aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

नेपाल बैंकको बाँडिसकेको लाभांशमा अर्थको तगारो, अध्यक्ष असन्तुष्ट भएपछि दिए राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
नेपाल बैंकको बाँडिसकेको लाभांशमा अर्थको तगारो, अध्यक्ष असन्तुष्ट भएपछि दिए राजीनामा

काठमाडौं । नेपाल बैंक सञ्चालक समितिको अध्यक्ष वासुदेव अधिकारीले अध्यक्षको पदबाट राजिनामा दिएका छन् । बैंक साधारणसभाले पारित गरेको लाभांशमा अर्थ मन्त्रालयले चित्त नबुझाएपछि अध्यक्ष अधिकारी अर्थ मन्त्रालयमा राजीनामा दिएको मैले सुनेको अर्थ मन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले बताए । ‘उहाँले राजीनामा दिएको हो भन्नेमात्र थाहा पाएको छु, तर राजीनामा स्वीकृत भए नभएको विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए । 

अर्थ मन्त्रालयको पूर्वसहमति विपरीत लाभांश बाँडेको भन्दै मन्त्रालयले लाभांश घटाउन दवाव दिएपछि उनले राजीनामा दिएका नेपाल बैंक सञ्चालक समिति स्रोतले बताएको छ ।  बैंकले १६ प्रतिशत लाभांश दिने विषयमा नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिएर साधारणसभाले समेत पारित गरिसकेको छ । सो लाभांशमध्ये १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश हो । कतिपय शेयर धनीले नगद लाभांश लिइसकेको अवस्थामा अर्थ मन्त्रालयले यो भाँजो हालेको हो । बोनस शेयर सूचीकृत हुने अवस्थामा रहेको छ । 

अर्थबाट लाभांश घटाउने निर्देशन आएपछि साधारणसभाले पारित गरेको लाभांश घटाउन नसक्ने भन्दै बैंक अध्यक्षबाट अधिकारीले राजीनामा बुझाएको स्रोतले बताएको छ ।  बैंक सञ्चालक समिति अध्यक्ष अधिकारी भने मन्त्रालयले लाभांश घटाउने भनेर दिएको निर्देशन आफूले कार्यान्वयन गर्न सक्दिनँ भनेर जानकारी गराएको बताउँछन् । साधारणसभाले पारित गरिसकेको विषयलाई अर्थले सच्याउन भनेर सच्याउन नमिल्ने भन्दै उनले असन्तुष्टी जनाएर राजीनामा दिएका हुन् ।

बैंकहरूमा कम्पनी ऐन लागु हुनाका साथै रेगुलेटरको भूमिका के हुन्छ भन्ने कुरा रेगुलेटर निकायको सञ्चालक सचिव नै हुन्छन् । उहाँहरूलाई चित्त नबुझेको भए त्यति बेलै बैठकमा राख्नुपर्ने थियो । नेपाल बैंक सरकारी स्वामित्वको बैंक भएको हुनाले अर्थ मन्त्रालयले लाभांशको विषयलाई लिएर चासो देखाएको हो । बैंकले लाभांश बाड्दा अझ सरकारलाई कर आउने भएपनि यस विषयमा अर्थले इन्टरफेयर गर्न नहुने अर्थकै अधिकारी बताउँछन् । सरकारको ५१ प्रतिशत शेयर भएकाले अर्थले कुनै तुक नभएको चासो देखाएको हो । 

लामो समयदेखि घाटामा रहेको २२ वर्षपछि नेपाल बैंकले शेयरधनीलाई अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट लाभांश दिन शुरु गरेको हो । बैंक सञ्चित नाफामा गएपछि लाभांश वितरण सुरु गरेको २ वर्षमै बैंक सञ्चालक समिति र मन्त्रालयबीच विवाद भएको छ । सञ्चालक भएको नेपाल राष्ट्र बैंकले १६ प्रतिशत लाभांश स्वीकृत गर्ने तर अर्कोतर्फ ५१ प्रतिशत शेयरधनी भएको दाबी गर्दै अर्थ मन्त्रालय भने उक्त लाभांश वितरण नगर्ने भन्दा बाडिसकेको लाभांशमा समेत प्रश्न चिन्ह खडा भएको छ । 

बैंक सञ्चालक समितिले २०७५ पुस २५ गते अधिकारीलाई बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो । उनी नेपाल राष्ट्र बैंकका अवकास कर्मचारी हुन् । उनले राष्ट्र बैंकमा ३० वर्ष सेवा गरेर कार्यकारी निर्देशकबाट अवकास पाएका हुन् । बैंकमा सञ्चालक समितिमा अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । 

प्रतिक्रिया दिनुहोस