
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक( आरबीबी) ले साढे एक अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । बैंकले महिला उद्यमशील कर्जामा सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ । बैंकले एक हजार ४ सय २० महिला उद्यमीलाई एक अर्ब १६ करोड ९३ लख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरेको हो । सो कर्जा राष्ट्रिय वाणिज्य बैंकले बिना धितोमा प्रदान गरेको सहुलियतपूर्ण कर्जाको ७७ प्रतिशत हो भने बंैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका महिला उद्यमशील कर्जाको एक चौथाई हो ।
बैंक तथा वित्तीय संस्थाहरूले महिला उद्यमशील कर्जामा ४ अर्ब ३५ करोड ३५ लाख सहुलियतपूर्ण कर्जा प्रवाह गरेका छन् । सो कर्जामा राष्ट्रिय वाणिज्य बैंकको हिस्सा २६.८५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूले सो शीर्षकमा २५ हजार २९८ महिला उद्यमीलाई कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकलाई आधारमान्दा बिना धितोमा बैंक तथा वित्तीय संस्थाहरूले २४ अर्ब ९८ करोड ५६ लाख कर्जा प्रवाह गरेका छन् । सो कर्जामा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको हिस्सा ६ प्रतिशतभन्दा केही बढी रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले महिला उद्यमीलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गरेको बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले बताए । ‘हुन त राष्ट्रिय वाणिज्य बैंकले सबै सहुलियतपूर्ण कर्जालाई प्राथमिकतामा राखेको छ,’ उनले भने ‘हामीले महिला उद्यमीलाई अझ बढी फोकस गरेर विशेष रुपमा कर्जा प्रवाह गरेका छौं ।’ महिला उद्यमीका लागि चालु आर्थिक वर्षको पहिलो ६ महिनामात्रै बैंकले ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले चालु आवको पहिलो ६ महिनामा ६४० जनालाई ५० करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले अहिलेसम्म बिना धितोमा १९ सय ५५ ऋणीलाई सो कर्जा प्रवाह गरेको हो ।
वाणिज्य बैंकले कृषि कर्जामा १४ करोड ५७ लाख, युवावर्ग स्वरोजगार कर्जामा २ करोड २२ लाख कर्जा प्रवाह गरेको छ भने विदेशबाट फर्केका युवा परियोजना कर्जामा ४ करोड ९८ लाख कर्जा प्रवाह गरेको छ । एक सय १७ जना ऋणीलाई दलित समुदाय विकास कर्जामा प्रदान गरेको छ । सो कर्जामा बैंकले सात करोड ५३ लाख कर्जा प्रवाह गरेको हो ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाले हालसम्म ६० हजार ८७९ जनालाई कुल एक खर्ब ३६ करोड सहुलियतपूर्ण कर्जा प्रवाह गरेको छ । सो कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जामा प्रवाह भएको कुल कर्जा ७६ अर्ब ५९ करोडमध्ये ७५ अर्ब ३७ करोड ९५ लाख धितोमा आधारित कर्जा हो भने एक अर्ब २१ करोड ११ लाख बिना धितोमा प्रवाह गरिएको कर्जा हो । बैंक तथा वित्तीय संस्थाले गएको आवको अन्त्यसम्म जम्मा ५९ अर्ब ५६ करोड ३० लाख सहुलियतपूर्ण कर्जा प्रवाह गरेका थिए । ६ महिनाको यो अवधिमा यस्तो कर्जा बढेर खर्ब नाघेको छ ।
राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार सहुलियतपूर्ण कर्जा कार्यविधि, २०७७ समावेश गरिएका १० प्रकारका कर्जामध्ये व्यावसायिक कृषि तथा पशुपंन्छी कर्जामा पनि दुई प्रकारको कर्जा भएको बताए । सो शीर्षकअन्तर्गत एउटा धितोमा लिएर प्रदान गरिने कर्जा छ भने अर्को बिना धितोमा प्रदान गर्ने कर्जा छ,’ उनले भने ‘बिना धितोमा अहिलेसम्म जम्मा एक अर्ब २१ करोड ११ लाख रुपैयाँकोमात्र कृषि कर्जा गएको छ ।’ यो शीर्षक अन्तर्गतको अन्य कर्जा भने धितो लिएर बैंक तथा वित्तीय संस्थाले ऋणीलाई प्रदान गरेका कर्जा हो ।’
सहुलियतपूर्ण कर्जामा ऋणीलाई बैंक तथा वित्तीय संस्थाले निर्धारण गरेको ब्याजमध्ये ५ प्रतिशत सरकारले तिरिदिने व्यवस्था गरेको छ भने यस्तो कार्यविधि अनुसार कर्जा लिएका महिला उद्यमीले ६ प्रतिशतसम्म ब्याज अनुदान पाउने छन् ।
प्रतिक्रिया दिनुहोस