
काठमाडौं । विदेश जाने नेपालीको संख्या पोहोरभन्दा घटे पनि विदेशबाट आउने रेमिट्यान्स भने बढेको छ । पोहोर एक वर्षमा जति रकम आएको थियो, करिब त्यति नै रकम अहिले १० महिनामै आएको छ ।
गत आर्थिक वर्षभरीमा ७ खर्ब ५५ अर्ब ६ करोड रुपैयाँको रेमिट्यान्स नेपाल भित्र्एिको थियो । चालू आर्थिक वर्षको १० महिना अर्थात वैशाखसम्म ७ खर्ब २५ अर्ब ३० करोड रेमिट्यान्स आएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली ३८.६ प्रतिशतले घटेका छन् । तर, रेमिट्यान्स भने १९.९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई स्वदेशमै रोजगारी दिने उद्घोष गरेका थिए । प्रधानमन्त्रीले भनेजस्तै स्वदेशमै रोजगार दिने र विदेशमा जति कमाउँछन् त्यति नै रकम नेपालमा कमाउन सकिने वातावरण बनाइदिने हो भने विदेश जाने रहर नै कसैलाई हुन्छ र ?
अहिले पनि रोजगारीका लागि ४० लाख युवा विदेशमा छन् ।
सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याए पनि त्यो नारामा मात्र सीमित छ । आगामी आर्थिक वर्षदेखि कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थित रुपमा रोजगारी दिने गरी देशैभरि कार्यक्रम सञ्चालन गरिने सरकारले उद्घोष गरेको छ । तर, त्यो कथनीमा मात्रै सीमित हुने निश्चित छ ।
मुलुकको आम्दानी भनेकै रेमिट्यान्स भएको छ । नेपालको वार्षिक बजेटको स्रोतका रुपमा सबैभन्दा ठूलो हिस्सा रेमिट्यान्सले ओगटेको छ । रेमिट्यान्सबाट अर्थतन्त्र चलाउने देशको सूचीमा नेपाल विश्वमै अग्रस्थानमा परेको छ ।
संयुक्त राष्ट्रसंघको कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले सार्वजनिक गरेको प्रतिवेदनमा रेमिट्यान्समा नेपालको निर्भरता उच्च रहेको देखाएको छ ।
अन्तर्राष्ट्रिय कोषको प्रतिवेदनअनुसार रोजगारीका लागि विदेश जानेहरूले पठाएको रकमले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ३२ प्रतिशत ओगटेको जनाएको छ । नेपालमा रेमिट्यान्सको प्रवाह दातृ निकायबाट प्राप्त हुने आधिकारिक आर्थिक सहायता (ओडीए) भन्दा धेरै छ ।
नेपाली वैदेशिक रोजगारीमा जाने प्रचलनको इतिहास लामो भए पनि अर्थतन्त्र नै रेमिट्यान्समा निर्भर भएको भने धेरै भएको छैन । विशेषगरी सन् १९९६ पछिको एक दशक लामो सशस्त्र द्वन्द्व र त्यसपछिको अस्थिरताको वातावरणमा अर्थतन्त्रको एक मात्र आधार रेमिट्यान्स बनेको छ ।
यसरी भित्रिएको रेमिट्यान्सको आम्दानीबाट देशको समष्टिगत अर्थतन्त्र तथा व्यक्तिगत परिवारको आर्थिक विकासमा टेवा पुगेको छ भने देशमा विद्यमान गरिबी र बेरोजगारको चपेटामा परेका युवा दक्ष, अर्धदक्ष तथा अदक्ष युवाले रोजगारी प्राप्त गरेका छन् ।
विदेशमा नेपाली श्रमिकले कमाएको धेरै रकम हुन्डी कारोबारीहरुका कारण विदेशमै अड्किएर बस्ने गरेको छ । औपचारिक माध्यम अर्थात् बैंकिङ च्यानलबाट सबै रकम रेमिट्यान्सको रुपमा नआउनुको मूल कारण हुन्डीको कारोबारले गर्दा हो भन्ने कुरामा दुईमत छैन । गैरकानुनी रुपमा रकम ल्याउने÷लैजाने र विदेशी मुद्रामा चलखेल गर्ने हुन्डी व्यवसायीहरू झनै मौलाउँदै गइरहेका छन् ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको शुरुदेखि नै रेमिटयान्स वृद्धिदर उच्च दरले बढेको छ । पछिल्ला दुई वर्षयता रेमिटयान्स वृद्धिदर घटदो क्रममा थियो । तर, चालू आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स आप्रवाह वृद्धिदर उच्च देखिएको छ ।
उक्त अवधिमा अमेरिकी डलरको विनिमय दर बढ्नुका साथै कोरिया, अमेरिका र भारतबाट वैधानिक प्रणालीमार्फत भित्रिने रकम बढेपछि समग्र रेमिट्यान्स वृद्धिदर उच्च बनेको राष्ट्र बैंकको भनाइ छ । यो वर्ष नेपाली मुद्रा (नेरु) सँग अमेरिकी डलरको विनिमय दर बढेको छ । नेपालमा भारतबाहेक सबै राष्ट्रबाट आउने रेमिट्यान्स अमेरिकी डलरमा आउँछ । यसकारण डलरको विनिमय दर बढेपछि रेमिट्यान्स आप्रवाह पनि बढ्छ र घट्दा घट्छ ।
ती राष्ट्रमा रेमिट्यान्स सेवाप्रदायक कम्पनीको पहुँच वृद्धिसँगै वैधानिक बाटोबाट आउने रेमिट्यान्स बढ्न थालेको हो । यसअघि ती राष्ट्रमा रेमिट्यान्स सेवा प्रदायक कम्पनीको उपस्थिति सहज थिएन । यसकारण नेपाली बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीले ती राष्ट्रबाट रेमिट्यान्स ल्याउन अप्ठयारो थियो । पछिल्ला महिनामा ती राष्ट्रमा धेरै रेमिट्यान्स प्रदायक संस्थाको संख्या बढेको छ । यसकारण नेपाली कम्पनीलाई पनि त्यहाँबाट रेमिट्यान्स ल्याउन सजिलो भएको हो । यसअघि ती राष्ट्रमा कार्यरत अधिकांश नेपालीले हुन्डीलगायत अन्य अवैधानिक प्रणालीमार्फत रेमिट्यान्स पठाउँदै आएका थिए ।
पछिल्ला वर्षमा रोजागारीमा जाने नेपालीको संख्या घट्दै गएको छ । तर, अमेरिकी डलरको भाउ बढेकाले रेमिट्यान्स बढेको विज्ञ बताउँछन् ।
प्रतिक्रिया दिनुहोस