aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 

बढ्दो कर्जा लगानी र घट्दो निक्षेपको संकेत के ? ब्याजदर बढ्छ त अब !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ माघ २०७७
बढ्दो कर्जा लगानी र घट्दो निक्षेपको संकेत के ? ब्याजदर बढ्छ त अब !

काठमाडौं । माघ लागेपछि बैंकमा कर्जा लिनेको संख्या अत्यधिक बढेको छ भने निक्षेपकर्ता ह्वात्तै घटेका छन् । माघ २ गतदेखि २३ गतेसम्मको यो अवधिमा बैंकहरूले दैनिक साढे दुई अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् भने निक्षेप संकलन दैनिक २५ करोडका दरले मात्रै भएको छ । यसको अर्थ अब कर्जाको माग दिनप्रतिदिन बढ्दै गएको छ र यहि रेसियोमा कर्जा प्रवाह हुने हो भने वित्तीय प्रणालीमा रहेको अधिक तरलता घटेर जाने देखिएको छ । 

पुस ३ गतेदेखि माघ २३ गतेसम्मको यो अवधिमा एक खर्ब ६५ अर्ब कर्जा प्रवाह भएको छ भने यो अवधिमा जम्मा ६७ अर्ब रुपैयाँमात्र निक्षेप संकलन भएको छ । कर्जाको तलुनामा न्यून निक्षेप संकलन हुँदा यसको असर ब्याजदरमा पर्ने देखिएको हो । हुन त बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासमा अधिकांश बैंकको आधार दर घटेको छ तर पनि बढ्दो कर्जा प्रवाहले लगानी योग्य पुँजीको अभाव भएका बैंकहरूमा रहेको अधिक तरलता घट्न गई लगानी योग्य पुँजी अभाव हुने देखिएको छ । 

गत मंसिरदेखि नै बढ्न थालेको कर्जा प्रवाह माघ लागेपछि अझ बढेको छ । माघ २ गतेदेखि २३ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरूले दैनिक साढे दुई अर्बभन्दा बढी कर्जा प्रवाह गरेका छन् । यो अवधिमा बैंकहरूले ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको नेपाल बैंकर्स संघले जनाएको छ । कोरोनाका कारण थलिएको अर्थतन्त्रले गति लिन थालेपछि कर्जाको माग बढ्न थालेको बैकर्सहरूले बताएका छन् । 

यदि पुनरकर्जा नबढाएको भए अहिलेसम्म तरलतामा चाप परिसक्ने राष्ट्र बैंकले जानकारी दिएको छ । यो अवधिमा राष्ट्र बैंकले ८० अर्ब पुनरकर्जा दिइसकेको छ । मंसिरदेखि नै बैंकहरूले कर्जा बढाउन थालिसकेका थिए, पुसमा आएपछि यो अझ बढेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् । 

माघ लागेपछि बैंकहरुले आक्रमकरुपमा ऋण विस्तार गरेका छन् । माघको २० दिनमा मात्रै २७ वाणिज्य बैंकहरुले ५२ अर्ब रुपैयाँ ऋण दिएका छन् । जुन दैनिक औषतमा अढाई अर्ब रुपैयाँभन्दा बढी हुन्छ । माघ २ गते ३२ खर्ब ३६ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी माघ २३ गतेसम्म् आइपुग्दा ३२ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । 

तर, ऋणको तुलनामा निक्षेपको वृद्धिदर भने अत्यत्नै न्यून छ । माघ लागेपछि बैंकहरुले जम्मा ५ अर्ब रुपैयाँ मात्रै निक्षेप बढाएका छन् । माघ २ गते ३७ खर्ब ७९ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप माघ २३ गतेसम्म् आइपुग्दा जम्मा ५ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।
बैंकहरूले कर्जा बढाउँदै गएपनि अझै बैकिङ च्यानलमा ७३ अर्ब अधिक तरलता रहेको छ । राष्ट्र बैंकका अनुुसार अहिले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट खिचेको ५१ अर्ब रपैयाँ पनि रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस