
काठमाडौं । सरकारले डिजिटल नेपालको परिकल्पना गरेसँगै नेपालमा मोबाइलमार्फत बैंकिङ कारोबार गर्नेको संख्या एक करोड ३६ लाख २५ हजार नाघेको छ । बैंकहरूले मोबाइल बैंकिङ कारोबारलाई प्राथमिकतामा राखेका कारण यस्तो कारोबार बढेको हो । राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/७६ सम्म ४० लाखको हाराहारीमा रहेको मोबाइल बैकिङ कारोबार बढेर साढे एक करोड पुग्न लागको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको पुसमहिनाको तथ्यांकमा मोबाइल बैंकिङ र इन्टरनेट बैकिङ प्रयोग कर्ताको संख्या बढेको देखाएको हो । पुसअन्त्यसम्म इन्टरनेट बैकिङ प्रयोगकर्ताको संख्या पनि बढेर ११ लाख १४ हजार पुगेको छ ।
अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरूले ८३ लाख १८ हजार डेबिट कार्ड र १ लाख ७६ हजार क्रेडिट कार्ड जारी भएका छन् । यसको अर्थ बैंकिङ तथा वित्तीय क्षेत्रले प्रविधिमा छोटो सयमै ठूलो संख्यामा ग्राहकको आकर्षण बढ्दै गएको देखाइएको छ । ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्ययमका रूपमा हेरिएको मोबाइल बैंकिङमा जुन रुपले ग्राहक बढिरहेका छन् त्यसले क्यासलेस (नगद) कारोबारको विकासका लागि मद्दत गरिरहेको बैंकर्सहरूले बताएका छन् ।
‘यो तथ्यांकले अबको बैंकिङ भनेको मोबाइल तथा इन्टरनेट बैंकिङलाई देखाएको छ’, नेपाल बैंकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘मोबाइल बैंकिङ भनेको अबको बैंकको अध्याए हो । यसलाई सबै बैंकले अँगाल्न जरुरी छ ।
विस्तारै मान्छे क्यासलेसमा विश्वास गर्न थालेका छन । ग्राहक बैंकमा गएर कारोबार गर्न रुचाउँदैनन्, एटीएम धाउन पनि रुचाउँदैन् त्यस्तोमा मोबाइल बैंकिङले मानिसको विकल्प हुँदै गएको हो । सुरक्षा र पूर्वाधारमा हामी पछि नै रहेको उनको भनाइ छ । मोबाइल तथा इन्टरनेट बैकिङमा साइबर सुरक्षाको विषयलाई लिएर केही हदसम्म जोखिम भएपनि यो प्रविधिनै अबको वित्तीय कारोबारको महत्वपूर्ण पाटो हो ।
नेपाली बैंकिङ क्षेत्र पछिल्लो समय प्रयोगमा आएको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट, स्विपकार्ड विभिन्न एपजस्ता प्रविधिले बैंकिङ क्षेत्रको लागत पनि घटाएको छ । यसले शाखा खोल्दा लाग्ने लागत, कर्मचारी व्यवस्थापन लागतमा समेत कमी आउने देखिएको छ ।
त्यसैले बैंकहरूले प्रविधिलाई आत्मासात गर्न वार्षिक रूपमा करोडौं खर्च गरिरहेका छन् । नेपालमा सन् २००५ मा पहिलोपटक स्टान्डर्ड चाटर्ड बैंकबाट मोबाइल बैंकिङको सुरुवात भएको हो ।
त्यसपछि सन् २००९ मा आएर नेपालमा लक्ष्मी बैंकले मोबाइल मनिको सुरुवात गरेको हो । यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातमा पैसा टान्सफर गर्न, मोबाइल रिचार्ज गर्न सकिने भयो । सन् २०१४ मा आएर ग्लोबल आईएमई बैंकले पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको हो। । ग्लोबल बैंकले पहिलोपटक एसएसएस प्रणाली छाडेर इन्टरनेटमा आधारितभएर चल्ने स्मार्ट बैंकिङको सुरुवात गरेको थियो । १५ वर्षको यो अवधिमा यसको लोकप्रियता पनि बढ्दै गएको छ ।
प्रतिक्रिया दिनुहोस