
काठमाडौं । बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेका छन् । बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणमा एनआईसी एशिया बाहेक अन्य २५ वटै बैंकको ‘बेस रेट’ (आधार व्याजदर) घटेको छ । बेसरेट घट्नु भनेको आम ग्राहकले अब बैंकबाट सस्तोमा कर्जा पाउँछन् भन्ने हो ।
वित्तीय विवरण प्रकाशित गरेका २६ वटा वाणिज्य बैंकमध्ये साढे ५ देखि ८ प्रतिशतसम्म रहेको छ भने अन्य सिटिजन र सिभिल बैंकको बेसरेटमात्रै ८ प्रतिशतभन्दा माथि छ । सिटिजन बैंकको बेसरेट ८.२५ र सिभिल बैंकको बेसरेट ८.४५ प्रतिशत रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले भने आफ्नो वित्तीय विवरण प्रकाशित गरेको छैन । अब कुनै पनि बैंकबाट कर्जा लिँदा आम ग्राहकले सस्तोमा कर्जा पाउँछन् भन्ने हो । यद्यपि बैंकहरूले उक्त बेसरेटमा कर्जाको प्रकृति हेरेर साढे १ प्रतिशतदेखि ५ प्रतिशतसम्म पनि प्रिमियम जोड्न गरेका नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।
‘ग्राहकसँग कर्जा दिँदा भएको सम्झौताअनुसार बैंकहरूले बेसरेटमा प्रिमियम जोडेर लिने हुन्,’ उनले भने ‘यति लिन पाउने वा योभन्दा माथि लिन नपाउने भनेर राष्ट्र बैंकले त्यस्तो कुनै व्यवस्था गरेको छैन । बैंकहरूलाई नै छाडिदिएको छ । तर, राष्ट्र बैंकले के चाहिँ भनेको छ भने बेसरेटमा जति प्रिमियम जोड्छौ, त्यो भने स्पष्ट रुपमा लोन लिँदा ग्राहकसँग गरेको सम्झौतामा लेख ।’
बैंकहरूले हरेक ३÷३ महिनामा बेसरेट परिवर्तन गर्छन, सोही अनुसार ब्याजदर पनि परिवर्तन हुने गरेको छ । तर फिक्स कर्जामा भने यो बेसरेटले कुनै प्रभाव नपार्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष दाहालले बताए ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नबिल बैंकको बेसरेट सबैभन्दा कम छ भने सबैभन्दा बढी बेसरेट सिभिल बैंकको रहेको छ । नबिल बैंकले अब आफ्ना ग्राहकलाई ५.७६ प्रतिशतको बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोड्दा पनि १०.७६ प्रतिशतमा ग्राहकले लोन पाउँछन् भन्ने हो । त्यस्तै दोस्रो कम बेररेट भएको बैंक स्ट्यान्डर्ड चार्टर्ड बैंकको हो । बैंकको बेसरेट ६.०७ प्रतिशत रहेको भने बेसरेट कम भएको अर्को सरकारी स्वामित्वको नेपाल बैंक परेको छ । बैंकले ६.१९ प्रतिशत बेसरेटमा प्रिमियम जोडर आम ग्राहकलाई कर्जा दिन सक्नेछ । त्यसैले उक्त बैंकले आम ग्राहकलाई सिंगल डिजिटमा नभएपनि डब्बल डिजिटको न्यूनतम विन्दुमा कर्जा प्रवाह गर्न सक्ने देखिएको छ ।
२६ वािणज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक र हिमालयन बैंकको बेसरेट ६ देखि ७ प्रतिशतभन्दा तल रहेको छ । त्यस्तै प्रभु, लक्ष्मी, सनराइज, मेगा, सिद्धार्थ, एनममबी, नेपाल एसबीआई, माछापुच्छ«े, बैंक अफ काठमाडौं, कृषि विकास बैंक, प्राइम, सेन्चुरी, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्शको बेसरेट आठ प्रतिशतभन्दा तल छ ।
नेपाल बंगलादेश बैंक, सिटिजन र सिभिल बैंकको बेसरेट भने ८ प्रतिशतदेखि ८.४५ प्रतिशतसम्म रहेको छ । दोस्रो त्रैमासमा नेपाल बंगलादेश बैंकको बेसरेट ८ प्रतिशत, सिटिजन बैंकको ८.२५ प्रतिशत र सिभिल बैंकको बेसरेट ८.४५ प्रतिशत रहेको छ ।
सबै बैंकले बेसरेट घट्दा एनआईसी एशियाकोमात्रै किन बढ्यो ?
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एनआईसी एशियाको मात्रै बेसरेट ०.१५ प्रतिशतले बढाएर ६.६५ प्रतिशत पुर्याएको छ । तर, बैंकको बेसरेट बढेपनि सात प्रतिशत भने पुगेको छैन । बैंकको बेसरेट बढ्नुमा व्यक्तिगत फिक्स डिपोजिट बढी भएको बैंकले जानकारी दिएको छ । बैंकको कुल डिपोजिटमा ४७÷४८ प्रतिशतसम्म फिक्स डिपोजिटमा रहेकोले यसको असर बेसरेटमा देखिएको बैंकका क्वालिटी एसुरेन्स इकोसिष्टम प्रमुख अर्जुन खनियाले बताए । ‘खासगरी हाम्रो बैंकको डिपोजिट कष्ट बढी भएकोले बेसरेट बढी देखिएको हो,’ उनले भने ‘फिक्स डिपोजिटमा हामीले ६.५ प्रतिशतसम्म ब्याज दिएका छौं ।
हामीले आम ग्राहकलाई कर्जा दिँदा बेसरेटमा २ प्रतिशतदेखि ७ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिने गरेका छौं,’ उनले थपे ‘कर्जाको प्रकृति, ग्राहकको नेचर तथा क्षेत्रको आधारमा प्रिमियम जोड्ने गरेका छौं ।’ यदि कुनै ग्राहकले रियल स्टेटका लागि कर्जा लिने हो भने हामीले ७ प्रतिशत प्रिमियम जोडेर अर्थात १३.६५ प्रतिशतसम्म कर्जाको ब्याज तिर्नुपर्ने हुन्छ । ’
प्रतिक्रिया दिनुहोस