aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

जनउत्थान सामुदायिक लघुवित्तको सर्वाधिक कारोबारसँगै सर्वाधिक मूल्य बृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ माघ २०७७
जनउत्थान सामुदायिक लघुवित्तको सर्वाधिक कारोबारसँगै सर्वाधिक मूल्य बृद्धि

काठमाडौं । साताको अन्तिम दिन बिहीवारको शेयर कारोबारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वाधिक रकमको कारोबार सँगै सर्वाधिक मूल्य बृद्धि भएको छ । यस कम्पनीले कुल ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेसँगै लगानीकर्ताको आकर्षण बढेको हो । 

कम्पनीको माघ १९ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट ४९ दशमलव ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ६० प्रतिशत गरी कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड ९२ लाख रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण गर्नेछ । 

विगतका वर्षहरुमा पनि आकर्षक लाभांश दिदैं आएको यस कम्पनीले गत वर्षभन्दा यस वर्ष करिब दोब्बर लाभांश वितरण गर्न लागेको हो । गत वर्ष २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको थियो । 

लाभांश सार्वजनिक भएदेखिनै लगानीकर्ताको उच्च आकर्षण देखिएकोमा बिहीवार कारोबारको डेड घण्टाको अवधिसम्म कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९९ प्रतिशतले बढेर अन्तिम मूल्य रू. ३ ह जार ७४५ कायम भएको हो ।

यस अवधिसम्म कम्पनीको रू. १८ करोड ८७ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको छ । कारोबार रकममा पनि कम्पनी सबैभन्दा अघि रहेको छ । बिहीवार कारोबारको डेड घण्टाको अवधिसम्म शेयर बजार ५ दशमलव ९९ अंक बढेको छ भने रू. २ अर्ब ४३ करोड ९७ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस