aarthiknews.com शनिबार, ०७ असार २०८२   Saturday, 21 June, 2025
 
ऋण लगानी

ऋण लगानी विस्तारको प्रतिस्पर्धामा वाणिज्य बैंक, एनआइसी एशिया सबैभन्दा अगाडि, अरु कुन बैंक कहाँ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
ऋण लगानी विस्तारको प्रतिस्पर्धामा वाणिज्य बैंक, एनआइसी एशिया सबैभन्दा अगाडि, अरु कुन बैंक कहाँ ?

काठमाडौं । वाणिज्य बैंकहरुबीच ऋण लगानी बढाउन प्रतिस्पर्धा चलिरहेको छ । कोभिड–१९ का कारण शिथिल बनेको अर्थतन्त्र पुनर्जागृत भएसँगै बैंकहरुबीत निजी क्षेत्रमा जाने कर्जा विस्तारको दौड सुरु भएको हो । यो दौडमा कुनै बैंक निकै अगाडि छन् । केही बैंकहरु पछाडि रहे पनि सबै बैंकहरुको कर्जा विस्तार भने बढ्दै गएको पाइएको छ । 

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले असार मसान्तसम्म २९ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ ऋण प्रवाह गरेका थिए । माघ मसान्तमा आइपुग्दा प्रवाह भएको ऋणको कुल आकार ३३ खर्ब १७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यो ४ खर्ब १२ अर्ब १६ करोड रुपैयाँ बराबर थप ऋण प्रवाह भइसकेको छ । यो १४.१९ प्रतिशत हो ।

यो ७ महिनाको अवधिमध्ये साउनमा ऋण लगानी २७ अर्ब ३५ करोड रुपैयाँले घटेको थियो भने अरु महिनामा ऋण लगानी बढ्दै गएको थियो । भदौ महिनामा ४० अर्ब ३ करोड, असोजमा १ अर्ब १६ अर्ब ५७ करोड, कात्तिकमा १७ अर्ब ६५ करोड, मंसिरमा ६३ अर्ब ७२ करोड, पुसमा १ खर्ब २७ अर्ब ६३ करोड तथा माघमा ७३ अर्ब ९१ करोड रुपैयाँ ऋण प्रवाह भएको संघको तथ्यांक छ । 

कुन बैंकको कस्तो अवस्था ?

असारदेखि माघ मसान्तको अवधिमा सबैभन्दा बढी ऋण लगानी एनआईशी एशिया बैंकले बढाएको छ । सो बैंकले यो अवधिमा ६९ अर्ब ३६ करोड रुपैयाँ ऋण बढाएको छ । सबैभन्दा कम ऋण विस्तार गरेको नेपाल एसबीआई बैंकले भने १ अर्ब २३ करोड मात्रै ऋण बढाएको छ । 

यो अवधिमा धेरै ऋण बढाउने बैंकहरुमा एनआईशी एशियाका अतिरिक्त नबिल बैंक, प्रभु बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक लगायतका बैंक छन् । यी बैंकहरुको ऋण लगानी २० अर्ब भन्दा धेरैले बढेको छ । कम ऋण लगानी गर्ने बैंकहरुमा एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल बंगलादेश बैंक, सनराइज बैंक लगायत छन् । यी बैंकहरुले ५ अर्ब भन्दा कम मात्रै ऋण विस्तार गरेका छन् । 

कुन बैंकको जम्मा ऋण कति ?

अहिले सबैभन्दा बढी ऋण लगानी भएको बैंक एनआईशी एशिया बैंक बनेको छ । सो बैंकले माघ मसान्तसम्म २ खर्ब ४३ अर्ब रुपैयाँ ऋण प्रवाह गरेको जनाएको छ । दोस्रोमा रहेको ग्लोबल आईएमई बैंकले २ खर्ब १९ अर्ब ऋण प्रवाह गरेको छ । २ खर्ब भन्दा बढी ऋण प्रवाह गर्ने यी दुई मात्रै बैंक हुन् । 

तेस्रो र चौथो नम्बरमा रहेको नबिल र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी क्रमशः १ खर्ब ८४ अर्ब र १ खर्ब ७५ अर्ब रुपैयाँ रहको छ । सबैभन्दा कम ऋण लगानी भएका बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्डको ६० अर्ब नेपाल बंगलादेश बैंकको ६४ अर्ब सिभिल बैंकको ७१ अर्ब र सेञ्चुरी बैंकको ऋण लगानी ७३ अर्ब रहेको छ । 

तरलता अभावको संकेतपछि संयमता अपनाउँदै बैंकहरु

बजारमा ऋणको माग आक्रामक रुपमा वृद्धि भएपछि पछिल्लो समय देखिएको अधिक तरलता समस्या समाधान हुँदै गएको छ । यो समस्या समाधान हुँदै गए पनि बैंकरहरु भने धेरै खुसी छैनन् । अहिले माग भएजति सबै ऋण दिँदा निकट भविष्यमै तरलता तथा लगानीयोग्य ऋणको अभाव हुनसक्ने सम्भावना उनीहरुले देखिसकेका छन् । 

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल माघ महिनामा बैंकहरुले निकै संयम भएर ऋण लगानी गरेको बताउँछन् । पुस महिनामा आक्रामक ढंगले ऋण विस्तार भए पनि माघमा यो घटेको उनको भनाई छ । यसले गर्दा अबको केही महिनासम्म बजारमा तरलताको अभाव भइनहाल्ने उनको विश्वास छ । 

‘अहिले बजारको तरलता १ सय ४ अर्बमा झरेको छ । माघ महिनामा बैंकहरुको ऋण लगानी पनि अघिल्लो महिनाभन्दा घटेको छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले भने, ‘अहिलेकै अवस्थामा बैशाखसम्म अभाव हुँदैन भन्ने अनुमान गरेका छौं ।’
 

प्रतिक्रिया दिनुहोस