करोड हुँदा जगेडा कोषमा ३ अर्ब ६८ करोड रुपैयाँ र शेयरधनी कोषमा ७४ करोड ३६ लाख रुपैयाँ सञ्चित थियो।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २.४२ प्रतिशत बढेर ९२ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने कर्जा ७.३४ प्रतिशत बढेर ८६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

कर्जा लगानी बढेपनि बैंकको निष्क्रिय कर्जा भने सामान्य घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १.६९ प्रतिशत रहेको बैंकको यस्तो कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १.०६ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा बैंकको बेस रेट ९.९९ प्रतिशतबाट ७.२९ प्रतिशतमा झरेको छ भने स्प्रेड ५.१४ बाट ४.१ प्रतिशतमा झरेको छ ।

खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसाबाट घटेर २० रुपैयाँ १ पैसामा सीमित भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात १३.४९ गुणा रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
इन्भेस्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १ अर्ब ५८ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले गत आवमा १ अर्ब ६६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको चालु आर्थिक वर्षमा खराब कर्जा बढी देखिएको छ । इन्भेस्टमेन्ट बैंको खराब कर्जा २.७५ प्रतिशत छ । गत वर्षको तुलनामा इन्भेस्टमेन्टको खराब कर्जा घटेको हो ।  गत वर्ष २.९० प्रतिशत थियो । 
 

प्रतिक्रिया दिनुहोस